शुक्रवार , मंसिर १२, २०८२
काठमाडौं, १२ मंसिर । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिलेको उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर आएको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा पत्रकार दीपेन्द्र शर्माको युद्ध पत्रकारिता पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सशस्त्र द्वन्द्वताका पत्रकारिता गर्न धेरै कठिनाइहरु रहेको पनि स्मरण गर्नुभयो ।
आफूले भारतमा रहेर नेपालको क्रान्तिका लागि पत्रकारिता गरेको बताउनु भयो । उहाँले अहिले सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा टेकेर अघि बढ्न प्रेरित गरिरहेको बताउनु भयो ।
युद्धताका मायाप्रसाद शर्मा जाजरकोटको जिल्ला इन्चार्ज रहनुभएको र उक्त जिल्लामा आफूहरु लुक्नका लागि एक क्वीन्टलको बम खसालेको खण्डमा पनि क्षति नहुने गरी अण्डरग्राउण्ड हल बनाएर बसेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यहाँ नेपालमा वैधानिक ढंगले चलेका पत्रपत्रिका र पत्रकारलाई पनि ठूलो यातना दिइयो । दमन भएको थियो । यो सबैको वियोगबाट प्राप्त भएको नेपालको गणतन्त्र, संघीयता यि सबै विषयमा हामी आफूलाई यिनै उपलब्धीहरुको जगमा टेकेर अघि बढ्न प्रेरित गरिरहेको हुन्छ ।
त्यो प्रेरणा हामीले लिइरहनुपर्छ । त्यो क्रममा धेरै साथीहरुले ज्यान गुमाउनु भयो । राजनीतिक जीवनको यात्रामा राजनीतिक जिम्मेवारी लिएपनि दण्डपाणि न्यौपाने उहाँ पनि बेपत्ता हुनुभयो ।
हामी पारसमणि भन्थ्यौँ त्यो बेलामा अहिले मायाप्रसाद भनेर चिन्नुहुन्छ । उहाँ इन्चार्ज हुनुहुन्थ्यो त्यो जिल्लामा । त्यो बेलामा एक क्वीन्टलको बम माथिबाट खसाले पनि क्षति नहुने खालको अण्डरग्राउण्ड हल बनाएका थियौँ ।’
अध्यक्ष दाहालले पुस्तक युद्ध पत्रकारिता युद्धको ऐना भएको जिकिर गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij