२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा बुटवल प्रथम

मंगलवार , बैशाख १४, २०७८

बुटवल, १४ वैशाख ।
जिल्लास्तरीय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा बुटवल उपमहानगरपालिका रुपन्देहीमा प्रथम भएको छ । संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालय मातहत जिल्ला खेलकुद विकास समितिको समन्वयमा उक्त प्रतियोगिता भएको हो ।

हालै भएको प्रतियोगितामा रुपन्देहीका १६ पालिकाहरुलाई पछि पार्दै बुटवल उपमहानगर प्रथम भएको हो । बुटवल उपमहानगरले १० स्वर्ण, १२ रजत र १४ काश्य प्राप्त गरेको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिंह थापाले जानकारी दिए । 

उक्त प्रतियोगितामा एथेलेटिक्स, कबड्डी, भलिबल, कराँते र तेक्वान्दोका अलगअलग समूहमा प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा तिलोत्तमा नगरपालिका द्वितीय र कञ्चन गाउँपालिका तृतीय भएको जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख थापाले बताए । उनका अनुसार तिलोत्तमाले १० स्वर्ण, ८ कास्य र ८ रजत, कञ्चन गाउँपालिकाले ६ स्वर्णप्राप्त गरेका थिए । 

पालिका स्तरमा भएका प्रतियोगिताबाट छनौट भएकाहरुलाई जिल्लास्तरको प्रतिष्पर्धामा सहभागी गराइएको थियो । अन्तरपालिका स्तरको जिल्ला स्तरीय प्रतियोगिताको आयोजना नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय मातहत रहेको जिल्ला खेलकुद विकास समितिले गरेको हो । यसअघि विद्यालयस्तरमा हुने प्रतियोगिता यसपटक देखि पालिकास्तरमा भएको हो । 

बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले खेलकुदलाई पनि समृद्धिको एउटा आधारमा रुपमा लिएको भन्दै सोही अनुसार पूर्वाधार विकास देखि खेलाडी उत्पादनसम्मका काममा योजना बनाइएको बताए । उनले खेलकुदको बहुआयामिक विकासका लागि उपमहानगरले निजी क्षेत्रसंग समेत सहकार्यका कार्यक्रम सञ्चालन गरेको बताए । 

जिल्ला प्रथम हुन सफल खेलाडी, प्रशिक्षक, अफिसियल, सहभागी विद्यालय तथा खेलप्रेमी सबैलाई आभार प्रकट गर्दै प्रमुख सुवेदीले पदक प्राप्त गर्ने खेलाडी तथा प्रशिक्षकहरुलाई समय अनुकुल मिलाएर सम्मान गरिने पनि जानकारी दिए । Champions (3).jpg

उमेर समुहका खेलाडीलाई प्लेटफर्मको आधारका रुपमा पालिकास्तरमा भएका प्रतियोगिताबाट उत्कृष्ट भएकाहरु जिल्लास्तरमा भएको अन्तरपालिकाको प्रतियोगितामा सहभागि गराएको र उनीहरुबाट उत्कृष्ट नतिजा प्राप्त भएको बुटवल नगर खेलकुद विकास समतिका सदस्य तथा खेलाडीका प्रशिक्षक उमेश थापाले बताए ।

खुला व्यायामशालाले थप हौसला बढाउने

बुटवल उपमहानगरपालिकामा खुला व्यायामशालाको अवधारणा साकार हुने चरणमा छ । यहाँका सार्वजनिक पार्कहरुमा खुला व्यायामशाला बनाउने अभियान अन्तर्गत विभिन्न पार्कहरुमा व्यायामशाला बनेको उपमहानगरको नगर खेलकुद विकास समितिले जनाएको छ । 

उपमहानगरका १९ वटै वडाहरुमा प्राविधिक अध्यय्नका काम पूरा भइसकेको र कतिपय वडामा व्यायामशाला निर्माण भइसकेको नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दबहादुर काउचाले बताए । पार्कहरुमा खुला व्यायामशालाको अवधारणा मुलुकमै नमुना रहेको उनको दावी छ ।

पार्कहरुलाई व्यवस्थित गर्दै व्यायाम गर्ने उपकरणहरु जडान गरिने र स्याहार सुस्याहारका लागि पालैपालो स्वयंसेवक राखिनेछ । सार्वजनिक पार्कहरुलाई व्यवस्थित गर्ने र त्यहाँ निशुल्क रुपमा व्यायाम गर्ने व्यवस्था मिलाउने भन्दै उपमहानगरले पहिलो चरणमा यो कामका लागि २० लाख बजेट बिनियोजन गरेको थियो । नगरमा रहेका मैदानहरुको स्तरोन्नती र संरक्षणको काम समेत अगाडि बढाइएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।