२०८३, जेठ ९ गते

May 23 2026 | २०८३, जेठ ९ गते

पाँचदिने सीपमूलक धुपबत्ती बनाउने तालिम सम्पन्न

शनिवार , जेठ ९, २०८३

  • 166
    Shares
  • 166
    Shares
  • भैरहवा, ९ जेठ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ वडा कार्यालयद्वारा आयोजित मानव अधिकारका लागि महिला, एकल महिलाहरुका लागि पाँचदिने सीपमूलक धुपबत्ती बनाउने (बाट्ने) तालिम कार्यक्रम सम्पन्न भएको छ ।

    शुक्रबार तालिमको समापन कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि उद्योगी तथा समाजसेवी नारायण प्रसाद अग्रवालले यो तालिमको धेरै महत्व रहेको बताउनुभयो । उहाँले तालिमबाट सीप सिकेर घरमै बसेर आयआर्जन गर्न सकिने बताउनुभयो । वडा नम्बर ५ मा धेरै कामहरु अघि बढेको उहाँको भनाइ छ ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले हेर्दा तालिम सानो लागे पनि यसको महत्व धेरै भएको बताउनुभयो । उहाँले महिलालाई रोजगारी प्रदान गर्न पनि तालिमबाट प्राप्त सीपले मद्दत गर्ने बताउनुभयो । यसपश्चात कौसी खेती सम्बन्धी तालिम सञ्चालन गरिने उहाँको भनाइ छ ।

    सिद्धार्थनगर नगरपालिका–१३ का अध्यक्ष सोम बहादुर गुरुङले तालिमलाई तालिममा मात्र सीमित नराख्न आग्रह गर्नुभयो । उहाँले तालिमको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    प्रशिक्षक अरुणा श्रेष्ठले आफूले सिकेको केही कुरा बाँड्ने मौका पाएको भन्दै आयोजक वडा कार्यालयप्रति आभार व्यक्त गर्नुभयो ।

    पत्रकार शंकर प्रसाद पाण्डेले सडक र नाला बनाएर मात्र विकास नहुने भएकाले मानवीय विकास पनि आवश्यक रहेको बताउनुभयो ।

    तालिमको प्रशिक्षार्थी सलुजा रामदामले सीप सिक्नुपर्ने र सिक्ने कुरामा कहिल्यै पछि पर्न नहुने बताउनुभयो ।

    वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता, वडा सदस्य किरन देवी सुनारको स्वागत तथा अर्का वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    तालिममा २६ जना प्रशिक्षार्थीको सहभागीता थियो ।