आइतवार , पौष १३, २०८२
लुम्बिनी, १३ पुस । लुम्बिनीमा ‘तेस्रो लुम्बिनी न्यूज फेस्टिबल’ सुरु भएको छ । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धन तथा सीमापार समाचारका मुद्दामा बहस गर्ने उद्देश्यले लुम्बिनी प्रेस क्लब, रुपन्देहीको आयोजनामा न्यूज फेस्टिभल सुरु भएको हो ।
महोत्सवमा छिमेकी मुलुक भारतबाट ४० जनासहित दुईसय बढी पत्रकारको सहभागीता छ । कार्यक्रममा उद्योगी, व्यवसायी, सामाजिक संघ–संस्थाको पनि सहभागीता छ ।
फेस्टिभल उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतको पर्यटकीय सम्भावना, साँस्कृतिक र धार्मिक सम्बन्ध बढाउन यस्ता फेस्टिभलले योगदान पुर्याउने बताउनुभयो । दुवै देशका मिडियाले दुवै देशको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र सह–अस्तित्व स्वीकार गर्दै अघि बढ्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले ठूलो जनसंख्या भएको भारतबाट पर्यटक भित्राएर नेपालको आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।
न्यूज फेस्टिभल अन्तर्गत ‘सीमापार सम्बन्ध : आवश्यकता र सम्भावना’, ‘लुम्बिनी : लगानी र पर्यटनको सामर्थ्य ’ र ‘पत्रकारितामा प्रश्न : जिम्मेवारी र जवाफदेहीता’ विषयमा समूहगत छलफल हुने कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले बताउनुभयो ।
कार्यक्रममा प्रेस काउन्सील नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्य, नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा लगायतले बोल्दै पत्रकारितामाथि विभिन्न प्रश्न उठेकाले जिम्मेवार र जवाफदेही पत्रकारिता गर्न पत्रकार र सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो ।
फेस्टिभल अन्तर्गत पहिलो सेसन ‘सीमापार सम्बन्ध : आवश्यकता र सम्भावना’ मा छलफल भएको छ । यो सेसनको सहजकर्ता लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी रहनुभएको थियो ।
सेसनमा उठेका प्रश्नमा नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माले ग्लोबलाइजेसनको अवस्थामा सीमापार सम्बन्ध अति आवश्यक रहेको बताउनुभयो । उहाँले दैनिक जीवनसँग जोडिएका सवाल, दुई देशबीच कस्ता नीति बनाउने विषय र समस्या समाधानका लागि पनि मिडियाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । नेपाल र भारतको पत्रकारिताबीच सकारात्मक सम्बन्ध विकास गर्न आवश्यक रहेको उहाँको भनाइ छ । ‘एक–अर्का देशको विषयमा तथ्यहीन र सतही आरोप र लाञ्छना लगाउने काम बन्द गर्नुपर्छ, यसले दुवै देशका पत्रकार असुरक्षित हुन्छन्, ’उहाँले भन्नुभयो ।
एक अर्काको देशलाई हस्तक्षेप गर्न नहुने सकारात्मक पक्षलाई ख्याल गर्नुपर्ने उहाँको भनाइ छ । मिथ्या र गलत सूचना प्रवाह नगरौं । ‘मिथ्या र गलत सूचना प्रवाह रोक्न वहस र छलफल जरुरी छ । नीतिगत संशोधन पनि आवश्यक छ, ’उहाँले भन्नुभयो ।
नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइटेलले छिमेकी फेर्न नसकिने बताउनुभयो । उहाँले पत्रकारिताले समस्या मात्र देखाउने मात्र नभइ समाधान दिनुपर्ने बताउनुभयो । त्यस्तै भारतसँग संस्कार संस्कृति र भाषामा समानता र सहतजा भएकाले दुई देशबीच सीमापार सम्बन्ध आवश्यक रहेको उहाँको भनाइ छ । दुई देशबीच देखिने गलत बुझाईलाइ मिडियालाई चिर्नुपर्ने बताउनुभयो ।
भारतीय पत्रकार सञ्जय सिंहले साथी बदल्न सकिने भए पनि छिमेकी बदल्न नसकिने बताउनुभयो । उहाँले नेपाल दुई ठूला शक्ति राष्ट्रको बीचमा भएपनि भारतसँग साँस्कृतिक सम्बन्ध रहेको र यसलाई थप प्रगाढ बनाउन आवश्यक रहेको बताउनुभयो । फेक न्यूजबाट बच्न दुई देशका पत्रकारबीच सही सूचना आदान प्रदान गर्न सकिने उहाँको भनाइ छ । ९० प्रतिशत मिथ्या सूचना न्यू मिडियाबाट प्रवाह हुने गरेका उहाँले बताउनुभयो ।
सिक्किम प्रेस क्लबका अध्यक्ष भिम रावतले दुई देशको समृद्धिका लागि सहकार्य आवश्यक रहेको बताउनुभयो । सिक्किम र नेपाललाई दुई देशको पर्यटन प्रवद्र्धनमा जोड्न सकिने उहाँको भनाइ छ । कन्चनजंगा पार्क र चितवन राष्ट्रिय निकुन्जको पर्यटन प्रवद्र्धनमा दुई देशबीच साझेदारी गर्न सकिने उहाँले बताउनुभयो ।
‘पत्रकार र पत्रकारितामाथि प्रश्न उठेका छन्, उनीहरुको विश्वसनियतामाथि प्रश्न उठेको छ । छिटो सूचना दिने नाममा कतिपय अवस्थामा सरकारी सञ्चारमाध्यम र मूल धारका मिडियाले पनि गलत सूचना दिने गर्दा मिडियामाथि अविश्वास बढ्छ । यद्यपि नेपालको पत्रकारिता राम्रो छ, यसबाट हामीले सिक्नुपर्छ, ’उहाँले भन्नुभयो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका क्याम्पस प्रमुख दयानिधि गौतमले वेद र बुद्ध नेपाल र भारत दुवै देशका साझा सम्पदा भएकाले दुई देशबीचको सम्बन्ध अरु देशसँगको भन्दा बेग्लै महत्वको रहेको बताउनुभयो । सूचना प्रविधिको तीव्र विकाससँगै एआईको युगमा आइसक्दा नयाँ वेद र नयाँ बुद्ध जन्माउन सक्ने कि नसक्ने चुनौति थपिएको उहाँले बताउनुभयो । यसमा दुबै देशको साझा प्रयत्न र सहकार्य आवश्यक छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij