
सोमवार , आश्विन २७, २०८२
सैनामैना, २७ असोज । लायन्स क्लब अफ सैनामैना मलमलाको आयोजना तथा रामापुर माध्यमिक विद्यालयको सहकार्यमा ‘मानसिक स्वास्थ्य सचेतना कार्यक्रम–आत्मसम्मान तथा सामाजिक भावनात्मक सन्तुलन’ विषयक कार्यक्रम सैनामैनामा सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा क्लबका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक सरोज पन्थले स्वागत मन्तव्य राख्दै विद्यार्थीहरूमा मानसिक स्वास्थ्यप्रतिको चेतना अभिवृद्धि अत्यावश्यक रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर एफ बालाराम भट्टराईले विद्यार्थीको आत्मविश्वास र सकारात्मक सोच मानसिक सन्तुलनको मुख्य आधार हुने उल्लेख गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले विद्यालयमा सकारात्मक वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथि सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर मीना पन्थीले समाजमा मानसिक समस्या बढ्दो क्रममा रहेको र यसलाई सामूहिक रूपमा बुझ्न, सम्बोधन गर्न र विद्यार्थीहरूलाई सशक्त बनाउन शिक्षालय नै पहिलो थलो हुनुपर्ने बताउनुभयो ।
रामापुर माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेल र शहीद नारायण रामापुर क्याम्पसका प्रमुख हेम बहादुर थापाले कार्यक्रमप्रति आभार प्रकट गर्दै विद्यार्थीहरूको भावनात्मक विकास र आत्मसम्मान वृद्धिका लागि निरन्तर यस्ता सृजनात्मक गतिविधिहरू आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा मुख्य प्रशिक्षक लुम्बिनी प्रादेशिक अस्पतालका न्यूरो साइकाटिस्ट डा. अशिम रेग्मीले करिब प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य, आत्मसम्मान, सामाजिक सन्तुलन र तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण तथा अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएका थिए । विद्यार्थीहरूले आफ्नो भावनात्मक अवस्था बुझ्ने र स्वस्थ जीवनशैली अपनाउने सीपसमेत सिकेका थिए ।
क्लबका अध्यक्ष जीवन घिमिरेको अध्यक्षता तथा ज्ञान प्रसाद पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । सकारात्मक सोच, आत्मस्वीकार र सहयोगी भावनाको सन्देशसहित सम्पन्न उक्त कार्यक्रमले विद्यालय समुदायमा नयाँ ऊर्जा र चेतना जगाएको सहभागीहरूले जनाएका छन् । कार्यक्रमको सहजीकरण क्लबका सल्लाहकार लेखनाथ गैरे, पूर्वअध्यक्ष विजय काफ्ले, शिव प्रसाद पोख्रेल, प्रथम उपाध्यक्ष चन्द्र प्रकाश बनसहित सम्पूर्ण पदाधिकारीहरुले गर्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij