२०८२, पौष २९ गते

Jan 13 2026 | २०८२, पौष २९ गते

माघे संक्रान्ति नजिकिएसँगै तरुलको विक्री बढ्दै

मंगलवार , पौष २९, २०८२

  • 226
    Shares
  • 226
    Shares
  • भैरहवा, २९ पुस । माघे संक्रान्ति पर्व नजिकिएसँगै बजारहरूमा तरुल तथा अन्य कन्दमूलको विक्री बढ्न थालेको छ ।

    माघ १ गते मनाइने यो पर्वमा तरुल, सखरखण्ड, पिँडालु लगायतका कन्दमूल विशेष परिकारका रूपमा खाने परम्पराले बजारमा यी वस्तुको माग ह्वात्तै बढेको हो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डकाअनुसार पर्व नजिकिएसँगै सर्लाही, धादिङ, नुवाकोट, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट ठूलो परिमाणमा तरुल भित्रिने क्रम बढेको छ ।

    बजारमा वन तरुल, घर तरुल, सिमल तरुल, हात्तीपाइले तरुल, पातले तरुललगायत विभिन्न प्रजातिका तरुल उपलब्ध छन् । व्यवसायीहरूकाअनुसार यो वर्ष युवा विदेश पलायन र घरमा मधुमेहका बिरामी बढेकाले तरुलको मागमा केही कमी आएपनि पर्वको पूर्वसन्ध्यामा विक्री उल्लेख्य बढेको छ ।

    उपभोक्ताहरू आफ्नो रुची अनुसारका तरुल किन्न बजारमा व्यस्त देखिन्छन् । माघे संक्रान्तिमा घ्यू, चाकु, तिलको लड्डुसँगै तरुल उसिनेर वा पोलेर खाने परम्परा रहेको छ । यो पर्वमा यी परिकारले शरीरलाई न्यानो प्रदान गर्ने र स्वास्थ्यका लागि लाभदायक हुने विश्वास गरिन्छ ।

    यसैबीच, झापाको बाहुनडाँगीमा पनि माघे संक्रान्तिको अवसरमा अन्तर्राष्ट्रिय तरुल महोत्सव आयोजना हुने तयारी भइरहेको छ । पर्व नजिकिएसँगै बजारमा तरुलको रौनक बढ्दै गएको छ भने उपभोक्ताहरू पनि उत्साहित देखिएका छन् ।