२०८२, फाल्गुण ११ गते

Feb 23 2026 | २०८२, फाल्गुण ११ गते

ठूला दल निर्वाचनमा एक्लै जान डराए : उपेन्द्र यादव

बिहिवार , पौष २४, २०८२

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • भैरहवा, २४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूलाई सबैभन्दा ठूलो भन्ने काँग्रेस–कम्युनिष्टलाई निर्वाचनमा एक्लै जान हिम्मत नरहेको बताउनुभएको छ । उहाँले ठूला दल एक्लै निर्वाचनमा जान जनताबाट डराएको बताउनुभयो ।

    पार्टीको लुम्बिनी प्रदेश समितिले बुधबार रोहिणी गाउँपालिका–३ स्थित धकधईमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताउनुभएको हो ।‘३५ वर्षमा के काम गरेका छौं भनेर जनताले हिसाबकिताब माग्छन् भनेर ठूला दल एक्लै निर्वाचनमा जान डराएका छन्, ’उहाँले भन्नुभयो ।

    उहाँले काँग्रेस–कम्युनिष्टले देश लुटेको र जनताका लागि अहित हुने काम गरेकाले देश आज गम्भिर संकटमा रहेको बताउनुभयो । मुलुक चारैतिरबाट संगटग्रस्त अवस्थामा रहेको उहाँको भनाइ छ ।

    पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष यादवले विगत ३५ वर्षमा काँग्रेस–कम्युनिष्टले के ठोस काम गरे भन्दै प्रश्न गर्नुभयो । गरीबी र बेरोजगारीका कारण ८० लाख नेपाली युवा रोजगारीका लागि विदेशमा बस्न बाध्य भएको उहाँले बताउनुभयो ।

    उहाँले लोकतन्त्रलाई अगाडि बढाउन भ्रष्टाचारको अन्त्य गरी सुशासन ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले संघीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकारसम्पन्न बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

    अध्यक्ष यादवले संवैधानिक निकायको नियुक्तिमा पनि खरिदविक्री गरिएको आरोप लगाउनुभयो । उहाँले मुलुकमा व्याप्त भ्रष्टाचारका कारण युवाहरु आन्दोलित भएको बताउनुभयो । आफ्नै नागरिकलाई विदेशी सरह व्यवहार गर्नेहरुले देशको विकास गर्न नसक्ने उहाँको दावी छ । ‘अहिलेको संसदीय व्यवस्था प्रणाली असफल भइसकेको छ, त्यसले मुलुकमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली आवश्यक छ, ’उहाँले भन्नुभयो ।

    अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली निकै महंगो भएकोले पार्टी र उम्मेदवारले खर्च गर्न नपर्ने गरी नेपालमा समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेकोमा जोड दिनुभयो ।

    त्यस्तै पार्टीका केन्द्रीय सचिव कमरुद्दीन राईले जनताको अधिकार सुनिश्चित गर्न जसपा नेपाललाई नै जिताउनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य रामवचन यादव, कैलाश गुरुङ, विद्या प्रसाद यादव, भगवती सुवेदी, अब्दुल रसिद खान, मुन्नालाल गुप्ता, लुम्बिनी प्रदेश सभा सदस्य तथा केन्द्रीय सदस्य अम्बिका काफ्ले, लुम्बिनी प्रदेश अध्यक्ष राम अवतार यादव, प्रदेश उपाध्यक्ष मोहम्मद असलम खान, कोषाध्यक्ष बच्चुलाल केवट, थरुहट तराई लुम्बिनी प्रदेश अध्यक्ष सुमित्रा कुर्मी, पार्टीको रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादव, कपिलवस्तुका अध्यक्ष शैलेन्द्र यादव, पश्चिम नवलपरासीका अध्यक्ष धरेन्द्र यादव, समाजवादी विद्यार्थी युनियन नेपालका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राहुल यादव लगायतले बोल्दै मुलुकको विकास जसपा नेपालको नेतृत्वमा मात्रै हुन सक्ने दावी गर्नुभयो ।