२०८२, माघ २ गते

Jan 16 2026 | २०८२, माघ २ गते

रुपन्देहीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

शुक्रवार , माघ २, २०८२

  • 292
    Shares
  • 292
    Shares
  • भैरहवा, २ माघ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर ३ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

    सिद्धार्थनगर नगरपालिका–५ (भैरहवा) स्थित बाल मन्दिरमा शुक्रबार प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना भएको मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले बताउनुभयो ।

    सो अवसरमा बोल्दै बस्नेतले निर्वाचनलाई स्वतन्त्रपूर्वक, शान्तिपूर्ण सम्पन्न गराउन राज्यका संयन्त्र लागिपरेको बताउनुभयो । उहाँले निर्वाचन राजनीतिक दलहरुको उत्सव भएको बताउनुभयो ।

    मुख्य निर्वाचन अधिकृत बस्नेतले निर्वाचनलाई शान्तिपूर्ण बनाउन राजनीतिक दलको ठूलो भूमिका रहेको बताउनुभयो । उहाँले दलहरुबाट ठूलो सहयोगको अपेक्षा राखेको बताउनुभयो । निर्वाचनलाई बढी भड्किलो र खर्चिलो नबनाउन उहाँले आग्रह गर्नुभयो । निर्वाचन आचारसंहिता पालना गर्न उहाँले राजनीतिक दलहरुलाई आग्रह गर्दै आचारसंहिता पालना नभए कानूनी कुराहरु अघि बढाउनुपर्ने बताउनुभयो । अब निर्वाचनका आगामी कार्यक्रमहरु अघि बढाइने उहाँले जानकारी दिनुभयो ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेलले फागुन २१ हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनका लागि सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको बताउनुभयो । उहाँले निर्वाचन सफल बनाउन सहयोग गरिदिन सबैलाई आग्रह गर्नुभयो ।

    शुक्रबार जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन अधिकारी कल्पना अर्यालले जानकारी दिनुभयो ।

    रुपन्देहीमा २०९ मतदानस्थल र ७३२ वटा मतदान केन्द्र उहाँले बताउनुभयो । जिल्लामा ३ लाख २६ हजार ३ सय ११ महिला, ३ लाख ४६ हजार २ सय ३ पुरुष र ९ जना अन्य गरी ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन् ।

    मुख्य निर्वाचन अधिकृत बस्नेतका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पुग्ने मतदाताले निर्वाचनमा मतदान गर्न पाउनेछन् ।