मंगलवार , मंसिर ९, २०८२
लुम्बिनी, ९ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालय नेपालकै एकमात्र बौद्ध विश्वविद्यालयले प्रतिष्ठित बौद्ध योगी शाङ्पा रिन्पोचेलाई स्वागत गर्दै विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
मुक्तिनाथ–चुमिग ग्यात्सा क्षेत्रहरुसँग गहिरो रूपमा सम्बद्ध शाङ्पा रिन्पोछेको जन्म नेपालको डोल्पा जिल्लाना भए पनि उहाँका अघिल्लो अवतार उन्नाइसौं शताब्दीको अन्त्यतिर भोटको ताशिल्हुनपो नजिक जन्मिएका थिए र भोट बौद्ध काग्यु परम्पराका प्रमुख १५ औं ग्याल्वा कर्मापा काक्यब दोर्जे (१८७१–१९२२) का शिष्य थिए ।
लामो ध्यान–साधनापछि रिन्पोछे हिमाली क्षेत्रमा भ्रमण गरी भोट–नेपाल सीमावर्ती भूभागमा बौद्ध धर्म पुनर्जागरणका लागि समर्पित हुनुभयो । उहाँले नेपालका हिमाली क्षेत्रहरूमा धेरै महत्वपूर्ण गुम्बाहरु पुनर्निर्माण गर्नुभयो, जसमा ताराकोट नजिकको प्रसिद्ध सन्दुल गुम्बा प्रमुख उदाहरण हो । साथै मुक्तिनाथ–छुमिग ग्यात्सा क्षेत्र नजिक उहाँले एउटा ननरी (बौद्ध ननहरूको मठ) पनि स्थापना गर्नुभएको छ । पोखरा र काठमाडौं आदि स्थानहरुमा रिन्पोछेको बौद्ध अध्ययन केन्द्रहरु रहेको छ ।
रिन्पोछेको यो भ्रमण भोट बौद्ध अध्ययन विभागका विभागाध्यक्ष डा. ङिमा शेर्पाको समन्वयमा सम्पन्न भयो । विश्वविद्यालयका स्नातक, स्नातकोत्तर तथा पीएचडी तहका कार्यक्रमहरूको प्रवद्र्धन तथा शैक्षिक साझेदारी विस्तार यसको प्रमुख उद्देश्य थियो । अन्तरक्रिया कार्यक्रम बौद्ध अध्ययन संकायका डीनको कार्यालयमा सम्पन्न भयो । कार्यक्रमको सुरुमा डीन डा. मानिक रत्न शाक्यले परम्परागत खाता अर्पण गर्दै रिन्पोछेको स्वागत गर्नुभयो ।
डा. शाक्यले विश्वविद्यालयको इतिहास र उद्देश्यबारे संक्षिप्त जानकारी दिनुभयो । क्याम्पस प्रमुख दयानिधि गौतमले Bachelor in Geshe Buddhist Studies, BA in Buddhist Studies, Bachelor in Bhot Buddhist Studies, MA in Theravada Buddhism लगायत विश्वविद्यालयका प्रमुख शैक्षिक कार्यक्रमहरूबारे विस्तृत रुपमा प्रकाश पार्नुभयो ।
त्यसै गरी इन्द्र प्रसाद काफ्लेले विश्वविद्यालयका कार्यक्रमहरूलाई हिमाली बौद्ध समुदायमा प्रचार–प्रसार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । डा. शाक्यले रिन्पोछेलाई विश्वविद्यालयका कार्यक्रमहरू आफ्ना भक्तजन र अनुयायीहरूबीच प्रवद्र्धन गरिदिन तथा छात्रवृत्ति सहयोगका लागि पनि अनुरोध गर्नुभयो ।
रिन्पोछेलाले आफ्नो आध्यात्मिक अभ्यास, कार्य तथा अनुभवबारे संक्षिप्त चर्चा गर्दै विश्वविद्यालयले बौद्ध शिक्षा प्रवद्र्धनमा गरिरहेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले विश्वविद्यालयका कार्यक्रमहरू प्रवद्र्धन गर्न सकेसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा डा. मानिक रत्न शाक्य, डा. इन्द्र प्रसाद काफ्ले, दयानिधि गौतम, डा. ङिमा शेर्पा, गेशे दोर्जे, खेन्पो, फुर्पा शेर्पा, कर्मा तामाङ, कमल थापा, नेशन श्रेष्ठ, नीरा गौतम, सविता घिमिरे, सञ्जु भण्डारी तथा भोट बौद्ध अध्ययनका अन्य शिक्षाहरु उपस्थिति थियो ।
शाङ्पा रिन्पोचेको यो भ्रमणले विश्वविद्यालयको बौद्ध शैक्षिक क्षेत्रमा अग्रणी भूमिकालाई सुदृढ गर्दै हिमाली बौद्ध गुरुहरूसँगको सम्बन्ध थप प्रगाढ बनाएको विश्वविद्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij