२०८३, जेठ ९ गते

May 23 2026 | २०८३, जेठ ९ गते

आधुनिकताको कोलाहलमा हराउँदै ‘डफला’ : संकटमा पुख्र्यौली पहिचान र लोक-संस्कृति

बुधवार , पौष २३, २०८२

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • रुपन्देही, २३ पुस । कुनै समय तराई–मधेशका गाउँघरमा गुञ्जने ‘डफला’ बाजाको ताल संगीत मात्र थिएन, यो जीवनका हरेक उकाली–ओरालीको साक्षी थियो । शुभ कार्यमा मंगल धुन बन्ने र मृत्यु संस्कारमा अन्तिम बिदाइको गम्भीर स्वर बन्ने यो मौलिक बाजा अहिले अस्तित्व रक्षाका लागि संघर्षरत छ ।

    ‘समयको परिवर्तनसँगै भित्रिएको डिजे र आधुनिक ब्याण्ड बाजाको चर्को स्वरले डफलाको मौलिक धुनलाई विस्तारै मधुरो बनाउँदै लगेको छ,’रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–११ का दिनेश लोधले भन्नुभयो–‘लोक–संस्कारको पर्याय मानिने यो बाजा अहिले ओझेलमा परेको छ ।’

    ‘डफला’ नेपालमा अवध (मधेश) को विशिष्ट पहिचान बोकेको एउटा प्राचीन र मौलिक ताल बाजा हो । यसको बनावटमा जति सादगी देखिन्छ, ध्वनि त्यति नै गम्भीर र मिठासपूर्ण हुन्छ । यो बाद्ययन्त्र खासगरी सिसौ वा कर्माको काठलाई गोलाकार घेरा (फ्रेम) बनाएर तयार पारिन्छ ।  

    डफलाको एकातर्फ बाख्रा वा गाईको प्रशोधित छाला मढिएको हुन्छ । देव्रे हातले समातेर दाहिने हातका औंला, हत्केला वा दुईवटा पातला लट्ठी (स्टिक) को सहायताले यसलाई तालबद्ध रूपमा बजाइन्छ । यो मुख्यतया उल्लास, बिरह र बीरगाथा गायनमामा प्रयोग हुने मौलिक–साँस्कृतिक बाजा हो ।

    डफलाको जीवन्त सम्बन्ध विशेष गरी होली, दीपावली र पञ्चमी लगायत अवध मधेशको संस्कृति र विभिन्न पर्वसँग पनि गाँसिएको छ । वसन्त पञ्चमीदेखि नै गाउँका चौतारा र दलानहरूमा डफलाको तालमा ‘होरी’ (फागू गीत) गाउने परम्पराले आपसी सद्भाव र एकताको सञ्चार गर्दछ ।

    लुम्बिनी साँस्कृतिक बिरहा समूहका ६० वर्षीय डफला वादक राम उजागिर चमारका अनुसार यसको उत्पत्तिको कथा अध्यात्मिक छ । उहाँले भन्नुभयो–‘हाम्रा पुर्खाहरूले सुनाए अनुसार ‘डफला’ भगवान शिवको डमरु र खैँझडीको विकसित स्वरूप हो । जब भगवान शिवले ताण्डव नृत्य गर्नुभयो, त्यसको ताललाई धर्तीमा उतार्न काठ र छालाको मिश्रणबाट घेराकार ‘डफला’ बाजा बनाइएको हो ।”

    अर्का वादक मोछू चमारका अनुसार आदिम कालमा खुसी व्यक्त गर्ने माध्यम खोज्दा प्रकृतिको प्रतिध्वनीलाई पछ्याउँदै काठको टोड्कामा छाला मढेर बजाउँदा यसको पहिलो आवाज निस्किएको लोकविश्वास छ । तर, आधुनिकताले आफ्नो पेसा नै विस्थापित गरिदिएको उहाँको दुःखेसो छ ।

    सम्मरीमाई गाउँपालिका–७ स्थित बेतकुइयाँका ८० वर्षीय झगरु मुरावका अनुसार नयाँ पुस्तामा आधुनिकताप्रतिको आकर्षण, वैदेशिक रोजगारीको मोह, सामाजिक सम्मानको कमी र न्यून आर्थिक लाभका कारण डफलाको ताल र यसको पुरानो बैभव सम्झनामा मात्र सीमित हुन थालेको छ ।

    लोक–संस्कृतिका जानकार एवं त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा.त्रिभुवन बरईले यो सीप निश्चित समुदायमा मात्र सीमित रहनुलाई संकटको कारण बताउनुभयो । उहाँले भन्नुभयो–‘आधुनिक संगीतले भन्दा डफलाले दिने आत्मिक शान्ति र साँस्कृतिक गहिराइ विस्तारै हराउँदै गएको छ ।’

    डफलालाई संग्रहालयमा मात्र सीमित हुन नदिन स्थानीय सरकारले चासो देखाएको भन्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाको कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले कलाकारहरूलाई प्रोत्साहन भत्ता र सामाजिक सम्मान दिनु आवश्यक रहेको बताउनुभयो । पेशागत पुस्तान्तरण नहुँदा यो कला लोप हुने अवस्थामा पुगेको भन्दै उहाँले सामूहिक डफला वादन प्रतियोगितालाइ बढावा दिने बताउनुुभयो ।

    लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व शिक्षामन्त्री वसीउद्दीन खाँले ‘डफला’ लाई विद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो–‘यो सीपलाई जातीय घेराभन्दा बाहिर ल्याएर इच्छुक जो कोहीलाई पनि तालिम दिने व्यवस्था मिलाउनुपर्छ । राज्य र समुदाय दुवैले यसको संरक्षणमा सक्रियता नदेखाए डफलाको इतिहास किताबका पानामा मात्र सीमित हुनेछ ।’