बिहिवार , मंसिर ११, २०८२
काठमाडौं, ११ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद्को प्रतिकार्य र व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखको संयोजकत्वमा मनसुन प्रतिकार्य कमाण्ड फोर्स गठन गरी सञ्चालनमा ल्याइएको बताउनुभएको छ ।
बिहीवार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दलै उहाँले यस्तो जानकारी गराउनुभएको हो । साथै बैठकमा उहाँले गत आर्थिक वर्ष २०८१÷८२ मा प्राकृतिक तथा मानवसिर्जित विपद्बाट ठूलो मानवीय र भौतिक क्षति भएको तथ्यांक समेत प्रश्तुत गर्नुभयो ।
उहाँकाअनुसार गत आर्थिक वर्षमा बाढी–पहिरो, भूकम्प, भारी वर्षा, चट्याङ, आगलागी, सर्पदंश, वन डढेलो, जंगली जनावरको आक्रमण, हावाहुरी, लेक लाग्ने घटना तथा सडक दुर्घटना गरी विभिन्न विपद्को कारण ३ हजार १ सय ५७ जनाको मृत्यु भएको छ ।
उहाँले ४८ जना बेपत्ता, ४५ हजार ९ सय ८२ जना घाइते, र १७ हजार ६ सय ३० घरपरिवार प्रभावित भएको उल्लेख गर्नुभयो । गृहमन्त्री अर्यालले मनसुनजन्य विपद्बाट मात्र कुल मानवीय क्षतिको ७५ प्रतिशत क्षति भएको बताउनु भयो ।
उहाँले आर्थिक क्षतिका दृष्टिले पनि मनसुनकै कारण कुल नोक्शानीको ७२ प्रतिशत बाढीजन्य घटनाबाट भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा प्राकृतिक तथा मानव सिर्जित विपद्का कारण कुल २ अर्ब ७५ करोड २६ लाख ८० हजार ६ सय ७४ रुपैयाँ आर्थिक क्षति भएको बताउनु भयो । उहाँले देशका ७७ वटै जिल्लामा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘गत आर्थिक वर्षमा बाढी–पहिरो तथा भूकम्प, भारी वर्षा, चट्याङ आगलागी सर्पदंश, वन डढेलो, जंगली जनावरको आक्रमण, हावाहुरी, लेक लागेर तथा सडक दुर्घटनामा परी ३ हजार १ सय ५७ जनाको मृत्यु, ४८ जना बेपत्ता, ४५ हजार ९ सय ८२ जना घाइते, १७ हजार ६ सय ३९ घरपरिवार प्रभावित र २ अर्ब ७५ करोड २६ लाख ८० हजार ६ सय ७४ रुपैयाँ बराबरको क्षति भएको तथ्यांक संकलन गरिएको छ ।
मनसुनजन्य विपद्बाट भएको मानवीय क्षतितर्फ कुल मानवीय क्षतिको ७५ प्रतिशत अर्थात सबैभन्दा बढी बाढीपहिरोबाट भएको देखिन्छ । आर्थिक क्षतिअन्तर्गत सर्वाधिक क्षति बाढीबाट भएको छ । जुन मनसुनजन्य विपद्बाट भएको कुल नोक्सानीको ७२ प्रतिशत रहेको छ ।
विपद्का घटनामा छिटो र प्रभावकारी प्रतिकार्यका लागि विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखको संयोजकत्वमा मनसुन प्रतिकार्य कमाण्ड फोर्स गठन भइ कार्य भइरहेको, गृह प्रशासन सुधार कार्ययोजना २०७८ अन्तर्गत ७७ जिल्लामा नै जिल्ला आपत्कालीन कार्य सञ्ञचालन केन्द्र स्थापना गरिएको छ ।
विस्थापितहरुदलाई प्रदान गरिने क्षतिपुर्ती तथा राहत वितरणलाई प्रभावकारी बनाउँदै राहतमा सबैको मान पहुँच स्थापित गर्नका लागि मापदण्ड तर्जुमा गरी कार्यान्वयन भइरहेको छ ।’
उहाँले जाजरकोट तथा बाजुरा भूकम्प प्रभावितलाई राहत वितरणको कार्य समेत जारी रहेको बताउनु भयो । उहाँले इलाम बाढीका प्रभावितका लागि क्षतिपूर्ति तथा अस्थायी आवास निर्माणको लागि सरकारले तदारुकताका साथ काम गरिरहेको समेत बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij