मंगलवार , पौष १५, २०८२
प्रकृति र संस्कृतिको वरदान प्राप्त मुुलुक नेपालले पर्यटन क्षेत्रको प्रबद्र्धन गर्न सके मात्रै मनग्य आय आर्जन गर्न सक्दछ । नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना (२०१६–२०२५) ले तय गरेको दूरदृष्टि कार्ययोजनाले पनि कुल ग्राहस्थ उत्पादनमा पर्यटनबाट प्राप्त हुुने आम्दानी ९.२५ प्रतिशतले वृद्धि हुुने प्रक्षेपण गरिएको थियो । तर, देशमा भएको राजनैतिक उथुलपुुथुल र तरलताले उक्त प्रक्षेपण पूरा हुन सकेको छैन । तथापी सञ्चार क्षेत्रले पर्यटन प्रवद्र्धनमा गरेको प्रयास सधै अग्रभागमा रहेको छ ।
विश्वभरीका पर्यटकको लागि मुुख्य आकर्षक मानिने सर्वोच्च शिखर सगरमाथा र लुम्बिनी नेपाली पर्यटन क्षेत्रका महत्वपुर्ण धरोहर हुुन् । पर्यटन प्रवर्द्धनका लागि सरकार, निजी क्षेत्र दुवैतर्फबाट काम गर्नुपर्छ । प्रचारात्मक कार्य भने लुम्बिनी प्रेस क्लब जस्ता पत्रकारका संस्थाहरुले गर्नुपर्दछ । लुम्बिनी प्रेस क्लबले संस्थागत रुपमा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि स्थापनाकालदेखि नै कार्य गर्दै आएको छ । न्यूज फेस्टिभल, बौद्ध सञ्चार यात्रा जस्ता महत्वपूर्ण पर्यटकीय कार्यक्रम होऊन् वा प्रेस क्लबको बैंकक, सिक्किम, काशी, गोरखपुर जस्ता वैदेशिक यात्राहरु जसले बाह्य पर्यटन प्रवर्द्धनमा टेवा दिइरहेको छ ।
समस्या र आवश्यकता
समृद्धिको मुुख्य मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धनमा राज्यकै नीति नियम बाधक देखिएका छन् । त्यसैले विद्यमान नीति नियममा भएका बाधा, अडचन फुकाउनुपर्छ । खास गरी लुम्बिनी आएका पर्यटक उसैदिन फर्किने गरेका छन् । पर्यटकको बसाई लम्ब्याउन सरकार र निजी क्षेत्रले निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रेस क्लबले निरन्तर ध्यानाकर्षण गराउँदै आएको छ । पर्यटकको बसाई लम्ब्याउन प्याकेजका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिदै आएको छ । स्थलमार्ग हुँदै नेपालमा सबैभन्दा बढी पर्यटक भित्रिने नेपाल–भारत सीमा नाका बेलहिया हो । तर, अध्यागनमा पनि केही समस्या रहेको स्थानीय तथा पर्यटकले गुनासो गर्दै आएका छन् । सन् २०२४ मा स्थलमार्ग बेलहिया नाका हुँदै १ सय ९७ देशका ९२ हजार बढी तेस्रो मुलुकका पर्यटक नेपाल आएका छन् भने ९३ हजार यस नाकाबाट बाहिरिएका छन् । अध्यागमन कार्यलयमा कार्यरत कर्मचारीहरुले पर्यटक र आमसेवाग्राहीलाई नम्र, सरल र मिठासपूर्ण व्यवहार गर्नुपर्ने र पर्यटक धेरै समयसम्म लाईनमा बस्न नपर्ने गरी सेवालाई प्रविधिमैत्री बनाउनुपर्छ ।
लुम्बिनी प्रेस क्लबको प्रयास
आन्तरिक र बाह्य पर्यटक नेपाल भित्र्याउन तथा चलायमान गराउन प्रचारात्मक कार्यमार्फत भूमिका खेलिरहेको लुम्बिनी प्रेस क्लबको कार्यलाई समाजले पनि अत्यन्तै उच्च मूूल्यांकन गरेको हामीले महसुुस गरेका छौं । यद्यपि अझै गर्नुुपर्ने धेरै काम छन् । बुद्धकालीन रोहिणी सभ्यताको विकास र विस्तार, रोहिणी नदीको प्रचारप्रसार र विकासले रोहिणीलाई पर्यटकीय आकर्षणको केन्द्र बनाउन सकिने कुरालाई मध्यनजर गर्दै क्लबले बुद्ध जयन्तीको दिन नदीमा पुगेर दीप प्रज्जवलन कार्यक्रम गरेको थियो । क्लबले रोहिणी नदीबारे बहस गरेको छ ।
निजी क्षेत्र सम्बद्ध संघ–संस्थाहरु सिद्धार्थ उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, रुपन्देही, सिद्धार्थ होटल संघ, लुम्बिनी होटल संघ, सिद्धार्थ सञ्जाल, नाट्टा, सोट्टो लगायतसँग सहकार्यमा क्लबले विभिन्न कार्यक्रम गर्दै आएको छ । २०८२ भदौ २३ र २४ गतेको जेनजीको आन्दोलनका क्रममा मुलुकमा एकखालको त्रास र निराशाको परिस्थिति उत्पन्न भयो । रुपन्देहीमा पनि सरकारी कार्यालय, व्यवसायिक प्रतिष्ठान, घरमा आगजनी तथा तोडफोड भयो । जेनजीको प्रदर्शनपछि उत्पन्न असहज परिस्थितिलाई सहज बनाउने उद्देश्यले लुम्बिनी प्रेस क्लबकै अगुवाइमा भदौ २७ गते बेलहिया नाकाबाट शान्ति–सद्भाव र्याली निकालिएको थियो । नेपाल–भारत सीमा नाका बेलहियादेखि बुद्धचोकसम्म निकालिएको र्यालीमा निजी क्षेत्र सम्बद्ध संघ–संस्था, सामाजिक संघ–संस्था तथा स्थानीयको सहभागीता थियो । पर्यटन क्षेत्रको विकासका लागि शान्ति सुरक्षा अपरिहार्य छ । यसैलाई मध्यनजर गर्दै कार्यक्रम गरिएको हो ।
पर्यटनको प्रवद्र्धनमा टेवा पुगोस् भन्ने उद्देश्यले क्लबका पूर्व सल्लाहकार तथा अग्रज पत्रकार नारायण प्रसाद सापकोटाले आफ्नो आमा स्वर्गीय भुवन कुमारीको सम्झनामा ‘भुवनकुमारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार’ गर्नुभएको थियो । लुम्बिनी क्षेत्रमा रहेर पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई प्रदान गर्नका लागि विभिन्न मापदण्ड बनाई ५० हजार राशीको पुरस्कार प्रदान गरिदै आएको छ । यो पुरस्कार हालसम्म क्लबका वर्तमान अध्यक्ष कमल रायमाझी र उपाध्यक्ष दीपेन्द्र बडुवालले प्राप्त गरिसकेका छन् ।
बुद्ध जयन्तीमा हुने विशेष कार्यक्रम त छदैछ । त्यसबाहेक नयाँ वर्षमा हुने सडक खाना महोत्सव पनि पर्यटन व्यवसायीका लागि चाडपर्व जस्तै बनेको छ । सडक खाना महोत्सव लुम्बिनी, भैरहवा लगायतका क्षेत्रमा सञ्चालन हुँदै आएको छ । महोत्सवबारे लुम्बिनी प्रेस क्लबले अपनत्व लिएर प्रचारप्रसारमा जोड दिएको छ । निजी क्षेत्रले आयोजना गर्ने पर्यटन महोत्सवले गरेका उपलब्धी र सुधार गर्नुपर्ने विषयमा हामीले आयोजकले सुझाव दिदै आएका छौं । त्यसै गरी विश्व पर्यटन दिवसको अवसरमा बेलहिया नाकामा गरिने पर्यटकलाई स्वागतसहित विभिन्न कार्यक्रम, बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्ट (बीआइटीएम) सफल पार्न क्लबले महत्वपूर्ण भूमिका निर्वाह गरिदै आएको छ । यी कार्यक्रममा क्लब सहभागी भएर आफ्ना राय’सुझाव प्रस्तुत गर्नुका साथै समाचार सम्प्रेषण गरी कार्यक्रमबारे देश–विदेशमा यसको प्रचारप्रसार गरिरहेको छ ।
क्लबले कास्कीको पर्यटकीय गाउँ घान्दु्रक, रारा ताल, जुम्ला, सौराहा, बर्दिया, लगायतका स्थानमा भ्रमण गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले भ्रमण कार्यक्रमलाई निरन्तरता दिदै आएका छौं ।
त्यस्तै क्लबले आन्तरिक मात्र नभइ भारत र तेस्रो मुलुकको पनि भ्रमण गरेको छ । भारतको सिक्किम–दार्जिलिङ भ्रमण गरेका थियौं । त्यहाँको प्रेस क्लबसँग हाम्रो सुमधुर सम्बन्ध यस्तो बन्यो कि हामीले आयोजना गरेका कार्यक्रममा उहाँहरुलाई र उहाँहरुले आयोजना गरेका कार्यक्रममा हामी सहभागी हुँदै आएका छौं । सिक्किम–दार्जिलिङ प्रेस क्लबसँग भगिनी सम्बन्ध बनाएको कारणले सम्बन्ध अझ बलियो बनेको महसुस गरेका छौं ।
थाइल्याण्ड पुगेको टोलीले भ्रमण गर्नुको साथै नेपालको विकासका लागि त्यहाँबाट सिक्न सक्ने विषयहरुबारे अध्ययन समेत गरेको थियो । क्लबको टोली थाइल्याण्डस्थित नेपाली राजदूताबास पुगेर नेपाल–थाइल्याण्डबीच पर्यटन क्षेत्रको विकासका विषयमा छलफल गरेको थियो ।
केही साता अघि मात्रै हामीले भारतको अयोध्या र बनारसको भ्रमण गरेका थियौं । काशी पत्रकार संघ र वाराणसी प्रेस क्लबको कार्यालयमा पुगेर नेपाल भ्रमण गर्न हामीले आग्रह गरेका छौं । भारतीय पत्रकारले पनि नेपाल भ्रमण गर्न त्यहाँका नागरिकलाई प्रेरित गर्न समेत आग्रह गरेका थियौं । पर्यटन क्षेत्रको विकासका लागि दुवै देशका पत्रकारबीचको सहकार्य बढाउनुपर्ने हाम्रो निष्कर्ष थियो । हामीले गरेको अनुरोधबारे विभिन्न भारतीय सञ्चारमाध्यमले पनि समाचार सम्प्रेषण गरेका थिए । लुम्बिनी घुम्न स्वदेशी तथा विदेशी पर्यटक अभिप्रेरित गर्ने उद्देश्यले भैरहवादेखि लुम्बिनी बौद्ध सञ्चार यात्रा गरिदै आएको छ ।
बुद्ध जन्स्थल लुम्बिनी, पर्यटन क्षेत्र र सञ्चारलाई सँगैसँगै अगाडि बढाउँदा नेपालले लाभ लिन सक्ने उद्देश्यसहित बौद्ध सञ्चार यात्रा गरिदै आएको छ । यो कार्यक्रममा भैरहवादेखि लुम्बिनीसम्म पैदलै हिंडेर पुग्ने गरिन्छ ।
अर्को महत्वपूर्ण कार्यक्रम जसलाई लुम्बिनी प्रेस क्लबले आफ्ना ब्राण्डको रुपमा चिनाएको छ: लुम्बिनी न्यूज फेस्टीबल । यो कार्यक्रम बुद्ध जन्मस्थल लुम्बिनीमा हुँदै आएको छ । न्यूज फेस्टीबलमा न्यूजको विषयमा छलफल र बहस हुन्छन् । तर, यहाँ धेरै लुम्बिनीका विषयहरुको उठान हुन्छ । लुम्बिनीको विषय उठ्दा पर्यटन क्षेत्रका कुरा नउठ्ने भन्ने सवालै छैन । यो कार्यक्रम अर्थात (लुम्बिनी न्यूज फेस्टीबल) ले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्याउँदै आएको छ भन्नेमा दुईमत नै छैन । त्यहाँ उठेका सवालले सञ्चारमाध्यममा स्थान पाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij