बिहिवार , पौष २४, २०८२
भैरहवा, २४ पुस । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले रुपन्देहीमा प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार सिफारिस टुंगो लगाएको छ । राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेससँग तालमेल गरेको एमालेले प्रतिनिधि सभा निर्वाचनमा पनि तालमेल गर्न सक्ने उतिकै सम्भावना छ । यदपी पार्टीकोतर्फबाट उमेदवार सिफारिस गरेको हो । क्षेत्रबाट गरिएका सिफारिसलाई जिल्लाले अनुमोदन गर्दै प्रदेश र प्रदेशको सिफारिसलाई केन्द्रले टुंगो लगाउनेछ ।
लुम्बिनी प्रदेशमा चासो दिइएर हेरिने रुपन्देहीको पाँचवटा निर्वाचन क्षेत्रबाट एमालेले गरेको सिफारिसमा ४० वर्षमुनी युवा समूहबाट पनि प्रतिनिधि परेका छन् । लामो समय विद्यार्थी राजनीति गर्नुभएकी एमाले नेतृ लक्ष्मी के.सी. ४० वर्षमुनीको उम्मेदवार हुनुहुन्छ ।
रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रबाट सिफारिस भएका उम्मेदवारहरु हेर्दा सबैजसो ४० वर्ष नाघेका हुनुहुन्छ । क्षेत्र नम्बर ३ बाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ११ जनामध्ये ४० वर्षमुनी के.सी.को नाम मात्रै सिफारिस गरेको हो । के.सी. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ हाल एमाले रुपन्देही जिल्ला कमिटी सदस्यको जिम्मेवारीमा रही क्रियाशिल हुनुहुन्छन् । व्यवस्थापन र समाजशास्त्र विषयमा स्नातकोत्तर गर्नुभएकी के.सी. सानै उमेरदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ ।
एमालेले युवाहरुलाई अवसर दिने नीति बनाए तापनि उम्मेदवार सिफारिसमा रुपन्देहीको हकमा प्राथमिकतामा युवा भन्ने नीति लागू नभइरहदा रुपन्देहीमा भने के.सी. लाई सिफारिस गरेर युवा पुस्ताको माग सम्बोधन गरेको छ ।
रुपन्देही–३ बाट क्षेत्रबाट सिफारिस भएका अधिकांश उम्मेदवार यसअघिका निर्वाचनमा परीक्षण भइसक्नुभएको छ । क्षेत्र नम्बर १ बाट पार्टीका सचिव र पूर्वमन्त्री समेत रहनुभएका, २०७९ को प्रतिनिधि सभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित छबिलाल विश्वकर्मासहित पूर्व प्रदेश सांसदद्वय दधिराम न्यौपाने र डा. कृष्ण न्यौपाने सिफासि हुनुभएको छ ।
त्यस्तै क्षेत्र नम्बर २ बाट पार्टीका उपाध्यक्ष समेत रहनुभएका पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको एकल नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ३ बाट पनि उपाध्यक्ष पौडेल सिफारिस हुनुभएको छ । सो क्षेत्रबाट पौडेलसहित ११ जना सिफारिस हुनुभएको छ । यहाँबाट पौडेलसहित यसअघि क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद् बासुदेव घिमिरे, नेता राजेन्द्र प्रसाद पन्थी, सिद्धार्थनगर नगरपालिकाको पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारी, सियारी गाउँपालिकाका पूर्वअध्यक्ष अयोध्या थारु, एमाले लुम्बिनी प्रदेश सल्लाहकार विश्वराज बराल (अनुप), रुपन्देही जिल्ला उपाध्यक्ष हितराज पन्थी, क्षेत्र नम्बर ३ का संयोजक नरबहादुर घर्ती, पम्फावती खनाल, सीता काफ्ले ढुंगाना र लक्ष्मी के.सी. सिफारिस हुनुभएको छ ।
क्षेत्र नम्बर ५ बाट पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज खिमलाल भट्टराईको नाम एकल सिफारिस गरिएको छ । यो समाचार तयार पार्दासम्म क्षेत्र नम्बर ४ मा भने उम्मेदवार टुंग्याउन बाँकी छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij