आइतवार , माघ ४, २०८२
‘उसलाई पानी खुवाएपछि लुसुक्क बाहिरिन्छु अनि आँखाको डिलमा खस्नै आँटेको आँसु पुछ्छु ।....पानी खुवाउन लागेका बेला चरप्प हात समाती । मेरो मुखमा पुलुक्क हेरी । अनि लामा सास तानी ।’ मैले यतिबेला कुनै फिल्मको दृश्य बताइरहेको छैन । न त सुनाइरहेको छु, दन्तेकथा नै । बरु यो सत्यकथाको सपाट बयान हो । औपन्यासिकता कतै गाँसिएजस्तो नि लाग्न सक्छ । ‘बखान’ उपन्यासबाट टिपिएको एक अनुच्छेद हो यो । बखानसिंह गुरुङले आफ्नी कान्छी श्रीमती मनकुमारीलाई गुमाउँदाको दुखद् क्षण अर्थात् भावविह्लपूर्ण बयान हो यो ।
लामो समयदेखि सहकारी अभियानमा गाँसिएको मान्छे म । सहकारी अभियन्ताको रुपमा नेपालमा बखानसिंह गुरुङको नाम पहिलो नम्बरमा आइरहन्छ । २०१३ साल चैत २० गते खोलिएको बखान सहकारी नै नेपालको पहिलो सहकारी हो । बखान सहकारी खुलेको र चलेको स्थानमा पछिल्लोपटक २०८२ पुसको २१ गते सारदानगर पुगेको थिएँ । बखानपुरमा खुलेको उक्त सहकारीमा पुग्दा गर्वले छाती फुल्यो । पटकपटक पुग्दा पनि धितै मर्दैन मेरो । खोइ किन हो ?
मैले बखानका आफन्ती पूर्णबहादुर गुरुङसँग बखान सहकारीमै बसेर तीन वर्ष अघि करीब एकघण्टा बातचित गरेको थिएँ । बखानका बारेमा जान्ने उत्कट चाहना प्रकट गरेको थिएँ । तर, मसँग थप जान्ने र लेख्ने भरपर्दो स्रोत रहेन । यतिबेला वसन्त पराजुलीको बखान उपन्यास बजारमा आइपुगेको छ । सर्वस्व भेटेजस्तै भएको छ । उपन्यास हातमा परेपछि बखानका बारेमा सुनिएका अनेक मिथक र भाष्यका बारेमा के रहेछ, जान्ने मौका मिलेको छ । अद्योपान्त पढेपछि पठन अनुभूति लेख्ने जाँगर चलाएको छु ।
पेशाले पत्रकारितामा जमेका वसन्तले बखानको बयानमात्र गरेका छैनन् बरु उनको इतिहास केलाएका छन् । योगदानको अनुसन्धान गरी त्यसको सत्यतथ्य विषयलाई हामीसँग ल्याइपुराएका छन् । राणा शासनलाई हटाएर प्रजातन्त्र प्राप्तीका लागि कान्छो छोरोलाई बलिदान दिएका छन् । पञ्चायती व्यवस्थालाई हटाएर पुनः प्रजातन्त्र बहालीका लागि जेठो छोरोलाई सहिद बनाएका छन् । पञ्चायती व्यवस्थालाई हटाउनका लागि तत्कालीन शाही सेनाको क्याप्टेन पद त्यागेका छन् । सरकारबाट सर्वस्वहरणसहित देश निकाला भएका छन् । घरपरिवारले पञ्चायतको थिचोमिचो सहेका छन् । राजनीतिले नै देशलाई डोराउँछ भनेर बखानले विषम परिस्थितिमा समेत राजनीतिलाई छाडेका छैनन् ।
जनताको आवाज बोल्ने बखानलाई बुझ्न यो उपन्यास पढ्नै पर्छ । सहकारीको अर्थ र काम बुझ्न यो उपन्यास काफी छ । नेपालको बाङ्गोटिङ्गो राजनीति जान्नका लागि यो उपन्यास गाइडबुक मान्न सकिन्छ । त्यतिमात्र होइन, पर्यावरणीय चिन्तन भएका हामीलाई यो उपन्यासले जीवनजनावर र प्रकृतिका सन्दर्भमा मनग्यै सूचना दिएको पाइन्छ । वन, वातावरण र जैविक विविधता संरक्षणका लागि क्रियाशील हामीलाई यो उपन्यास दस्तावेज जस्तै लाग्छ । यो मानेमा पनि लेखक तथा पत्रकार धन्यवादका पात्र बनेका छन् ।
