बिहिवार , मंसिर ११, २०८२
भैरहवा, ११ मंसिर । सिद्धार्थ सञ्जाल, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको माग राख्दै गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको छ । सञ्जालले गृहमन्त्री अर्याललाई भैरहवामा ज्ञापनपत्र बुझाउँदै विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्नेसहित विभिन्न माग राखेको हो ।
विमानस्थलको अध्यागमन कार्यालय पुर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने, श्रम स्वीकृति कार्यालय पूर्णरुपमा नै सुविधासम्पन्न र आधुनिक गराउनुपर्ने, गाम्का लगायत स्वास्थ्य परीक्षण कार्यालय स्थापना गरी सञ्चालन गर्नुपर्ने, भिसा सेन्टर कार्यालय भैरहवावाट दिनुपर्ने र मेनपावर कम्पनीलाई बिना झन्झट स्वीकृति दिनुपर्ने माग राखिएको सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताउनुभयो ।
त्यस्तै नेपाल सरकार मन्त्रीपरिषदबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने हवाईजहाजलाई दिने प्रतिवद्धताअनुसारको सुविधा तत्काल दिनुपर्ने, अन्तर प्रदेश आन्तरिक उडान बढाउँदै लैजानुपर्ने, भारत लगायत तेस्रो मुलुकमा अन्तर्राष्ट्रिय उडान थप गर्दै लैजानुपर्ने र नेपाल एअरलाईन्स लगायत बुद्धिष्ट देशका वजेट एअरलाईन्स भैरहवाबाट सञ्चालन गर्नुपर्ने सञ्जालको माग छ ।
त्यसै गरी वैदेशिक रोजगारमा जाने सम्पूर्ण कामदारहरुलाई भैरहवाबाट नै उडान गर्नुपर्ने, नेपाल एअरलाईन्सले टिकट विक्री खुल्ला गरी नियमित उडान भैरहवावाट सुरु गर्नुपर्ने, कार्गो सेवा सञ्चालन गर्नुपर्ने, नेपाल एअरलाईन्सको न्यारो वोडी भैरहवामै वेस गराई दैनिक अन्तर्राष्ट्रिय उडान सुचारु गर्नुपर्ने सञ्जालले माग गरेको छ ।
अध्यागमन कार्यालयबाट पर्यटकहरुलाई अनलाईन ई–भसा र डिजिटल मोबाईल बैंकिङ, क्यूआर भुक्तानी सेवा दिनुपर्ने, भुमार्ग भइ सान्दर्भिक पर्यटक भित्रिने बेलहिया नाकामा लगाइएको आरटीओ पर्यटकीय सवारीसाधन प्रदेशको कर संघीय सरकारको बजेटमार्फत् खारेज गरेता पनि बेलहिया नियमित रुपमा असुली गरिएकोले खारेज गर्न सञ्जालले अनुरोध गरेको छ ।
लुम्बिनीको समग्र पर्यटक र पर्यटन लगायत स्थानी आर्थिक, सामाजिक चलायमानका लागि दातृ राष्ट्रबाट सहयोगप्राप्त विद्युतीय सवारीसाधन लुम्बिनी विकास कोष अन्तर्गत संघीयमार्फत प्रदेश सरकारबाट हस्तान्तरण भइ हरियो पर्यटकीय प्लेटमा समेत दर्ता भएको ६ महिना हुँदा पनि नियमितरुपमा सञ्चालनमा नभएकोले अभिलम्व नियमितरुपमा सञ्चालनका लागि अनुरोध गरिएको अध्यक्ष ज्ञवालीले जानकारी दिनुभयो ।
त्यस्तै सुनचाँदीमाथि लगाइएको २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने सञ्जालको माग छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij