२०८२, कार्तिक १७ गते

Nov 03 2025 | २०८२, कार्तिक १७ गते

ट्राफिक प्रहरी कोशेली बोकेर बालगृहमा पुगेपछि.....

सोमवार , कार्तिक १७, २०८२

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, १७ कार्तिक । सधैं सडकमा उभिएर हात हल्लाउने, सवारीसाधनलाई अनुशासनमा राख्ने र ट्राफिक व्यवस्थापनमा व्यस्त देखिने प्रहरीलाई हामीले कहिल्यै भावुक आँखाले हेरेका थियौं त ? शायद थिएनौ ! तर एक दिन, जब उनीहरू भोजन (कोशेली) बोकेर बालगृह पुगे, तब प्रहरीको अनुहारमा लुकेको मानवीय संवेदना झल्कियो । त्यो दृश्यले अनाथ बालबालिकाको मन छोयो, बालगृहमा बस्ने सबैको हृदय रसाइदियो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीकी प्रमुख प्रहरी निरीक्षक रन्जु के.सी. आफ्नो टोलीसहित लुम्बिनीरोडस्थित सिद्धार्थ बालगृहमा पुग्दा, उनीहरू केवल ट्राफिक सचेतना कार्यक्रम लिएर मात्र होइन, एक छाक भोजन, मायाको स्पर्श, र जिम्मेवारीको गहिरो अनुभुति लिएर पुगेका थिए । त्यो दिनको बिहान, बालगृहका बालबालिकाहरूका लागि केवल खाना होइन, एक नयाँ अनुभूति पनि थियो–प्रहरी भनेको डर होइन, भरोसा हो, भन्ने सन्देश प्रदान सिद्धार्थ बाल गृहले अनुभुति गरेको हो ।

    सेवा भावको सन्देश

    प्रहरी निरीक्षक के.सी.ले आफ्नो तलबबाट केही रकम छुट्याएर बालगृहका बालबालिकाका लागि भोजनको व्यवस्था गर्नुभयो । तर, त्यो भन्दा पनि ठूलो कुरा थियो—उहाँको उपस्थिति, उहाँको बोली र उहाँको आँखा ! उहाँले बालबालिकालाई सडक प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, ट्राफिक नियम र सुरक्षित यात्राका उपायहरूबारे सहज भाषामा जानकारी दिनुभयो । बालबालिकाहरु उत्साहित थिए, प्रश्न गर्दै थिएर प्रहरीसँग खुला सम्वाद गरिरहेका थिए ।

    WhatsApp Image 2025-11-03 at 11.02.06 AM (1).jpeg

    बालगृहकी सञ्चालक कृष्णमाया गुरुङ भन्नुहुन्छ–‘सरकार आफैं हाम्रो ढोका ढकढक्याउँदै आएको जस्तो लाग्यो । प्रहरीको यस्तो सामाजिक सक्रियता देख्दा मन गदगद भयो ।’ उहाँका आँखामा आँसु थिए–खुसीका, आश्चर्यका, कदर र जनता प्रति प्रहरीको सम्मानले मन छाएको थियो ।

    आन्दोलनको घाउ भुलेर सेवा

    नेपालमा विभिन्न आन्दोलनहरू, जुलुसहरू र आन्दोलनहरूमा प्रहरीमाथि आक्रमण भएका छन् । कहिले ढुंगामुढा, कहिले गालीगलौज, कहिले मानसिक यातना । तर, ती पीडा भुलेर पनि प्रहरी जनताको सेवामा समर्पित छन् । यो घटनाले त्यसको प्रमाण दिएको छ । प्रहरी निरीक्षक के.सी. भन्नुहुन्छ–‘हामी सडकमा मात्र होइन, समाजमा पनि जिम्मेवार छौं । बालबालिकाको मुस्कान हाम्रो तलबभन्दा ठूलो पुरस्कार हो ।”

    सडकमा ट्राफिक व्यवस्थापन गर्नु प्रहरीको दैनिकी हो । तर, समाजमा सकारात्मक परिवर्तन ल्याउनु, जनताको मन जित्नु, र विश्वास निर्माण गर्नु—त्यो प्रहरीको आत्मा हो । बालगृहमा पुगेको त्यो एक दिनले प्रहरीको अनुहारलाई नयाँ रंग दियो–सेवाभाव, करुणा, र समर्पणको ।

    बालबालिकाको नजरमा प्रहरी

    सामान्यतया बालबालिकाले प्रहरीलाई डरको प्रतीकका रूपमा हेर्छन् । ‘पढेनौ भने प्रहरीले लैजान्छ’ भन्ने वाक्यले उनीहरूको मनमा डर बसालिएको हुन्छ । तर सोमबारको दिन, जब उनीहरूले प्रहरीलाई मुस्कानसहित खाना बाँड्दै, माया गर्दै, र ज्ञान बाँड्दै देखे–उनीहरूको दृष्टिकोण नै फेरियो ।एक बालिकाले भनिन्- ‘दिदीहरू (प्रहरी) त धेरै राम्रो हुनुहुँदो रहेछ । उहाँहरूले हामीलाई सिकाउनुभयो, खाना दिनुभयो, अनि हाम्रो कुरा पनि सुन्नुभयो ।’ त्यो नानीको अनुहारमा देखिएको चमकले प्रहरीको प्रयास सफल भएको प्रमाणित गर्यो ।

    सामाजिक उत्तरदायित्वको उदाहरण

    जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले देखाएको यो कार्य केवल एक दिनको कार्यक्रम थिएन । यो थियो–सामाजिक उत्तरदायित्वको उदाहरण । प्रहरीको भूमिका केवल कानुन कार्यान्वयनमा सीमित छैन, उनीहरू समाजका अभिभावक पनि हुन् । जब प्रहरी समाजका पीडित, उपेक्षित, र असहाय वर्गप्रति संवेदनशील हुन्छन्, तब मात्र सुरक्षा र सेवा साँचो अर्थमा स्थापित हुन्छ ।

    WhatsApp Image 2025-11-03 at 11.02.06 AM (2).jpeg

    अन्त्यमा...प्रहरी निरीक्षक रन्जु के.सी.को त्यो सानो प्रयासले जुन ठूलो प्रभाव पारेको छ, त्यो शब्दमा बयान गर्न गाह्रो छ । कहिलेकाहीँ एउटा मुस्कान, एउटा छाक भोजन, र केही समयको साथले पनि कसैको जीवनमा उज्यालो ल्याउन सक्छ । प्रहरीको त्यो उज्यालो प्रयासले हामी सबैलाई सिकाउँछ-सेवा भनेको केवल कर्तव्य होइन, त्यो त हृदयको आवाज हो ।