
शनिवार , आश्विन २५, २०८२
भैरहवा, २५ असोज । जेन–जेड रुपन्देही, नेपालको नेतृत्व समिति गठनको औपचारिक प्रक्रिया सुरु गर्ने निर्णय गरिएको छ । असोज २४ गते बसेको जेन–जेड रुपन्देहीका सक्रिय सदस्यहरु राजु श्रेष्ठ, सुरज पोख्रेल र योगराज क्षेत्रीबीचको बैठकबाट संगठनको आगामी कार्यदिशा र संरचना सम्बन्धी महत्वपूर्ण निर्णय गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ । यो समिति संगठनको आगामी नेतृत्व, नीतिगत दिशा र क्रियाकलापहरुको संयोजन गर्ने मूल निकायका रुपमा रहने योगराज क्षेत्रीले बताउनुभयो ।
बैठक यही असोज २८ गते मंगलबार बिहान ११ बजेदेखि तिलोत्तमा नगरपालिका–१३, बभनीस्थित न्यू राइज यूथ क्लब भवनमा सुरु हुने क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार संगठनमा समावेश भइ नेतृत्व समितिको सदस्य बन्न केही मापदण्डहरु पूरा गर्नुपर्नेछ । मापदण्डमा व्यक्तिगत धारणा र दृष्टिकोण प्रस्तुत गर्नुपर्ने, मूल नागरिकता प्रमाणपत्र अनिवार्य रुपमा बुझाउनुपर्ने, सामाजिक कार्यको प्रमाणपत्र प्रस्तुत गर्नुपर्ने, १८ वर्ष पूरा भइसकेको हुनुपर्ने र रुपन्देहीबासी हुनुपर्ने विज्ञप्तीमा उल्लेख छ ।
गठन प्रक्रियामा सहभागी हुने सम्पूर्ण सदस्यहरुले औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने, नयाँ बन्ने समिति जेन–जेड रुपन्देहीको आधारिक समितिका रुपमा मान्यता प्राप्त गर्ने र यो समितिमा सहभागी हुन इच्छुक जो कोही योग्य व्यक्तिले आफ्नो नाम दर्ता गराइ सहभागीता जनाउन सक्नेछन् ।
बैठकले संगठनका प्रमुख मागहरु पूरा नभएसम्म आउँदो फागुन महिनामा तय गरिएको निर्वाचनमा जेन–जेड रुपन्देहीलाई स्वीकार्य नभएको क्षेत्रीले जानकारी दिनुभयो । ‘यस निर्णयद्वारा संगठनले युवाको आवाज, पारदर्शिता र जिम्मेवार नेतृत्वको पक्षमा अडिग रहने प्रतिवद्धता व्यक्त गरेको छ । जेन–जेड रुपन्देही विश्वास गर्छ–परिवर्तनको सुरुवात युवाबाटै हुन्छ, र त्यो परिवर्तन विचार, एकता र कार्यद्वारा सम्भव छ, ’विज्ञप्तीमा भनिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij