२०८२, माघ १ गते

Jan 15 2026 | २०८२, माघ १ गते

पवनकुमार सेठिया स्मृति क्रिकेट : टी–२० मा पनि रूपन्देहीको क्लिनस्वीप

बिहिवार , माघ १, २०८२

  • 277
    Shares
  • 277
    Shares
  • भैरहवा, १ माघ । रुपन्देही–११ ले त्रिभुवन आर्मी क्लब ‘ए’ लाई ३ विकेटले हराउँदै भैरहवामा सम्पन्न ‘पवनकुमार सेठिया स्मृति क्रिकेट प्रतियोगिता’ अन्तर्गत टी–ट्वान्टी सिरिज पनि क्लिनस्वीप गरेको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा बिहीबार अन्तिम खेल जित्दै रुपन्देहीले सिरिज क्लिनस्वीप गरेको हो । यसअघि रुपन्देहीले आर्मीविरुद्ध दुई दिवसीय टेष्ट र एकदिवसीय सिरिज पनि क्लिनस्वीप गरेको थियो ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको आर्मीले १९ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय १९ रन बनायो । जसमा जितेन्द्र सिंह ठकुरीले ३९, पवन कार्कीले १७ तथा प्रदीप पेला र निर्मल शाहीले समान १५ रन बनाए । बलिङमा रुपन्देहीका रमेश कुर्मी, तुलबहादुर थापा, निश्चल ज्ञवाली र अजयकुमार चौहानले २–२ तथा देव खनालले १ विकेट लिए ।

    जवाफमा रूपन्देहीले १७ ओभरमा ७ विकेटको नोक्सानीमा १ सय २५ रन बनाउँदै जीत निकाल्यो । उसको जीतमा प्रज्वल थापाले ५४ रनको अर्धशतकीय पारी खेले । यस्तै, तुल बहादुर थापा १६ र देव खनालले ११ रन बनाए । बलिङमा आर्मीका जितेन्द्र सिंह ठकुरीले ३, प्रेम गुरुङले २ र पवन कार्कीले १ विकेट लिए । आर्मीका जितेन्द्र सिंह ठकुरी प्लेयर अफ द म्याच र म्यान अफ द सिरिज भए । उनले दुवैतर्फ गरी जनही ७ हजार रुपैयाँ प्राप्त गरे । 

    त्यस्तै एकदिवसीय सिरिजतर्फ रुपन्देहीका कृष्ण कार्की म्यान अफ द सिरिज भए । उनले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगितामा टेष्ट, एकदिवसीय र टी–ट्वान्टी सिरिज विजेता रुपन्देहीले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो ।

    विजयी टीमलाई आयोजक रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापा, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्य, मुख्य प्रायोजक हरिष सेठिया र सुनिल सेठिया, प्रायोजक लुम्बिनी नेत्रालयका सञ्चालक डा.हिराबहादुर शाह, रुपन्देही क्रिकेट संघका पूर्वअध्यक्षहरु प्रेम कुमार सेन्चुरी, प्रशान्त विक्रम मल्ल, कार्यक्रम संयोजक प्रथम पराजुली लगायतले पुरस्कार प्रदान गरे । नेपालमै पहिलोपटक तीनवटा फम्र्याटमा दुई टीमबीच प्रतिष्पर्धा भएको हो ।