शनिवार , पौष २६, २०८२
बुटवल, २६ पुस । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा स्टाफ नर्सहरूका लागि तीनदिने अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । करार सेवा अन्तरगत अस्पतालको छनोट प्रक्रियामा सफल भइ सेवा प्रवेश गर्न लागेका ३० जना स्टाफ नर्सहरुलाई नर्सिङ विभागले अभिमुखीकरण गरेको हो ।
सो अवसरमा बोल्दै अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. ईन्द्र ढकालले सेवाग्राहीमा करुणा भाव पैदा हुने गरी सेवामा समर्पित हुन आग्रह गर्नुभयो । उहाँले अस्पतालमा प्रवेश गरिसकेपछि आफ्नो ड्यूटी समयमा व्यक्तिगत वा पारिवारिक कुराहरुलाई भुलेर सेवाग्राहीले सुरक्षित र आत्मियता महसुस गर्ने गरी व्यवहार प्रस्तुत र समर्पित हुन आग्रह गर्नुभयो । अस्पतालमा कार्यरत चिकित्सक, स्टाफ नर्स तथा कर्मचारीहरुको आवश्यकता र अधिकारका सवालमा अस्पताल प्रशासन सधै सचेत र गम्भीर रहने बताउँदै उहाँले सामूहिक भावनाले अघि बढ्न आग्रह गर्नुभयो ।
त्यस्तै अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले सेवा प्रवेश गरेका स्टाफ नर्सहरुलाई शुभकामना व्यक्त गर्दै सेवाग्राहीले गुनासो गर्ने ठाउँ नराख्ने गरी पेशामा प्रतिवद्ध रहन सुझाव दिनुभयो ।
अस्पतालका नर्सिङ विभाग प्रमुख नेहा थापाले पेसागत मर्यादा र जिम्मेवारीमा प्रतिवद्ध भएर काम गर्न सकेमा मात्रै जीवनमा थप सफलता हासिल गर्न सकिने बताउनुभयो ।
अभिमुखीकरणमा सहभागीहरुको तर्फबाट बोल्दै सञ्जु काफ्लेले तीन दिनको कार्यक्रमले पेशामा थप समर्पित र उर्जा पैदा गराएको अनुभव व्यक्त गर्नुभयो । आफूले विभिन्न स्वास्थ्य संस्थाहरुमा काम गरेको अनुभव र प्रादेशिक अस्पतालमा सेवा प्रवेश गर्दाको अनुभवमा धेरै कुरा फरक पाएको उहाँले उल्लेख गर्नुभयो । उहाँले काठमाडौंका उत्कृष्ट स्वास्थ्य संस्थाहरुमा जस्तै यहाँ पनि नौलो र सिर्जनात्मक अभ्यासको अनुभव प्राप्त गर्न सफल भएको उल्लेख गर्नुभयो ।
तीनदिने अभिमुखिकरणमा अस्पतालबाट प्रवाह हुने सेवा तथा सेवाग्राहीबीच गर्नुपर्ने समन्वय, प्रशासनिक सुशासन, जीवनको आधारभूत कला लगायतका विषयमा सहजीकरण गरिएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij