
बिहिवार , बैशाख ९, २०७८
काठमाडौं, ९ वैशाख । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी प्रतियोगितामा नेपाल नेदरल्याण्ड र मलेसियासँगको लिग खेलमा विजेता हुँदै फाइनलमा प्रवेश गरेको छ ।
त्रिकोणात्मक टी–ट्वान्टी प्रतियोगितामा नेपालले मलेसियालाई लिगको अन्तिम खेलमा ६९ रनले हराएको छ । आगामी ११ गते शनिबार हुने फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ ।
मलेसियाविरुद्धको खेलअघि नै फाइनलमा स्थान सुनिश्चित गरिसकेको नेपालले लिगको अन्तिम खेलमा पनि मलेसियालाई पराजित गर्यो । नेपालले चार खेलबाट छ अंक जोडेको थियो।
लिगमा नेदरल्याण्ड्स विरुद्धको एक खेलमा हार बेहोरे पनि पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटलाई हराएको नेपालले मलेसियाविरुद्धको दुबै खेल जितेको हो । त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा नेपालले पुरा २० ओभर खेलेर सात विकेटको क्षतिमा २ सय १७ रनको योगफल तयार गरेको थियो ।
नेपालले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउँदै मलेसियाले १९ ओभर एक बलमा १ सय ४८ रन मात्र जोडेको थियो। विशाल लक्ष्य पछ्याउने क्रममा १५ रनमै दुई विकेट गुमाएको मलेसियाले खेलमा फर्कन सकेन ।
नेपाली टिमको बलिङमा सोमपाल कामी, सन्दिप लामिछाने र कमलसिंह ऐरीले सामान तीन तीन विकेट लिए । सन्दीपले चार ओभरमा ४२ रन खर्चिए भने सोमपालले चार ओभरमा २० रन खर्चिदा कमल ऐरीले तीन ओभर एक बलमा १६ रन खर्चिए । सुशन भारीले तीन ओभरमा ३५ रन खर्चेर एक विकेट लिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij