२०८२, आश्विन ३० गते

Oct 16 2025 | २०८२, आश्विन ३० गते

क्याम्पस प्रमुखसहित स्थानीयबासी टोलको सुरक्षाका लागि गस्तीमा

बिहिवार , आश्विन ३०, २०८२

  • 592
    Shares
  • 592
    Shares
  • भैरहवा, ३० असोज । भैरहवा बहुमुखी क्याम्पस, रुपन्देहीका क्याम्पस प्रमुख हुनुहुन्छ लक्की प्रसाद जोशी । बिहानदेखि साँझसम्म क्याम्पस प्रशासनको जिम्मेवारीले थकित हुन पुगेको शरीर आफ्नो टोलको लागि रातभरी गस्ती गर्न पुग्छ । त्यसै गरी सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि.का प्रबन्ध निर्देशक अर्जुन पौडेल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का जिल्ला संयोजक शोभाकान्त नेपाल, अधिवक्ता लोकनाथ पन्थ, प्रतिष्ठित होटल व्यवसायी राम बहादुर कोइरी, समाजसेवी रामप्रसाद पोखरेल, साहित्यकार युवराज शर्मा खनाल, प्राध्यापक, शिक्षक र अन्य व्यवसायीहरुको दिनचर्या पनि उस्तै छ ।

    जेनजी आन्दोलनपछि टोलमा शान्ति सुरक्षाको खस्कदो अवस्थालाई मध्यनजर गर्दे चोरी डकैती नहोस् भनेर नयाँ कलोनी टोल सुधार समिति सिद्धार्थनगर–९ ले असोज १ गतेदेखि सुरु गरेको टोल गस्तीमा यस्तै प्रकृतिमा मानिसहरुको जम्काभेट हुने गर्छ ! 

    १५० घरपरिवारको बसोबास रहेको टोलमा दैनिक १०–१५ जनाको टीम परिचालन भएको छ । १० दिनमा एकदिन अनिवार्य गस्ती जानुपर्ने नियम अनुसार सबैले तयारी गर्नुपर्ने हुन्छ । गस्ती हुन थालेपछि टोलमा बाहिरी मानिस आउन–जान छोडेको र शान्ति सुरक्षामा उल्लेख्य प्रभाव परेको नयाँ कलोनी टोल सुधार समितिका सचिव सुवास रिजालले जानकारी दिनुभयो ।

    गस्ती सुरू भएदेखि एक–अर्काबीच हार्दिकताको सम्बन्ध कायम भएको, टोलमा सहकार्य तथा परोपकारी भावनामा वृद्धि हुँदै गएको टोल सुधार समितिका अध्यक्ष कृष्ण प्रसाद पाण्डेले बताउनुभयो । नयाँ कलोनी टोल सुधार समितिले एक महिना अघि उमेश खनालको संयोजकत्वमा टोल सुरक्षा दस्ता निर्माण गरी निरन्तर रूपमा गस्तीलाई अगाडि बढाइरहेको छ ।