शुक्रवार , माघ २, २०८२
भैरहवा, २ माघ । नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐनको दफा ४ (२) र स्वास्थ्य मन्त्रालयसँग विगतमा भएको सहमति कार्यान्यवनको माग राख्दै शनिबारदेखि काठमाडौंमा आमरण अनसन सुरु भएको छ ।
संयुक्त संघर्ष समितिको आयोजनामा काठमाडौंको सिफलचोरमा अनसन सुरु भएको हो । अनसनको नेतृत्व नेपाल सि.एम.ए. संघका केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायले गर्नुभएको छ ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्तावाल स्वास्थ्यकर्मीहरुको विधा र संख्याको आधारमा पेशागत संघ/संगठनको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र स्वास्थ्यकर्मी तथा नर्सहरुको लागि सहमति अनुसारको तलबभत्ता लागू गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएको सिएमए संघका केन्द्रीय उपाध्यक्ष उपाध्यायले बताउनुभयो । आफूहरुले राखेका मागको सुनुवाइका लागि सरकारले तदारुकता नदेखाएपछि बाध्य भएर आमरण अनसनमा बस्नुपरेको उहाँले बताउनुभयो ।
पाँचवटा स्वास्थ्य संगठनको संयुक्त संघर्ष समितिकोतर्फबाट उपाध्यायको नेतृत्वमा हिजोदेखि आमरण अनसन सुरु भएको हो । नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एशोसिएसन/नेपाल डेन्टल हाइजेनिस्ट एसोसिएसन, रनेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्याबोेरेटरी एशोसिएसन अफ नेपाल, नेपाल सि.एम.ए. संघ र हेल्थ असिस्टेन्ट संघ नेपालकोतर्फबाट उहाँको नेतृत्वमा अनसन सुरु भएको हो ।
यसअघि नै सरकारसँग भएका सम्झौता पूर्ण कार्यान्वयनको माग राख्दै उनीहरुले आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij