२०८२, फाल्गुण ९ गते

Feb 21 2026 | २०८२, फाल्गुण ९ गते

तिलोत्तमाका विद्यार्थीका लागि च्यालेन्ज फण्ड तथा सोधपत्र लेखनमा आर्थिक सहयोग कार्यक्रम

बिहिवार , कार्तिक २०, २०८२

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • तिलोत्तमा, २० कार्तिक । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामूदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीका लागि च्यालेन्ज फण्ड तथा सोधपत्र लेखनमा आर्थिक सहयोग कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

    विद्यार्थीहरुको सामाजिक, साँस्कृतिक, प्राविधिक क्षेत्रमा नविनतम कार्यक्रम एवं नेतृत्व विकासका लागि आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रम अनुसार च्यालेन्ज फण्ड कार्यक्रम सञ्चालन गर्न प्रतिसमूह अधिकतम १० हजार उपलब्ध गराइने सामाजिक विकास समिति संयोजक रवि सेन्चुरीले जानकारी दिनुभयो ।

    च्यालेन्ज फण्डमा सहभागी हुनका लागि विज्ञान प्रविधि, जनचेतना, अभिमुखीकरण, आयआर्जन तथा साहित्य कलासम्बन्धी विषयमा विद्यार्थीले सहभागीता जनाउन सक्नेछन् । एउटा विद्यालय वा क्याम्पसबाट ३ देखि ७ जना विद्यार्थी संलग्न भई फण्ड अन्तर्गतको कार्यक्रम गर्न पाउने उहाँले बताउनुभयो । त्यस्तै सोधपत्र लेखनका लागि प्रतिविद्यार्थी १० हजार रुपैयाँ छुट्याइएको सेन्चुरीले बताउनुभयो । 

    नगरभित्र रहेका विद्यार्थीले अध्ययन, अनुसन्धानमार्फत सामाजिक, आर्थिक, साँस्कृतिक, राजनैतिक र प्राविधिक क्षेत्रको विकासका लागि यो आर्थिक वर्षमा १० जना विद्यार्थीले पाउने गरी कार्यक्रम सञ्चालन गरिने शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताउनुभयो । उहाँले नगरभित्रका स्थायी बासिन्दा रहेका विद्यार्थी  स्नातक तथा स्नातकोत्तर तहमा अन्तिम वर्ष वा अन्तिम सेमेस्टरमा नियमित रुपमा पढ्दै गरेको हुनुपर्ने जानकारी दिनुभयो।

    सोधपत्र लेखनका लागि विज्ञान तथा प्राविधिक क्षेत्रबाहेक अन्य विषयको अध्ययन क्षेत्र तिलोत्तमा नगरपालिका केन्द्रित हुनुपर्ने आचार्यले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा उक्त कार्यक्रमका लागि ३ लाख बजेट विनियोजन गरिएको छ ।