शनिवार , पौष २६, २०८२
भैरहवा, २६ पुस । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६७ औं वार्षिक साधारण सभा पुस २६ गते शनिबार (आज) हुने भएको छ । सिद्धार्थनगर नगरपालिका–१२ कालिकास्थानस्थित संघको भवनमा साधारण सभा आयोजना गरिएको अध्यक्ष नेत्र प्रसाद आचार्यले बताउनुभयो । अध्यक्ष आचार्यका अनुसार साधारण सभाको उद्घाटन बिहान १०ः३० बजे हुनेछ ।
साधारण सभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले गर्नुहुने उहाँले जानकारी दिनुभयो ।
साधारण सभाको बन्दसत्र दिउँसो २ः३० बजेदेखि सुरु हुने संघका महासचिव कृष्ण प्रसाद घिमिरेले बताउनुभयो । बन्दसत्रमा महासचिवबाट संघको वार्षिक प्रतिवेदन, कोषाध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०८१÷०८२ को लेखापरीक्षण प्रतिवेदन लगायत विविध विषयमा छलफल हुने सचिव मंगल भण्डारीले जानकारी दिनुभयो । ६७ औं वार्षिक साधारण सभाको तयारी पूरा भएको संघले जनाएको छ ।
वि.सं. २०११ सालमा स्थापना भएको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले उद्योगी–व्यवसायीको हकहितमा काम गर्दै आएको वरिष्ठ उपाध्यक्ष दिलिप कुमार कान्दुले बताउनुभयो । उहाँले भन्नुभयो–‘उद्योगी–व्यवसायीमा मात्र हामी सीमित छैनौं । यस क्षेत्रको शैक्षिक, स्वास्थ्य, विकास निर्माण, आम नागरिकका समस्या समाधानका लागि संघले पहलकदमी गर्दै आएको छ ।’ संघको संस्थापक अध्यक्ष स्वर्गीय मंगलसेन शर्मा हुनुहुन्छ ।...
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij