२०८३, आश्विन १९ गते

Oct 05 2026 | २०८३, आश्विन १९ गते

अख्तियार प्रमुख राईको राजीनामा माग गर्दै जेन-जी आन्दोलित

मंगलवार , आश्विन २१, २०८२

  • 982
    Shares
  • 982
    Shares
  • काठमाडौं, २१ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामाको माग गर्दै जेन–जी युवाहरुले टंगालस्थित आयोगको कार्यालयमा प्रदर्शन गरेका छन् ।

    प्रमुख आयुक्त राईसहित सबै आयुक्तहरुको निष्पक्षतामाथि प्रश्न उठाउँदै राजीनामाको माग गर्दै उनीहरुले मंगलवार विहान आयोगको कार्यालय परिसरमा प्रदर्शन गरेका हुन् ।

    ‘जेन–जी मुभमेन्ट अलायन्स’का युवाहरुले सोमवार साँझ नै इमेलमार्फत राजीनामा दिन माग गर्दै दबाबमुलक पत्र समेत आयोगमा पठाएका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका संवैधानिक आयोगका ५२ पदाधिकारीहरुको नियुक्ति समेत खारेज हुनुपर्ने माग राख्दै आएका छन् ।

    राजीनामाको मागसहित निवेदन दर्ता गराएपछि अलायन्सका युवा रिजन रानामगरले प्रमुख आयुक्त राईसहित सबै आयुक्तहरुले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘हामीले प्रमुख आयुक्त प्रेमकुमार राईसहित सबै आयुक्तज्यूहरुको राजीनामाको माग गर्दै औपचारिक रुपमा निवेदन दर्ता गराएका छौं । यो भन्दा पहिले पनि हामीले सामाजिक सञ्जालमा राजीनामाको अभियान नै शुरु गरेका थियौं ।

    हिजो हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इमेलमा र प्रधानमन्त्रीको कार्यालयसहितलाई बोधार्थ राखेर पत्र पठाएका थियौं त्यसैको औपचारिकताका लागि आज हामीले निवेदन दर्ता गराएका छौं ।’

    अख्तियारमा दलका मान्छे नियुक्त गरिएको कारण भ्रष्टाचारको निष्पक्ष छानबिन हुनेमा शंका भएको कारण आयोगका पदाधिकारीहरु राजीनामा माग गरिएको उनीहरुको भनाइ छ । अख्तियारसहित केही कार्यालयहरुमा बिहानैदेखि सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।