शुक्रवार , मंसिर १२, २०८२
काठमाडौं, १२ मंसिर । नवगठित उज्यालो नेपाल पार्टीले घोषणा सभा आयोजना गर्ने भएको छ ।
शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंमा आगामी मंसिर १७ गते बुधवार सो सभा आयोजना गर्ने जानकारी गराइएको हो । काठमाडौंको प्रज्ञा भवनमा सो सभा आयोजना गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. राजु थापाले बताउनु भयो ।
घोषणा सभाको प्रमुख वक्ता ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङ रहनुहुनेछ । घोषणामा सभामा पार्टीको दृष्टि, मूल ध्येय र विस्तृत घोषणा पत्र २०८२ औपचारिक रुपमा सार्वजनिक गरिने पनि प्रवक्ता थापाले बताउनु भयो ।
उहाँले भन्नुभयो,‘घोषणा सभा २०८२ मंसिर १७ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवन कमलादीमा आयोजना गरिनेछ । कार्यक्रममा वृहत जनसहभागिता रहने अपेक्षा गरिएको छ ।
सुरक्षा व्यवस्था र भीड व्यवस्थापनको तयारीको काम लगभग अन्तिम चरणमा पुगेका छन । कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारको माननीयमन्त्री कुलमान घिसिङ रहनुहुनेछ ।
सो अवसरमा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय र विस्तृत घोषणा पत्र २०८२ औपचारिक रुपमा सार्वजनिक गरिनेछ । जसमा पार्टीको सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्ययोजनालाई स्पष्ट रुपमा प्रश्तुत गरिनेछ । सार्वजनिक गरिनेछ ।’
पत्रकार सम्मेलनमा नेताहरुले सो पार्टीले लोकतान्त्रिक समाजवादलाई अंगिकार गरेर अघि बढ्ने बताएका छन् । प्रवक्ता थापाले सबै पार्टीको राम्रा पक्षलाई आत्मासात गरेर अघि बढ्ने योजना आफूहरुको रहेको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij