आइतवार , मंसिर २८, २०८२
तिलोत्तमा, २८ मंसिर । सातौं तिलोत्तमा नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८२ को उपाधि जनज्योति माध्यमिक विद्यालय तिलोत्तमा–४ डिंगरनगरले जितेको छ । जनज्योति माविले १३ स्वर्ण ११ रजत र ६ कास्य पदकसहित यस वर्षको राष्ट्रपति रनिङ्गशिल्ड जितेको हो ।
शनिबार भएको फाइनल खेलमा पशुपति मावि ८ स्वर्ण ५ रजत र ३ कास्यसहित दोस्रो र शान्ति नमुना मावि ८ स्वर्ण ३ रजत र ५ कास्यसहित तेस्रो हुन सफल भएको छ ।
नगर खेलकुद विकास समिति तिलोत्तमाका संयोजक लोक पुनको अध्यक्षता तथा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालको प्रमुख आतिथ्यता र नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव गंगाराम आचार्यको विशिष्ट आतिथ्यतामा भएको थियो ।
समापन कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले स्वास्थ्य र प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा खेलमार्फत देश चिनाउने अभियानको सुरुवात यस्तै खेलबाट हुने बताउनुभयो । उहाँले प्रतियोगितामा सहभागी विद्यालय तथा खेलाडीहरुमा धन्यवाद ज्ञापन गर्दै उत्कृष्ट हुने सबै बिद्यालयलाई बधाई ज्ञापन गर्नुभयो ।
नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव गंगाराम आचार्यले खेलको माध्यमबाट अन्तरनीहित प्रतिभा प्रस्फूटन गर्न सकिने बताउनुभयो । उहाँले नगरपालिकाले अतिरिक्त क्रियाकलापलाई समेत जोड दिँदै आएकोले खेलको विकासका लागि नगरपालिकाले योजनाबद्ध तरिकाले काम गरिरहेको बताउनुभयो । उहाँले तिलोत्तमा नगरलाई खेलकुदको हब बनाउनुपर्नेमा जोड दिनुभयो । आचार्यले खेलको विकासका लागि नगरपालिकाले समन्वयकारी भूमिकामा काम गरिरहेको बताउनुभयो ।
तिलोत्तमा–६ स्थित उमा आधारभूत बिद्यालय र नगरपालिकाको आफ्नै प्रांगणमा सञ्चालन भएको सो प्रतियोगितामा नगरभित्रका सामुदायिक र संस्थागत गरी ३६ विद्यालयहरुले प्रतिष्पर्धामा भाग लिएका थिए ।
प्रतियोगितामा ५४ विधामा खेल भएका थिए भने एथ्लेक्टिक्स, करांते, तेक्वान्दो, भलिबल, कबड्डी लगायतका खेल भएको थियो । जसमा एकसय, दुईसय, चारसय, आठसय, एक हजार पाँच सय र तीन हजार मिटरका दौड प्रतियोगिताहरु समावेश गरिएको समितिका संयोजक तथा अध्यक्ष लोक पुनले बताउनुभयो ।
त्यस्तै रिले दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट, भलिबल, कबड्डीलगायतका प्रतियोगिताहरु समेत सम्पन्न गरिएको छ ।
बिहीबारदेखि सुरु भएको खेलमा शुक्रबार प्रारम्भिक चरण तथा सेमीफाइनल राउण्ड र शनिबार एथ्लेटिक्स, भलिबल, कबड्डीतर्फका फाइनल खेलहरु सम्पन्न भएका थिए। प्रतियोगितामा सर्वोत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरु जिल्लाका लागि छनोट गरिने र जिल्ला हुँदै प्रदेश र केन्द्रमा समेत स्थान दिइने तिलोत्तमा नगरपालिकाले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij