
बुधवार , आश्विन २२, २०८२
काठमाडौं, २२ असोज । नेकपा (माले) का महासचिव चन्द्रप्रकाश (सि.पी) मैनालीले राजसंस्था र प्रजातान्त्रिक शक्तिहरु मिलेर गएमात्रै देश बच्नसक्ने बताउनुभएको छ ।
विपी काँग्रेसले काठमाडौंमा आयोजना गरेको चियापान तथा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बंगलादेश र सिक्किमको घटनापछि राजसंस्था र जनसत्ता मिल्नुपर्छ भन्ने २०३३ सालको विपीको बुझाइ अहिले पनि ज्वलन्त रहेको बताउनु भयो ।
२०६३ साल वैशाख १० गते उच्च डेमोक्रेसीसहित राजसंस्था रहने सहमति गरिए पनि विदेशीहरुको दबाबले गर्दा संविधान सभाद्वारा नै राजसंस्था हटाइएको बताउनु भयो । देशलाई यो ठाउँमा ल्याउने काम राजनीतिक दलहरु नै गरेको भन्दै शान्ति क्षेत्रको प्रश्तावलाई पनि राजनीतिक दलहरुले नै खारेज गरेको बताउनु भयो । राजनीतिक दलहरुले नै खुकुलो नागरिकताको नीति लिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले जुन उहाँले विचार राख्नुभयो, अब बंगलादेश र सिक्किमको घटनापछि राजसंस्था र जनसत्ता मिल्नुपर्छ, प्रजातान्त्रिक शक्तिहरु मिलेर गएमात्रै देश बच्नसक्छ नत्र बच्न सक्दैन भन्ने विपीको सोचाई अहिले आएर ज्वलन्त बनेको छ ।
जाज्वल्यमान बनेको छ । विपीको २०३३ सालका विचारहरु राम्रा छन् । ९० वर्षको राजनीतिक दलको अनुभवले साँचो कुरा के रहेछ भन्नेकुरा देखिएको छ । २०६३ साल वैशाख १० गते उच्च डेमोक्रेसीसहित राजसंस्था रहने सहमति गरियो । तर पछि विदेशीहरुको दबाबले गर्दा संविधान सभाद्वारा नै २०६५ सालको जेठ १५ गते राजसंस्था हटाइयो ।
देशलाई यो ठाउँमा ल्याउने हामी राजनीतिक दलहरु नै हौँ । शान्ति क्षेत्रको प्रश्तावलाई हामी दलहरुले नै हो खारेज गरेको । हामी राजनीतिक दलहरुले नै हो खुकुलो नागरिकताको नीति लिएको ।’
महासचिव मैनालीले भारत नेपालका लागि धेरै अफ्ठयारो छिमेकी भएको टिप्पणी गर्नुभयो । भारतले कहिल्यै पनि नेपाल स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक हो भने र नमानेको जिकिर गर्नुभयो ।
भारतले नेपालका लागि सहयोगको कुरा गरे पनि कसरी नेपाल गरिव हुन्छ ? कसरी हाम्रो निर्भर बनाउने ? हामीमाथि भरोसा गर्ने बनाउने, कसरी कठपुतली जसरी नचाउने ? भन्नेबारेमा सोच्ने गरेको बताउनु भयो । भारतले नेपाललाई आफ्नो क्षेत्र भनेर व्यवहार गरिरहेको बताउनु भयो । यसबेलामा देशका शक्तिहरु सबै मिल्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो दक्षिणको छिमेकी धेरै अफ्ठ्यारो छिमेकी प¥यो । हामी ताक्छौँ मुढो, छिमेकी ताक्छ हाम्रो घुँडो । त्यो छिमेकीले कहिल्यै पनि नेपाल स्वतन्त्र मुलुक भनेर मान्दैन ।
सार्वभौम भनेर त्यसले अहिले पनि मान्दैन । सहयोगको कुरा जहिल्यै गरेपनि कसरी नेपाल गरिव हुन्छ ? कसरी यिनीहरुलाई तन्नम बनाउने ? कसरी हाम्रो निर्भर बनाउने ? हामीमाथि भरोसा गर्ने बनाउने, कसरी कठपुतली जसरी नचाउने ? यस्तो अफ्ठ्यारो पार्दछ ।’
महासचिव मैनालीले विगतका राम्रा सिद्धान्तहरु पुनः लागू गर्नुपर्ने जरुरी रहेको बताउनु भयो । भारतले नेपाललाई निल्नसक्ने जिकिर गर्नुभयो । देशलाई जोगाउने संविधान र व्यवस्था नल्याइकन नेपाललाई बचाउन नसकिने बताउनु भयो । परम्परागत राजाको आवश्यकता भइसकेको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij