२०८२, मंसिर ११ गते

Nov 27 2025 | २०८२, मंसिर ११ गते

केशबहादुरको कथा

बिहिवार , मंसिर ११, २०८२

  • 412
    Shares
  • 412
    Shares
  • ३४ वर्षका केशबहादुर सारुले देश–विदेशमा कामको खोजी गर्दै धेरै वर्ष बिताए । गाउँकै कर्णधार माध्यमिक विद्यालयबाट वि.सं. २०६४ सालमा कक्षा १० पास गरेपछि उनी हतारमा कतार पुगे । क्यान्टीनमा काम गरे । दुःख, सुख आफूले परदेश आउँदा खर्चिएको पैसा उठाए अनि थोरै पैसा कमाएपछि आफ्नै गाउँ, माथागढी गाउँपालिका–२, रुप्सेको बोक्सादी फर्किए । यो गाउँ, पाल्पाको सदरमुकाम तानसेनदेखि पूर्व–दक्षिण भेगमा पर्दछ ।

    घरको माइलो छोरो केशबहादुरलाई पढाइमा अघि बढ्न न घरायसी आर्थिक अवस्थाले साथ दियो न रहरले नै उद्वेलित बनायो । 
    गाउँ फर्केपछि जीविकोपार्जनका लागि कृषि, पशुपालन, कुटानी मिल, कुटे पसल थाले । तैपनि भनेजति प्रगति असम्भव भयो अनि टाप कसे फेरि साउदी अरबतिर । उता पुगेपछि गार्डेनमा मालीको काम थाले । बोटबिरुवा स्याहारसुसार गर्न सिंचाई गर्ने, गोडमेल गर्ने, मल हाल्ने काम गरेपछि धेरै कुरा सिके पनि । करिब तीन वर्षको बसाइलाई त्यागेर पुनः आफ्नै गाउँ बोक्सादी फर्के ।

    यतिबेला उनले माउ बंगुर पालेका छन् । खोरभरी बाख्रा छन् । सात रोपनी पाखोबारीमा खुर्सानी फलाएका छन् । टमाटर, गोबी, बन्दा फलाएर मनग्य आम्दानी गरेका छन् । अदुवा पनि राम्रो उत्पादन भएको केशबहादुरले सुनाउँदै थिए ।

    जाँगरिला र पौरखी केशबहादुरको श्रम, सीप र जाँगर देखेर सामाजिक स्रोत विकास केन्द्र, पाल्पाले २५ हजार अनुदान दिएको संस्थाका अध्यक्ष राजेश श्रेष्ठले बताए । विदेशबाट फर्केर गाउँमै नमूना र उदाहरणीय अगुवा किसान बन्छु भनेपछि उनलाई संस्थाले सहयोग गरेको अध्यक्ष श्रेष्ठले सुनाए ।

    केशबहादुर यतिबेला बोक्सादी कृषि समूहका सचिव छन् । कृषिसम्बन्धि प्राविधिक ज्ञान र सहयोगका साथै बीऊबीजन प्राप्त गर्न सकिएमा राम्रो हुने जिज्ञासा राखेका केशबहादुरले जेजति सिके आफ्नै बलबूताबाट जानेका रहेछन् ।

    जेठा दाइको परिवार छुटिएर अन्यत्र बसे पनि उनीसँग आमा र भाइबुहारी बस्दा रहेछन् । कामकै चटारो र वैदेशिक रोजगारीमा लाग्दा बिहे गर्न फुर्सद नपाएका केशबहादुरलाई घरजम गर्ने रहरले गाँजेको छ । एक्लो हुँदा घरव्यवहार, कृषि कर्ममा समेत अप्ठ्यारो महसुस गरेका छन् । यतिबेला उनले गाउँमै व्यवसायिक रुपमा हाते टेक्टर र राइसमिल समेत सञ्चालन गरेका रहेछन् । 
    उनका अनुसार गाउँको उत्पादन गाउँमै बेच्ने थलोको अभावले कठिन हुँदोरहेछ । तानसेन, नयाँपाटी र कहिलेकाही रुपन्देहीको बुटवलसम्म उत्पादित सामग्री बेच्न जाँदा खर्चिलो र समयको अभाव हुने उनले सुनाए ।

    केशबहादुरजस्ता युवाहरुलाई कृषि ज्ञान, प्राविधिक सहयोग र केही अनुदान दिन सकिने हो भने उनी जस्ता थुप्रै युवाहरु देशमै स्वरोजगार भई आत्मनिर्भर गाउँ बन्न सक्थ्यो कि !