२०८२, पौष १३ गते

Dec 28 2025 | २०८२, पौष १३ गते

तेस्रो लुम्बिनी न्युज फेस्टिबलमा दोस्रो सेसन

‘मिडियाहरु बढी अधिकारमुखी मात्र भए, जवाफदेही वन’

आइतवार , पौष १३, २०८२

  • 229
    Shares
  • 229
    Shares
  • लुम्बिनी, १३ पुस ।  बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित ‘तेस्रो लुम्बिनी न्यूज फेस्टिबल’ अन्तर्गत ‘पत्रकारितामा प्रश्न : जिम्मेवारी र जवाफदेहीता’ विषयमा छलफल भएको छ । 

    लुम्बिनी प्रेस क्लब, रुपन्देहीको आयोजनामा न्यूज फेस्टिभल आयोजना भएको हो । छलफलमा बोल्दै प्रेस काउन्सील, नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले मिडियाले सूचनाको दोहोरो–तेहोरो प्रमाणीकरण र समाचारको तहगत सम्पादन गर्नु अपरिहार्य हुने बताउनुभयो । 

    उहाँले सूचनाको भेरिफाई र बिना सम्पादन प्रवाह गरिने समाचारले समाजलाई दिग्भ्रमित पार्ने र अप्रिय घटना समेत निम्त्याउनेतर्फ सधैं सजग बन्नुपर्ने बताउनुभयो । 

    मिडियाले राज्यका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका गरी तीन अंगलाई निगरानी गर्ने र उनीहरुबीच पुलको काम गर्ने भएकाले मिडियालाई चौथो अंग भनिएको आचार्यले आचार्यले बताउनुभयो । पत्रकारहरु समाचार लेख्न स्वतन्त्र भए पनि त्यसले पार्ने असर र प्रभावबारे जिम्मेवार र जवाफदेही बन्नै पर्ने उल्लेख गर्नुभयो ।  

    ‘मिडियाहरु बढी अधिकारमुखी मात्र भएर पुग्दैन, जिम्मेवारमुखी पनि उत्तिकै हुनुपर्छ, आचारसंहिता पालना गरेकै हुनुपर्छ’ –आचार्यले भन्नुभयो –‘पत्रकारले आफ्‌नो मर्यादा राखे मात्र पत्रकारिता मर्यादित हुन्छ ।’ मिडियाले कर्तव्यको पालना गरे अधिकार आफै प्राप्त हुने उहाँले बताउनुभयो । 

    अन्नपूर्ण पोष्टका प्रधानसम्पादक अखण्ड भण्डारीले मिडियाले सधै सत्य बोल्ने, सत्य लेख्ने र सत्य व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । भण्डारीले मिडिया र पत्रकारले क्षमायाचना र धन्यवाद भन्न समेत कन्जुस्याई गरिरहेको औंल्याउनुभयो । मिडियामा प्रविधिको प्रयोगलाई सकारात्मक रुपमा लिनुपर्ने भण्डारीले सुझाव दिनुभयो । प्रविधिले पछाडि नभई अगाडि नै लैजाने भन्दै भण्डारीले प्रविधिसँग हिंड्न नसके मिडियाहरु डाइनोसर बन्ने उहाँले औंल्याउनुभयो । 

    रास्वपा सभापति रवि लामिछानेले मूलधारका मिडियाका सम्पादकहरुलाई १२ भाइको नामाकरण गरेको घटनापछि समाजमा असल पत्रकारलाई समेत नकारात्मक दृष्टिले हेर्ने परिपाटी विकास भएको भण्डारीले बताउनुभयो । मिडिया कर्मबाट माथि उठेकै व्यक्तिले अगुवा पत्रकारमाथि लगाएको १२ भाइको नामाकरणले मिडियाको विश्वसनीयतामाथि अनुचित प्रहार गरेको र सिंगो समाजलाई दिग्भ्रमित गरेको भण्डारीको टिप्पणी गर्नुभयो । 

    भण्डारीले पार्टी निकटका पत्रकारहरुको जनवर्गीय संगठनका कारण पनि निष्पक्ष पत्रकारितामाथि प्रश्न उठेको बताउनु भयो ।  

    नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले मिडिया सरकार र निजी क्षेत्र दुवैका लागि ऐना भएको बताउनुभयो । तर, सत्य सूचना दिन नसक्दा मिडियाको विश्वसनीयता घटेको भन्दै उहाँले सत्य सूचना छनोट गरेर मात्र प्रवाह गर्न आग्रह गर्नुभयो । ढुंगा, गिटी बालुवा निर्यातबारे मिडियाले बिना अध्ययन मिथ्या सूचना प्रवाह गरेको दावी गर्दै शर्माले त्यसले ठूलो संख्यामा रोजगारी गुमेको र अर्थतन्त्रमा नकारात्मक असर गरेको बताउनुभयो । 

    युवाहरुको विदेश पलायनलाई नकारात्मक मात्र नभइ त्यहाँबाट ज्ञान, सीप सिकेर देशमा लागू गरेका सकारात्मक सूचना पनि बाहिर ल्याउनुपर्ने शर्माले आग्रह छ । 

    सीमा क्षेत्रमा हुने तस्करी, भन्सार छली, लागूऔषध कारोबार र बुद्ध नेपालमा जन्मेको बारे भारतीय मिडियाले पनि कलम चलाउनुपर्ने आवश्यकता शर्माले औंल्याउनुभयो । निजी क्षेत्रलाई प्रवद्र्धन गर्न, लगानीमैत्री वातावरण बनाउन र पर्यटन प्रवद्र्धन गर्न मिडियाको सकारात्मक भूमिका हुनुपर्ने शर्माले अपेक्षा गर्नुभयो । निष्पक्ष र आलोचनात्मक पत्रकारिताले निजी क्षेत्र र पत्रकारिता दुबै पक्षलाई फाइदा हुने शर्माले बताउनुभयो ।  

    पत्रकारिता अध्येता मिनाक्षी न्यौपानेले मिडियामा काम गर्ने सबै पत्रकार नहुने विषयमा सबै स्पष्ट हुनुपर्ने बताउनुभयो । समाचारको काम गर्ने मात्रै पत्रकार हुने र पत्रकारमा विशेष ज्ञान र दक्षता हुनुपर्ने उहाँको भनाइ छ ।  पत्रकारिता अनुभवले मात्र नभई विषयगत शैक्षिक योग्यता पनि हुनुपर्ने बताइउनुभयो । महिलाका विषयमा समाचार लेख्न, महिलाका मुद्दा उठाउन महिला पत्रकार नै चाहिन्छ भन्ने मान्यता राख्न नहुने न्यौपानेले बताउनुभयो ।  

    छलफलमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेल, लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई लगायतले मिडियाको जिम्मेवारी र जवाफदेहीताको प्रमुख काम राज्यलाई निरन्तर प्रश्न सोध्ने र बेथितिविरुद्ध खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । 

    कार्यक्रमको सहजीकरण आयोजक क्लबका उपाध्यक्ष एवं कार्यक्रम संयोजक दीपेन्द्र बडुवाल गर्नुभएको छ ।