२०८२, फाल्गुण ६ गते

Feb 18 2026 | २०८२, फाल्गुण ६ गते

देवसिद्ध खानेपानीमा एमालेविरुद्धको कांग्रेस, नेकपा, रास्वपासहितका दलको गठबन्धन पराजित

सोमवार , पौष २८, २०८२

  • 931
    Shares
  • 931
    Shares
  • रुपन्देही, २८ पुस । बुटवलको देवसिद्ध खानेपानीमा नेकपा (एमाले) विरुद्ध नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितको गठबन्धन पराजित भएको छ । धेरै सामाजिक संस्थाहरुमा पार्टीमा निकटस्थहरुलाई जिताउन राजनीतिक दलहरुले हस्तक्षेप गर्ने, गठबन्धन गर्ने र नेतृत्व आफ्नो पक्षमा पार्ने गरिरहेका छन् । 

    आइतबार मात्रै बुटवलमा एमालेबाहेक सबै दल निकट सदस्यहरुले गठबन्धन गरेर निर्वाचनमा गएको देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा गठबन्धनमा रहेका सबै पराजित भएका हुन् । बुटवल उपमनगरपालिका–११ स्थित देवसिद्ध खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा निर्वाचित सबै एमाले समर्थकहरु मात्रै भएका हुन् । 

    आइतबार संस्थाको १४ औं वार्षिक साधारण सभा तथा पाँचौं अधिवेशनबाट डम्मर बहादुर थापाको नेतृत्वमा नवनिर्वाचित सम्पूर्ण टीम हराउन नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितका दलको गठबन्धन भए पनि नसकेको एमाले बुटवलका नगर अध्यक्ष शोभाखर पोखरेलले जानकारी दिनुभयो ।

    नवनिर्वाचित समितिको उपाध्यक्षमा कल्पना पांडे मगर, सचिवमा माया बेल्बासे, सह–सचिवमा लक्ष्मी भुसाल, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ र सेक्टर संयोजकहरुमा दिलबहादुर थापा, ओमबहादुर पुन, रामलाल भुसाल, कृष्ण सोमाई मगर र सीता थापा निर्वाचित हुनुभएको छ ।

    त्यस्तै खुला महिला सदस्यहरुमा गीता पन्थी, बालकुमारी घिमिरे, निर्मला थापा, लेखा परीक्षण संयोजकमा गोरख बहादुर रोका, सदस्यहरुमा युवराज खनाल, नारायण न्यौपाने, अनुगमन संयोजकमा वेदप्रसाद पौडेल र सदस्यहरुमा वामदेव पौडेल, गंगा ज्ञवाली निर्वाचित हुनुभएको छ ।

    नवनिर्वाचित उपाध्यक्ष कल्पना पाँडे मगरले सामाजिक संस्थामा राजनीतिक टीम नबनाउने भनिए पनि सबै दलका समर्थकहरुले टीम बनाएर चुनाव गर्नुपरेको र जितेका सबै एमालेको टीमबाट भएको बताउनुभयो । ‘एमालेबाहेक सबैको गठबन्धन थियो । तर, नतिजा उहाँहरुले चाहेजस्तो आएन सबै एमालेमा रहेकाहरु मात्रै आयौं । तर, जितेपछि यस्ता संस्थाहरुमा कुनै पार्टी विशेष भन्ने हुँदैन, जनताको काम गर्ने हो, सेवा गर्ने हो, जित्न नसक्नेहरुले पनि निराश हुने होइन, सबै मिलेर काम गर्ने हो’ उहाँले भन्नुभयो ।