शनिवार , मंसिर २७, २०८२
नेपालको पर्यटन उद्योग यसको अर्थतन्त्र, साँस्कृतिक पहिचान र अन्तर्राष्ट्रिय सम्बद्धताका लागि अत्यन्त महत्वपूर्ण क्षेत्र हो । राजनीतिक परिवर्तन, महामारी, भूकम्प जस्ता घटनाले समय–समयमा असर पारे पनि नेपालमा प्राकृतिक तथा सांस्कृतिक स्रोत पर्याप्त छन् । रणनीतिक, पूर्वाधारमूलक तथा प्रवद्र्धनात्मक सुधारद्वारा नेपाललाई विश्वको अग्रणी पर्यटन गन्तव्य बनाउने क्षमता अत्यधिक छ । समग्र नेपालमा रहेको पर्यटन व्यवसायको असीमितताहरुलाई समेटी विस्तृत आलेख तयार पार्नुभन्दा पनि लुम्बिनी प्रदेशमा रहेको पर्यटनको विभिन्न सम्भावना एवम् चुनौतीहरुलाई हाल मौजुद रहेको परिस्थितिहरुको परिप्रेक्ष्यमा सम्बोधन गर्ने प्रयास यस लेखमा गरिएको छ ।
नेपालको राष्ट्रिय पहिचानकै एक आधारस्तम्भ बनेको लुम्बिनी प्रदेश आज धार्मिक, साँस्कृतिक, प्राकृतिक र ऐतिहासिक विविधताले भरिपूर्ण पर्यटन–गन्तव्यको रूपमा विकसित हुँदैछ । विश्वलाई शान्तिको सन्देश दिने सिद्धार्थ गौतमबुद्धको जन्मभूमि लुम्बिनी यहाँको पर्यटन संरचना र प्रवाहको मुख्य केन्द्रबिन्दु बनेको छ । तथापी प्रदेशमा लुम्बिनीबाहेक पनि पर्यटनको अथाह सम्भावना रहेको अनेकौ स्थलहरु विद्यमान छन् ।
यी अथाह सम्भावनाहरुको समुचित परिचालनका लागि लुम्बिनी प्रदेशका सरोकारवालाहरूले पर्यटन क्षेत्रलाई आकर्षक बनाउन र समयानुकुल विकाश गर्दै लैजानका निम्ति पर्यटन क्षेत्रलाई प्रचलित वृहद सैद्धान्तिक अवधारणाहरुलाई आम जनसमुदायको भावना, पर्यटकहरुको चाहना एवम् स्थापित मान्यताहरुसँग हाते–मालो गर्दै जोडेर लैजाँदा उपयुक्त हुने देखिन्छ । पर्यटन व्यवसायबाट प्रत्यक्ष लाभ लिनेहरु तथा अप्रत्यक्ष तवरले सबैका लागि लाभदायक बन्न सक्ने सन्दर्भहरुलाई यस लेखमा समावेश गर्ने जमर्को गर्दै लुम्बिनी प्रदेशको समूल पर्यटनको विद्यमान सम्भावनाहरु जस्तै, ऐतिहासिक धरोहरहरु, धार्मिक–साँस्कृतिक–सामाजिक मुल्य–मान्यताहरुको संरक्षण एवम् सम्बर्धन गर्दै पर्यटन व्यवसायलाई यस प्रदेशको आर्थिक विकासको एक प्रमुख मेरुदण्डको रुपमा स्थापित गर्न सकियोस्, भन्ने मनसाय राखी यो लेख तयार गरिएको छ । तसर्थ, पर्यटनलाई विभिन्न स्थापित राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सन्दर्भहरुसँग जोडेर निम्नानुसार संक्षेपमा व्याख्या गरिएको छ ।
१. पर्यटन सामाजिक परिघटना (Social Phenomenon) को रूपमा
– पर्यटन केवल यात्रा मात्र होइन, मानिसको विश्राम, अन्वेषण, साँस्कृतिक आदान–प्रदान र सधैको दैनिकीबाट केही समयका लागि भए पनि मुक्त हुने चाहनासँग जोडिएको हुन्छ ।
– एगकज–एगिि त्जभयचथ अनुसार मानिसहरू आन्तरिक कारण (तनाव, जिज्ञासा, पलायन) बाट राहत पाउन र बाह्य आकर्षणहरु (समुन्द्री किनारा, नदी–ताल–तलैया विहार, सम्पदा, पर्व, मसाज पार्लर, स्पा, आदि) ले आकर्षित हुने गर्दछन् ।
२. पर्यटन आर्थिक क्रियाकलाप (Economic Activity) को रूपमा
– पर्यटन सेवा–आधारित अर्थतन्त्रको हिस्सा हो, जसले मुलुकमा आम्दानीको परिचालन, रोजगारीका अवसरहरुको निर्माण र स्वदेशी एवम् वैदेशिक मुद्रा भित्र्याउने कार्य गर्दछ ।
– अर्थशास्त्रीय दृष्टिले पर्यटन माग–आपूर्ति प्रणाली हो ।
– माग पक्ष : पर्यटकका प्रेरणा, खर्च र रुचीहरू ।
– आपूर्ति पक्ष : गन्तव्य, आकर्षण, आतिथ्य सेवा र पूर्वाधार ।
३. पर्यटन भौगोलिक प्रणाली (Geographical System) को रूपमा
भौगोलिक दृष्टिले (जस्तै Leiper को पर्यटन प्रणाली) पर्यटन तीन क्षेत्रबीचको अन्तरक्रिया हो ः
– Generating Region : जहाँबाट पर्यटक आउँछन् ।
– Transit Region : मार्ग र यातायात केन्द्रहरू ।
– Destination Region : जहाँ अनुभव प्राप्त हुन्छ ।
यसले पर्यटनले कसरी स्थानहरूलाई विश्वव्यापी रूपमा जोड्छ भन्ने देखाउँछ ।
४. पर्यटन मनोवैज्ञानिक अनुभव (Psychological Experience) को रूपमा
मनोवैज्ञानिक दृष्टिले पर्यटन प्रेरणा, धारणा र सन्तुष्टिसँग सम्बन्धित हुन्छ।
MaslowÚs hierarchy of needs: आधारभूत आवश्यकतापछि मानिसहरू फुर्सद, अपनत्व, आत्म–विकास र नयाँ अनुभवको खोजीको यात्रामा निस्कन्छन् ।
५. पर्यटन साँस्कृतिक आदान–प्रदान (Cultural Exchange) को रूपमा
– मानवशास्त्रीय र समाजशास्त्रीय दृष्टिकोणले पर्यटनलाई अतिथि–अतिथि सम्बन्धको रूपमा बुझ्छ ।
– Authenticity (MacCannell) : पर्यटक ‘साँचो’ साँस्कृतिक अनुभव खोज्छन् । तर, अधिकांश बनावटी वा प्रस्तुत गरिएका (staged/commodified) अनुभव पाउँछन् । तर, बनावटी भन्दा पनि वास्तविकताको नजिक, यथार्थ तथा नागरिकहरुको दैनिकी एवम् जीवनका उतार चढावहरुलाई अनुभव गर्न चाहने अवसरहरुको व्यवस्थापन हुनेगरी प्रस्तुतीकरण गरिनुपर्दछ ।
– DoxeyÚs Irridex Model: पर्यटन बढेसँगै स्थानीय बासिन्दाको दृष्टिकोण पहिले स्वागत गर्ने हुने, तर कालान्तरमा असन्तोषतर्फ जान सक्ने भएकोले यसतर्फ सचेत हुनुपर्दछ ।
६. पर्यटन प्रणालीगत अन्तरक्रिया (Systemic Interaction) को रूपमा
आधुनिक दृष्टिकोण अनुसार पर्यटनलाई बहुआयामिक प्रणालीको रूपमा बुझिन्छ, जसमा ः
– पर्यटक,
– गन्तव्य वातावरण,
– उद्योगका सरोकारवालाहरू (होटल, यातायात, एजेन्सी),
– स्थानीय समुदाय,
– सरकार र नीतिगत संरचना–सबै आपसी सम्बन्धमा बाँधिएका हुन्छन् ।
माथि उल्लेख गरिएका पर्यटनका सैद्वान्तिक अवधारणाहरुको सन्दर्भहरुलाई लिएर लुम्बिनी प्रदेशका प्रमुख पर्यटन क्षेत्रहरुलाई निम्नानुसार उल्लेख गरिएको छ ।
१. ऐतिहासिक, धार्मिकता एवम् भगवान बुद्धप्रतिको आकर्षण
लुम्बिनी प्रदेशमा आउने पर्यटकहरूको सबैभन्दा ठूलो आकर्षण बुद्ध जन्मस्थल भएको र विश्व सम्पदा सूचीमा लुम्बिनी सूचीकृत भएकाले यहाँ अन्तर्राष्ट्रियस्तरमा ध्यान तान्ने क्षमता स्वाभाविक रूपमा आसीमित छ । यसमा विशेष गरी,
– माया देवी मन्दिर
– अशोक स्तम्भ
– पवित्र उद्यान
– अन्तर्राष्ट्रिय मन्दिर क्षेत्र (थाइल्याण्ड, म्यान्मार, चीन, जापान, जर्मनी, क्याम्बोडिया आदि देशबाट निर्माण गरिएका गुम्बा/मन्दिरहरू) ।
यी सम्पदाहरूले लुम्बिनीलाई विश्वव्यापी धार्मिक–पर्यटनको केन्द्रीय हब बनाएका छन् । पछिल्ला वर्षहरूमा नेपाली आन्तरिक पर्यटकहरुका साथै दक्षिण एसियाली मुलुकहरुका पर्यटकहरु, विशेष गरी श्रीलंका, भारत र भुटानबाट आगमन उल्लेख्य रूपमा बढेको देखिन्छ ।
असीमित क्षमता हुँदाहुँदै पनि यसको उपयोग र व्यवस्थापन आज पनि चुनौती र अवसरको दोधारमा उभिएको देखिन्छ ।
२. यस क्षेत्रका स्थापित एवम् अन्य उदाउँदो पर्यटकीय गन्तव्यहरू
– कपिलवस्तुको–तिलौराकोट–बुद्धले बाल्यकाल बिताएको ऐतिहासिक पुरातात्विक क्षेत्र एवम् जगदीशपुर ताल जो जलचरहरुको संरक्षण हुने एक प्रशिद्ध एवम् प्रभावशाली क्षेत्र
– देवदह–बुद्धको मावली, मायादेवी र गौतम परिवारको मूल घर
– रम्भा–पाल्पा–पहाडी भू–दृश्य, इतिहास र संस्कृतिको संगम
– बुटवल क्षेत्र–सिद्धबाबा, जितगढी जस्ता ऐतिहासिक एवम् हालै विकास गरिएका नयाँ पर्यटकीय स्थलहरु साथै दुईवटा केबलकार स्टेशनहरुको निर्माण एवम् धार्मिक–आन्तरिक एवम् बाह्य पर्यटकहरुका लागि आकर्षक स्थल
– तराई एवम् पहाडी जिल्लाहरुमा रहेका धार्मिकस्थलहरु–मर्चवारको मचर्वारी माई, अर्घाखाँची जिल्लाको सुपा देउराली, बाँके जिल्लाको बागेश्वरी मन्दिर लगायतका धार्मिक स्थलहरु
– मधेश क्षेत्रका थारु साँस्कृतिक ग्राम–जीवित संस्कृतिको परिचय ।
लुम्बिनी प्रदेशमा क्रमश ः विकसित हुँदै गइरहेको पूर्वाधारहरुको विस्तारसँगै प्रदेशमा धार्मिकता मात्र नभइ प्राकृतिक वा साहसिक पर्यटनका नयाँ गन्तव्यहरू पनि उभिन थालेका छन् । यी गन्तव्यहरूमा आवश्यक पूर्वाधार विस्तार भइरहे पनि प्रचार–प्रसार र समन्वित पर्यटन–व्यवस्थापन अझै कमजोर रहेको एउटा यथार्थ हो ।
३. पूर्वाधार र पहुँचको अवस्था ः सुधार हुँदै तर, अपर्याप्त
लुम्बिनी प्रदेशमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (GBIA) को सञ्चालनले अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्ने एवम् राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय भएका एवम् थप लगानी हुने अपेक्षा बढाएको छ । तर,
– नियमित अन्तर्राष्ट्रिय उडानको अभाव
– होटल–रिसोर्टमा गुणस्तरका भिन्नता
उपयुक्त र प्रक्रियागत यातायात साधनहरुको व्यवस्थाको अभाव एवम् गाइड, साइनबोर्ड, सूचना–तन्त्रको कमजोरी लगायतका कारणहरुले उपलब्ध सम्भावनाहरुको पूर्ण रुपमा उपयोग गर्न सकिएको छैन । यद्यपी, सडक पूर्वाधार धेरै ठाउँमा क्रमश ः सुधारोन्मुख छ । तर, सीमावर्ती बिन्दु (बेलहिया), लुम्बिनी–कपिलवस्तु–देवदह जोड्ने मार्गहरूमा यातायात व्यवस्थापन अझ व्यवस्थित हुन बाँकी छ
४. पर्यटक आगमनको प्रवृत्ति
पछिल्ला वर्षमा—विशेष गरी महामारीपछिको समय—लुम्बिनी प्रदेशमा अधिकांश अवस्थामा आन्तरिक पर्यटक तीव्र रूपमा बढेका छन् । यसको कारणमा,
– धार्मिक विश्वास
– छोटो दूरी
– सामाजिक मिडियामा प्रचार
यी कारणले स्थानीय/घरेलु पर्यटकको संख्या उल्लेखनीय भएको छ । तर विदेशी पर्यटकको आगमन भने अन्तर्राष्ट्रिय उडान, राजनीतिक स्थिरता, र विश्वव्यापी यात्रा–प्रवृत्तिमा निर्भर रहने भएकाले उतार–चढाव देखिन्छ ।
५. चुनौतीहरू
लुम्बिनी प्रदेशमा पर्यटन विकासका मुख्य चुनौतीहरू यसप्रकार छन्–
– समन्वय अभाव ः स्थानीय सरकार, प्रदेश सरकार र संघीय निकायबीच एकीकृत योजना नहुँदा विकास ढिला ।
– गुणस्तरीय पर्यटन सेवा अभाव ः पर्यटक मैत्रीय सूचना–प्रणाली, व्यवसायिक गाइड, साफ–सफाइ, पार्किङ, अपांगता–मैत्री पूर्वाधार अभाव ।
– संरक्षण वा विकास ः लुम्बिनी पवित्र उद्यानको मौलिकता जोगाउँदै आधुनिक आवश्यकताहरू मिलाउन कठिनाइ ।
– पुरातात्विक स्थलहरुको संरक्षण ः तिलौराकोट, देवदह लगायतका स्थलहरूमा अनुसन्धान र संरक्षण कार्य पर्याप्त छैन ।
६. अवसरहरू
– धार्मिक पर्यटनको अन्तर्राष्ट्रिय ब्राण्डिङ ।
– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमार्फत ‘बुद्ध सर्किट’ विकास — लुम्बिनी, बोधगया, सारनाथ, कुशीनगर जोडेर दक्षिण–एशियाली पर्यटन मार्ग निर्माण ।
– थारु, पहाडी, मधेशी साँस्कृतिक पर्यटनको ठूलो सम्भावना ।
– सहर–पर्यटन–बुटवल, भैरहवा, तौलिहवा जस्ता सहरमा MICE (Meetings, Incentives, Conferences and Exhibitions) पर्यटनको विकास गर्ने । यस्तो पर्यटनले बैठकहरू, प्रोत्साहनहरू, सम्मेलनहरू र प्रदर्शनीहरूको आयोजन गरेवापतको पर्यटन, जसले एक विशेष प्रकारको व्यापार पर्यटनलाई बुझाउँछ । यस अन्तर्गत, संगठित समूहहरू, सामान्यतया योजनाबद्ध रूपमा, व्यवसायिक वा नेटवर्किङ उद्देश्यका लागि ठुलो संख्यामा पाहुनाहरुलाई निम्तो गर्ने गरी सभा–सम्मेलनहरुको आयोजना गरिन्छ ।
– इको–टुरिज्म र गाउँ पर्यटन–पाल्पा, अर्घाखाँची, गुल्मीका पहाडी एवं तराईका गाउँहरूमा होम–स्टेको विकास एवम् प्रवद्र्धन गर्ने ।
– रेल–वे पर्यटनका लागि–स्वीटजरलेन्ड मोडेलमा तराईबाट नेपालको ७ वटा उच्च हिमाली चुचुरामध्ये कम्तिमा एकको फेदलाई छुने गरी रेल–यात्रा सञ्चालन गर्ने । यसमा ठुलो लगानीको आवश्यकता जुटाउनुपर्ने भएकोले रेल सञ्चालनका बाटोमा पर्ने जिल्ला एवम् पालिकाहरुका साथै निजी लगानीकर्ताहरुलाई समेट्ने गरी वातावरण तयार गर्ने । यसबाट नेपालको तराईदेखि पहाड हँुदै हिमालको अद्भुद दृष्यावलोकनको माध्यमद्वारा ‘टप अफ ड वल्र्ड थ्रु ट्रेन’को अनौठो अनुभूति गराउदै पर्यटनका साथै माल–सामानको ढुवानी हुने गरी नौलो–सोचका साथै रेल–सेवाको विकास गर्न सकिन्छ ।
७. समग्र मूल्यांकन
पर्यटनको सैद्वान्तिक अवधारणाले सामाजिक, आर्थिक, भौगोलिक, मनोवैज्ञानिक र सांस्कृतिक पक्षलाई जोडेर हेर्छ । यसले पर्यटनलाई मानिस, स्थान र गतिविधिबीचको बहु–आयामिक अन्तरक्रिया प्रणालीका रूपमा बुझाउँछ ।
समग्रमा हेर्दा लुम्बिनी प्रदेश पर्यटनको अवस्था उठानतर्फ अघि बढेको, तर अझै पूर्ण क्षमतामा नपुगेको अवस्था छ । विश्वका करोडौं मानिसहरूलाई आध्यात्मिक महत्वका कारण लुम्बिनी आकर्षणको केन्द्र बन्न सक्छ । तर, त्यो लक्ष्यसम्म पुग्न पूर्वाधार, सेवा, संरक्षण, ब्राण्डिङ र नीति–समन्वय सबै क्षेत्रमा सन्तुलित र दिगो सुधार आवश्यक देखिन्छ ।
(लेखक पौड्याल सामाजिक अभियन्ता एवम् पर्यटन व्यवसायी हुनुहुन्छ)
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij