२०८२, आश्विन २३ गते

Oct 09 2025 | २०८२, आश्विन २३ गते

महासंघको खबरदारी : निर्माण क्षेत्रलाई समाप्त गर्ने दिशातिर सरकार अघि नबढोस्

बिहिवार , आश्विन २३, २०८२

  • 229
    Shares
  • 229
    Shares
  • काठमाडौं, २३ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रलाई समाप्त गर्ने दिशातिर सरकार जान नहुने बताउनुभएको छ ।

    बिहीवार महासंघ परिसरमा महासंघका पूर्वअध्यक्ष स्व. शरदकुमार गौचनको आठौं स्मृति दिवसमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रुग्ण आयोजना अन्त्य गर्ने भन्दै गर्दा वर्तमान सरकार निर्माण क्षेत्रलाई नै समाप्त गर्ने दिशातिर लाग्न नहुने बताउनु भयो ।

    रुग्ण आयोजना खारेज गर्दा सार्वजनिक खरिद ऐनमा व्यवस्था भएअनुसार गरिनुपर्ने माग गर्नुभयो । जेन जी पुस्ताबाट भएको आन्दोलनबाट सडकबाट सरकार पाएको उल्लेख गर्नुहुँदै अध्यक्ष सिंहले अहिले मुलुकको आर्थिक गतिविधिमा शिथिलता आएको बताउनु भयो । मुलुकको आर्थिक अवस्था नाजुक भएकाले निर्माण क्षेत्र सबैभन्दा प्रभावित बनेको जिकिर गर्नुभयो ।

    अन्तरिम सरकारले मुलुकमा निर्वाचन गराउने मात्र नभइ जेन जीहरुको पवित्र उद्देश्यअनुरुप मुलुकमा भइरहेको भ्रष्टाचार बेथितिको अन्त्यका लागि पनि गम्भीर हुनुपर्ने बताउनु भयो । अहिले पनि निर्माण क्षेत्रमा कामको अभाव भइरहेको र आवश्यकता भन्दा बढी स्थानीय तहले निर्माण व्यवसायीहरुलाई लाइसेन वितरण गर्ने र सरकारले पनि कामको अवसर सिर्जना नगरी लाइसेन मात्रै वितरण गरिरहेको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘जेन जी पुस्ताबाट भएको आन्दोलनबाट सडकबाट हामीले सरकार पाएका छौँ । अहिले मुलुकको आर्थिक गतिविधिमा शिथिलता आएको छ । मुलुकको आर्थिक अवस्था अत्यन्त नाजुक भएकाले निर्माण क्षेत्र सबैभन्दा प्रभावित भएको छ ।

    यो नयाँ सरकार जसको जगमा बनेको हो, यसले मुलुकमा निर्वाचन मात्र गराउने होइन, जेन जीहरुको पवित्र उद्देश्य मुलुकमा भइरहेको भ्रष्टाचार बेथितिको अन्त्यका लागि पनि यो सरकार त्यत्तिकै गम्भीर हुनुपर्छ । निर्माण क्षेत्रलाई सबैतिरबाट प्रहार भएको छ । प्राकृतिक प्रकोपको पनि सामना गरिरहेका छौँ ।

    निर्माण क्षेत्रलाई व्यवस्थित गर्न तल्लिनका साथ अघि बढेका छौँ । निर्माण क्षेत्रमा आपराधिक गतिविधि गर्नेहरुको संलग्नता विगतमा जुन हुने गर्दथ्यो, त्यसबाट हामीले आपराधिक गतिविधिहरु गर्ने र उहाँहरु जसरी निर्माण क्षेत्रमा हाबी हुनुभएको थियो ।

    त्यसलाई न्युनिकरण गर्न महासंघ सफल भएको छ । अहिले पनि निर्माण क्षेत्रमा कामको अभाव र आवश्यकता भन्दा बढी स्थानीय तहले निर्माण व्यवसायीहरुलाई लाइसेन्स वितरण गर्ने र सरकारले पनि कामको अवसर सिर्जना नगरी लाइसेन मात्रै वितरण गरेको छ ।

    रुग्ण आयोजना अन्त्य गर्ने भन्दै गर्दा निर्माण क्षेत्रलाई नै समाप्त गर्ने दिशातिर यो सरकार नजाओस् । यो सरकारले त्यो योजना अन्त्य गर्दा सार्वजनिक खरिद ऐनमा व्यवस्था भएअनुसार गरिनुपर्छ ।’

    कुनैपनि निर्माण कार्यको स्टिमेट गर्दा वास्तविक हुनुपर्ने र सकेसम्म कामहरु साना प्याकेजहरु बनाएर बढी भन्दा बढी निर्माण व्यवसायीहरुलाई सहभागिता जनाउने र स्वस्थ प्रतिष्पर्धाको वातावरण बनाउनसके निर्माणको गति अघि बढ्नसक्ने जिकिर गर्नुभयो ।

    सडकबाट बनेको सरकारबाट निर्माण व्यवसायीहरुले ६ महिनाभित्र निर्वाचन गराउने मात्रै अपेक्षा नगरेको स्पष्ट पार्नुभयो । मुलुकमा भएको बेथिति, भ्रष्टाचारलाई अन्त्य गरेर आम जनतालाई सन्देश दिन सक्नुपर्ने उल्लेख गर्नुभयो ।

    जनतालाई सुखद् अनुभुति दिन नसके अहिलेको सरकार पनि विगतको भन्दा फरक नहुने जिकिर गर्नुभयो ।