बखानसिंहकी जेठी श्रीमती विष्णुमायाले बखानले छोरोलाई सम्झेर वैराग्यता लिंदा भनेकी थिइन्–हाम्रो छोरा देशका लागि सहिद भएको हो । भीरबाट लडेर मरेको हो र दुःख मान्ने ? त्यो त देशका लागि लड्दा सहादत्त प्राप्त गरेको हो । त्यसैले छोराका सहादत्तमा हीनता होइन, हामीले गौरव गर्नुपर्छ । यो अनुच्छेदप्रति गौरव लाग्छ । बखानकी श्रीमतीमा राजनीतिक चेत देखिन्छ । श्रीमानलाई राम्रोसँग यिनै शब्दहरुमार्फत् सम्झाएकी छिन् । आँसुलाई प्रज्ज्वलनशील पदार्थ जस्तै बनाएकी छिन् । पञ्चायती व्यवस्थाले दुःख दिंदा प्रजातन्त्रमाथि विश्वास गरेकी छिन् । दुई छोरा र नाती गुमाउँदा पनि विष्णुमायामा कुनै पश्चाताप छैन । यो कुरा उपन्यास पढेपछि थाहा लाग्छ ।
प्रजातन्त्रवादी नेता बखानसिंहलगायतले आममाफी पाएपछि पनि राजनीतिलाई छाडेका छैनन् बरु पञ्चायती व्यवस्थाविरुद्धमा दरो गरी उभिएका छन् । पार्टीको कोपभाजनमा परेर २०१५ सालमा टिकट नपाएको कुराले उनलाई आफ्नो सभापति वीपीसँग रीस नउठेको पनि हैन । २०३८ सालमा भएको राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा उनी आफू उम्मेदवार बनेर जित्छन् र मन्त्रीसमेत बनेका छन् । सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रीत्वकालमा । पञ्चायतका लागि छोरा गुमाएका उनले पञ्चायतमा नै किन आफ्नो भविष्य देखे ? पञ्चायती व्यवस्थाबाट सर्वस्वहरणसहित देश निकालामा परेका बखानले जीवनको अन्तिम कालखण्डतिर किन पञ्चायतलाई नै रोजे ? आफन्ती र पार्टीका साथीहरुले पञ्चायतमा नजान भनी सम्झाउँदा समेत उनले किन पञ्चायती व्यवस्थामा आफूलाई मिलाए ? राजा महेन्द्रसँग उनको सम्बन्ध, वीपी, कृष्णप्रसाद भट्टराई र सुवर्णसम्शेरसँगको सहकार्यका बारेमा बुझ्नलाई बखान उपन्यास नै पढ्नुपर्ने छ ।
सहकारीले उनको गाउँमा ल्याएको परिवर्तन, सहकारीमार्फत् समाजलाई देखाइएको दिशा,आर्थिक, सामाजिक एवम् कृषि क्षेत्रमा सहकारीद्वारा मारिएको फड्को अनि बखानको जीवनमा आएका उतारचढावका बारेमा उपन्यास प्रष्ट बोलेको छ । सरल रेखाले कोरेजस्तो नहुने रहेछ जीवन । राजनीति पनि पक्की बाटो जस्तो नहुँदो रहेछ चिल्लो र सीधा । अनेक मोडको मूल्यमा रहेको हुँदो रहेछ जीवनका हरेक यात्राहरु । यो कुरा जान्न बखान पढ्नै पर्ने देखिन्छ ।
कतिपय शब्द र अनुच्छेदहरुले आँखा ओभान हुँदैनन् उपन्यास पढ्दा पनि । मन कुँडिन्छन् । राणा र पञ्चायती शासनका विरुद्धमा धावा बोल्ने बखानलाई लाख सलाम गर्न बाध्य बनाएको छ औपन्यासिकताले । सन्तान गुमाउनुको पीडा, बाबाआमालाई मात्र थाहा हुन्छ भन्ने कथन उपन्यास पढेपछि थाहा लाग्छ । बखानको भूमिगत जीवन, कष्टकर जीवनयात्रा, परिवारले पञ्चायतबाट पाएको अनेक दुःख, पीडा र मर्काको फेहरिस्त यसै उपन्यासमा उनिएका छन् ।
शिखा बुक्सको प्रकाशन बखान उपन्यास पढेपछि नेपालको राजनीतिक नक्सा उतार्न सकिन्छ । कहिलेकाही उपन्यास पढिरहेको छु वा इतिहास हेक्का हुन्न । कतैकतै बखान पढिरहेको छु वा कुनै राजनीतिक पार्टीको दस्तावेज थाहा पाउन ग्राहो हुन्छ । पुस्तकले मन खिचेको छ । हतारको साहित्य नै पत्रकारिता होभन्ने पढेको मैले, उपन्यास लेखनमा थोरै हतारो भयो कि भन्ने लाग्नु स्वभाविकै हो । हरेक सहकारी अभियन्ताले पढ्नै पर्ने पुस्तक हो बखान । यो बखानको बयान समेत हो । बायोग्राफी मान्न सकिन्छ, बखानको ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij