बुधवार , पौष ९, २०८२
काठमाडौं, ९ पुस । अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागरको अन्तर्राष्ट्रिय जलक्षेत्रमा लागुऔषध ओसारपसार गरिरहेको आशंका गरिएको एउटा ‘लो–प्रोफाइल’ (पहिचान लुकाइएको) डुङ्गालाई डुबाइदिएको छ ।
जसमा एक पुरुषको मृत्यु भएको अमेरिकी दक्षिणी कमाण्डले जनाएको छ । अमेरिकी रक्षामन्त्री पिट हेगसेथको निर्देशनमा, अमेरिकी संयुक्त कार्यदल ‘सदर्न स्पियर’ ले अन्तर्राष्ट्रिय जलक्षेत्रमा आतंकवादी संगठनहरूद्वारा सञ्चालित उक्त डुङ्गामा घातक काइनेटिक आक्रमण (सशस्त्र प्रहार) गरेको कमाण्डले जानकारी दिएको छ ।
पोस्टमा उल्लेख भएअनुसार गुप्तचर सूचनाले उक्त डुङ्गा पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध ओसारपसारका ज्ञात मार्गहरू हुँदै गइरहेको र तस्करी कार्यमा संलग्न रहेको पुष्टि गरेको थियो । साथै आक्रमणमा एक पुरुष नार्को–टेररिस्ट (लागुऔषध आतंकवादी) मारिएको बताइएको छ ।
सोमवारसम्मको तथ्याङ्कअनुसार पेन्टागनले सेप्टेम्बरको सुरुदेखि हालसम्म क्यारेबियन र पूर्वी प्रशान्त महासागरमा २९ भन्दा बढी शंकास्पद लागुऔषध डुङ्गाहरू डुबाइसकेको छ । जसमा सवार कम्तीमा १०५ जनाको मृत्यु भएको छ । करिव चार महिनादेखि अमेरिकाले क्यारेबियन क्षेत्र, विशेषगरी भेनेजुएलाको तटीय क्षेत्र नजिक उल्लेख्य सैन्य उपस्थिति कायम राखेको छ ।
अमेरिकाले यसलाई कथित रूपमा लागूऔषध ओसारपसार नियन्त्रण गर्ने उद्देश्य बताए पनि भेनेजुएलाले यसलाई काराकासमा सत्ता परिवर्तन गराउने अप्रत्यक्ष षड्यन्त्र भन्दै भत्र्सना गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij