
शनिवार , आश्विन २५, २०८२
भैरहवा, २५ असोज । पशुपति बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा नगरपालिका–१५, रुपन्देहीको २६ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा अर्जुन बस्याल, उपाध्यक्षमा लालमणि भूसाल, सचिवमा ताराप्रसाद नेपाल, कोषाध्यक्ष भिमा भण्डारी सापकोटा, सदस्यमा पूर्णभद्र बस्याल, लक्ष्मण भट्टराई, प्रकाश बन्जाडे, गोमा गैरे र संगिता श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै लेखा संयोजकमा विष्णु पाण्डे, सदस्यमा चन्द्रकातन्त बस्याल, राधा आचार्य, ऋण उपसमिति सदस्यमा पशुपति भण्डारी र दीपक बस्याल, शिक्षा उपसमिति सदस्यमा विजय खरेल र डालिसरा गाहा चयन हुनुभएको छ । नवनिर्वाचित अध्यक्ष बस्यालले संस्थालाई आधुनिक र प्रविधिमैत्री ढंगबाट शेयर सदस्यको हितमा रहेर काम गर्ने बताउनुभयो ।
संस्थामा २ करोड ४० लाख ४४ हजार ५ सय पुँजी रहेको छ । संस्थामा ५३५ जना महिला सदस्य र ५३१ जना पुरुष सदस्य रहेका छन् । संस्थाले आर्थिक वर्ष २०८१/०८२ मा ४९ लाख ९४ हजार, ७ सय ७४ रूपैयाँ मुनाफा गरेको छ । कार्यक्रममा असल ऋणी र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन सत्रमा तिलोत्तमा नगरपालिका वडा नम्बर १५ का अध्यक्ष खेमराज गुरुङले संस्थाले सदस्यको हितमा रहेर सधै काम गर्नुपर्ने बताउनुभयो । त्यस्तै रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारीले मुलुकमा रहेका ३२ हजार सहकारी तथा वित्तीय संस्थाका केही संस्थाले बदमास गर्दा सबै संस्था बदनाम हुनुपरेको बताउँदै शेयर सदस्यले आफ्नो संस्थामा चासो देखाउनुपर्ने बताउनुभयो ।
सहकारीका उपाध्यक्ष थमनबहादुर क्षेत्रीको स्वागत मन्तव्य तथा सचिव अर्जुन बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij