२०८२, मंसिर १२ गते

Nov 28 2025 | २०८२, मंसिर १२ गते

रोहिणीमा जसपा नेपालद्वारा विरोध कार्यक्रम

शुक्रवार , मंसिर १२, २०८२

  • 118
    Shares
  • 118
    Shares
  • भैरहवा, १२ मंसिर । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले विरोध कार्यक्रम गरेको छ । जसपा नेपाल रोहिणी गाउँपालिका समितिको आयोजनामा रोहिणी–३ स्थित धकधई चोकमा कार्यक्रम गरिएको हो ।

    पार्टीले घोषणा गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत बिहीबार धकधईमा विरोध प्रदर्शन गरिएको जसपा नेपाल रोहिणी गाउँपालिकाका अध्यक्ष घनश्याम सिंह क्षेत्रीले बताउनुभयो ।

    कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य कैलाश गुरुङले जसपा नेपालले उठाएका मागहरु सम्बोधन नभए लाखौं जनता सडकमा आउने चेतावनी दिनुभयो । केन्द्रीय सदस्य रीता यादवले सबैको हकअधिकारका लागि लड्ने एक मात्र पार्टी जसपा नेपाल भएकाले पार्टीले सुरु गरेको आन्दोलनमा सबैलाई सहभागी हुन आग्रह गर्नुभयो ।

    केन्द्रीय सदस्य निलम यादवले नेपालको संविधान २०७२ त्रुटीपूर्ण रहेकोले संविधान संशोधन÷पुर्नलेखन आवश्यक रहेको बताउनुभयो ।

    जसपा नेपालका केन्द्रीय सदस्य विद्या प्रसाद यादवले जसपा नेपालले सम्पूर्ण जातजाति तथा समुदायको हकहितका लागि आवाज उठाउँदै आएको बताउनुभयो । रोहिणी गाउँपालिकाको अध्यक्ष समेत रहनुभएका यादवले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र स्थानीय तह हुनुपने माग राख्नुभयो । पार्टीको लुम्बिनी प्रदेश अध्यक्ष राम अवतार यादवले जेनजी (युवा) पुस्ताको जायज मागप्रति जसपा नेपालको ऐक्यवद्धता रहेको बताउनुभयो ।

    जसपा नेपाल रुपन्देहीका जिल्ला उपाध्यक्ष कलामुद्दीन खाँको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    संविधान संशोधन, प्रदेशहरुलाई अधिकारसम्पन्न बनाउनुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने, जेनजी (युवा पुस्ता) ले आन्दोलनका दौरान उठाएका माग र मुद्दालाई सरकारले सम्बोधन गर्नुपर्ने, विगतका आन्दोलनको बेला गठन गरिएका न्यायीक छानबीन आयोगहरुको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, किसानहरुलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउनुपर्ने, सिंचाई, मल खाद, बिउबिजन, किटनाशक औषधि र कृषि बजारको व्यवस्था गरिनुपर्ने लगायतका २८ बुँदे माग राख्दै जसपा नेपालले आन्दोलनका कार्यक्रम सुरु गरेको छ । सोहीअनुसार बुधबार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाइएको थियो ।