२०८२, फाल्गुण १५ गते

Feb 27 2026 | २०८२, फाल्गुण १५ गते

लुम्बिनी बेकरीज व्यवसायी संघको अध्यक्षमा पुनः पाण्डे

सोमवार , पौष २८, २०८२

  • 952
    Shares
  • 952
    Shares
  • बुटवल, २८ पुस । लुम्बिनी बेकरीज व्यवसायी संघको १६ साधारण सभा तथा ८ औ अधिवेशन सोमबार बुटवलमा सम्पन्न भएको छ। संघमा रूपन्देही, पश्चिम नवलपरासी र कपिलवस्तुका व्यवसायीहरु आबद्ध रहेको महासचिव गैरेले जानकारी दिनुभयो । 

    कार्यक्रममा प्रमुख अतिथि उपभोक्ता हित संरक्षण मन्च केन्द्रीय उपाध्यक्ष तेज कुमार पाठकले सबै व्यवसायीहरुलाई गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो । हरेक व्यवसायमा आन्तरिक प्रतिष्पर्धा स्वभाविक भएको बताउँदै उहाँले यस क्षेत्रमा ब्राण्ड बनाउनेतिर लाग्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो । स्वस्थ्कर र गुणस्तरीय वस्तु उत्पादनमै ध्यान दिन उहाँको सुझाव थियो ।

    विकसित देशहरुमा बेकरीका परिकार धेरै उत्कृष्ट र प्राथमिकतामा रहेको बताउँदै त्यसको ब्राण्ड पनि बनेकाले यहाँ पनि त्यसलाई ध्यान दिन उहाँले आग्रह गर्नुभयो । ‘प्रविधिको प्रयोग गरेर जाऔं, स्वस्थ प्रतिष्पर्धा गरौं, अस्वस्थ प्रतिष्पर्धाले दीर्घकालीन फाइदा कसैलाई हुँदैन, पेशाको संरक्षण र मर्यादित बनाउनु सबै व्यवसायीको दायित्व हो’ उहाँले भन्नुभयो । 

    रुपन्देही उद्योग संघका अध्यक्ष कृष्ण प्रसाद पराजुलीले बेकरीमा रहेका उद्योगी अधिकांश संघका पनि सदस्य भएकाले यो क्षेत्रमा आउने समस्याको समाधानमा मिलेर जान सकिने बताउनुभयो । उहाँले व्यवसायीले आफ्नो अधिकारसँगै कर्तव्यलाई पनि अंगीकार गर्नुपर्ने र समस्या आएको बेला तत्काल संस्थागत रुपमा र एकल रुपमा संघमा आउन आग्रह गर्नुभयो ।

    संघका अध्यक्ष देवानन्द पाण्डेको अध्यक्षता तथा महासचिव यादव गैरेको सञ्चालनमा भएको उद्घाटन कार्यक्रममा नेपाल उद्योग परिसंघ लुम्बिनी उपाध्यक्ष बाबुराम बोहोराले सम्बन्धित क्षेत्रका उद्योगी व्यवसायीहरु एकतावद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

    कार्यसमिति सदस्य तथा बुटवल उपमहानगरपालिका–१५ का वडा सदस्य रमा पराजुलीले सबैको सहकार्यमा व्यवसायलाई थप परिस्कृत बनाउँदै जान सकिने बताउनुभयो । उहाँले स्वरोजगारमूलक व्यवसायीको संरक्षणका लागि निजी क्षेत्रलाई सरकारी तहबाट संरक्षण जरुरी रहेको बताउनुभयो ।

    संघले आफ्ना उद्योगीहरुलाई गुणस्तरीय वस्तु उत्पादन र विक्रीवितरणमा जोड दिएको, नियमित अनुगमनलाई अघि बढाएको जनाउँदै २०८१ वैशाख २३ गते लागू भएको खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ मा रहेका नियमावलीले व्यवसायीलाई नै धरापमा पार्ने चिन्ता बढेको बताउनुभयो । ‘यो नियमावलीमा उत्पादित वस्तुमा लेबल, तौल, प्याकिङ, र्यापर, र गुणस्तरको मापदण्ड त्रुटी देखिएमा चर्को जरिवाना र कैदसम्मको प्रावधान राखिएको छ, यसले उद्योगीको मनोबल घटेको छ’ उहाँले भन्नुभयो।

    यस्तो बन्यो नयाँ नेतृत्व

    अधिवेशनले पुनः देवानन्द पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको प्रथम उपाध्यक्षमा बाबुराम बोहोरा, उपाध्यक्षमा कृष्ण मोहन सिंह राठौर, महासचिवमा यादव गैरे, कोषाध्यक्ष विनोद प्रसाद चौधरी, सचिवमा तुलबहादुर तामाङ र सदस्यहरुमा सूर्यबहादुर भुजेल, रमा पराजुली, दुर्गा सुवेदी, महेन्द्र गुप्ता, आलोकसिंह राठौर, हिरा खत्री, गोपाल जायसवाल, सुधिर जायसवाल, गौरव पन्थ, खिमलाल पाण्डे र एक सदस्य पछि थप गरिने महासचिव गैरेले जानकारी दिनुभयो ।