बिहिवार , कार्तिक २७, २०८२
काठमाडौं, २७ कार्तिक । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले आफ्नी श्रीमती रविलक्ष्मी चित्रकारमाथि भएको हमलापछि सरकारको उदासीनताप्रति आक्रोश व्यक्त गर्नुभएको छ ।
जेन–जी आन्दोलनका क्रममा उहाँको घरमा आगजनी गरी हत्या प्रयास गरिएको थियो । चार दशकभन्दा लामो समय फिजिक्सको प्राध्यापक रहनुभएकी चित्रकार गम्भीर घाइते हुनुभएको छ र अहिले अस्पतालमा उपचाररत हुनुहुन्छ ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा खनालले सरकारले चित्रकारको अवस्थाबारे एक शब्द पनि नसोधेको भन्दै प्रश्न उठाउनु भयो ।
खनालले भन्नुभयो, “सरकारले जेन–जी आन्दोलनका हत्या र घाइतेहरूको छानबिन, शहीद घोषणा र निःशुल्क उपचारको कुरा ग¥यो ।
तर प्रधानमन्त्रीको घोषणामा रविलक्ष्मी चित्रकारलाई किन बिर्सियो ? उहाँ ४० वर्ष फिजिक्स पढाउने प्राध्यापक र गृहिणी हुनुहुन्छ । जल्लादहरूले चारैतिर घेरेर घरबाट बाहिर निस्कन नदिई हत्या प्रयास गरे । अन्ततः उहाँलाई बचाइयो, तर अहिले अस्पतालमा हुनुहुन्छ । म प्रश्न गर्न चाहन्छु, उहाँ घाइते हो कि होइन ?”
उहाँले यो प्रश्न व्यक्तिगत मात्र नभएको बताउनु भयो । चार दशक देशलाई योगदान दिने प्राध्यापकको उपचारमा सरकारमाथि उहाँले प्रश्न गर्नुभयो । सरकारले जेन–जी घाइतेलाई निःशुल्क उपचारको घोषणा गरे पनि पूर्वप्रधानमन्त्रीकी श्रीमती भएकै कारण चित्रकारको उपचारमा मौन छ ।
खनालले थप्नुभयो, “तीन करोड जनताको तर्फबाट प्रधानमन्त्रीलाई सोध्छु— उहाँ घाइते हुनुहुन्छ कि हुहुनुन्न ? उपचारको दायित्व सरकारको छ कि छैन ? आजसम्म एक शब्द सोधिएको छैन, कसैलाई पठाइएको छैन, खर्चबारे पनि चासो छैन ।”
घर जल्यो, सम्पती खरानी, बैंक खाता शुन्य
घटनाको क्रुरताले खनाल परिवार मात्र होइन, धेरैलाई स्तब्ध बनाएको छ । आन्दोलनकारीले खनालको घर पूरै जलाएका छन् । सम्पती नष्ट भएको छ ।
उहाँले भन्नुभयो, “मेरो घर जलाएर खरानी बनाइयो । भित्रको सम्पती पनि खरानी भयो । देशमा यत्रा बैंक छन्, मसँग एउटा खाता छैन । दुई खाता खोलेको थिएँ तर राख्ने पैसा कहाँबाट ल्याउने ? हरेक दिन खर्च आउँछ, खर्च हुन्छ— यस्तै छ मेरो अवस्था ।”
आफूसँग धेरै सम्पती नभएको बताउँदै उहाँले ७० रोपनी जग्गामध्ये ५५ रोपनी सरकारलाई दिएको उल्लेख गर्नुभयो । त्यसैमा इलाममा सिटिइभिटीको कार्यालय बनेको छ ।
उहाँले भन्नुभयो, “सयौं रोपनी जग्गा छैन, ७० रोपनी थियो— ५५ रोपनी सरकारलाई दिएँ । इलामको सिटिइभिटी हेर्नुस्, प्रधानमन्त्रीज्यु । यस्तो व्यक्तिको श्रीमती घाइते होइनन् र ? उपचार सरकारको दायित्व होइन र ?”
सरकारको दोहोरो मापदण्डः सामान्य घाइतेलाई राहत, पूर्वप्रधानमन्त्रीकी श्रीमतीलाई बेवास्ता
सरकारले जेन–जीका मृतक र घाइतेलाई राहत, उपचार र शहीद घोषणा गर्ने नीति ल्याएपनि खनाल दम्पतीप्रति पूर्ण मौन छ । खनालले आमजनता, परिवार र जीवनसङ्गिनीको तर्फबाट प्रश्न गर्नुभयो ः “यो देशको सरकारलाई सोध्छु— घाइते प्राध्यापकको उपचार दायित्व हो कि होइन ?”
यो घटना राजनीतिक हमलाको शिकार बनेका पूर्वनेताको परिवारप्रतिको उपेक्षा मात्र होइन, योगदान दिएका व्यक्तिको सुरक्षा र सम्मानमा राज्यको असफलता हो ।
खनालको सार्वजनिक अपीलले सरकारमाथि दबाब बढाएको छ । यसबारे अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जवाफ दिनुपर्ने उहाँको आग्रह छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij