२०८२, पौष ८ गते

Dec 23 2025 | २०८२, पौष ८ गते

दक्षिण लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीनको मृत्यु

मंगलवार , पौष ८, २०८२

  • 220
    Shares
  • 220
    Shares
  • काठमाडौं, ८ पुस । लेबनानका स्रोतहरूकाअनुसार दक्षिण लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको छ ।

    लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) का अनुसार आक्रमण सिदोन जिल्लाको अकतनित–कुनेइत्रा–मामारियाह सडकमा एउटा गाडीलाई लक्षित गरी गरिएको थियो । जसमा सवार तीनै जना मारिएका छन् । सार्वजनिक स्वास्थ्य मन्त्रालयको आपत्कालीन सञ्चालन केन्द्रले पनि आक्रमण र मृत्युको पुष्टि गरेको छ ।

    लेबनानी सुरक्षा स्रोतले बताएअनुसार मृतकहरू हसन इसा, अली अब्दल्लाह र मुस्तफा बल्लुत हुन् । स्रोतले उनीहरूको पार्टी सम्बद्धताबारे उल्लेख गर्न अस्वीकार गरेको छ ।

    त्यसअघि नै इजरायली सेनाका प्रवक्ताले विज्ञप्ति जारी गर्दै इजरायल रक्षा बल (आईडीएफ) ले दक्षिण लेबनानको सिदोन क्षेत्रमा हिजबुल्लाहका केही आतङ्ककारीलाई लक्षित गरी आक्रमण गरेको बताएका थिए ।

    हिजबुल्लाह र इजरायलबीच सन् २०२४ नोभेम्बर २७ देखि युद्धविराम सम्झौता लागू भएको छ । सम्झौताका बाबजुद इजरायलले लेबनानमा कहिलेकाहीँ आक्रमण जारी राखेको छ ।

    ती आक्रमणहरू हिजबुल्लाहका खतराहरू नष्ट गर्न लक्षित भएको दाबी गर्दै आएको छ । यो महिनाको शुरुमा दुवै देशबीच दक्षिण लेबनानको नाकौरामा पहिलो प्रत्यक्ष वार्ता भएको थियो । जसलाई इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायल र लेबनानबीच सम्बन्ध र आर्थिक सहयोगको आधार तयार पार्ने पहिलो प्रयास भनेका थिए ।

    गत शुक्रवार पनि दुवै पक्षबीच सुरक्षा संवाद भएको थियो । जसमा हिजबुल्लाहको निरस्त्रीकरण र दक्षिणी सीमा गाउँहरूमा बासिन्दाहरूको फिर्ती मुख्य विषय थिए ।