२०८२, आश्विन १६ गते

Oct 02 2025 | २०८२, आश्विन १६ गते

चाडपर्व लक्षित सुरक्षा योजना : रुपन्देहीमा ९९८ प्रहरी परिचालन

बिहिवार , आश्विन १६, २०८२

  • 733
    Shares
  • 733
    Shares
  • भैरहवा, १६ असोज । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विजया दशमी, दीपावली, छठपर्व जस्ता चाडपर्वलाई मध्यनजर गरी जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । जसअन्तर्गत जिल्लामा ९ सय ९८ जना प्रहरी परिचालन गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार डीएसपीको कमाण्डमा तीनवटा अनुगमन तथा चेकिङ टोली परिचालन गरिएको छ । त्यस्तै बजार तथा वित्तीय क्षेत्रलाई लक्षित गरी १८ वटा पैदल गस्ती परिचालन गरिएको डीएसपी सापकोटाले जानकारी दिनुभयो । यात्रुको सहजताका लागि यातायात व्यवसायी र अन्य सरोकारवालासँग समन्वय गरेर पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

    त्यसै गरी चोरी तथा लुटपाटका घटनालाई नियन्त्रण गर्न बजार तथा मोबाइल गस्ती बढाइएको उहाँले बताउनुभयो । ‘जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गाडीलाई पनि प्रयोग गरेर प्रहरी परिचालन बढाएका छौं, ’उहाँले भन्नुभयो ।

    डीएसपी सापकोटाले भन्सार छलेर आउने सामानलाई सशस्त्र प्रहरीसित समन्वय गरेर अझ कडाइका समथ नियन्त्रणमा लिइएको बताउनुभयो ।

    तिहारका लागि आउने पटालाई नियन्त्रण गर्न छुट्टै किसिमको प्रहरी परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय रुपन्देहीमा ड्रोनको समस्या देखिएको भन्दै ड्रोन उडाउने व्यक्तिहरुलाई प्रहरी–प्रशासनलाई जानकारी गराएर मात्र उडाउन भनिएको डीएसपी सापकोटाले बताउनुभयो ।

    टोल समुदायमा आम जनसमुदायले रातीमा गस्ती गरिरहेको र त्यो गस्तीमा प्रहरीको समन्वय हुने गरेको उहाँको भनाइ छ । टोल समुदायमा हुने गस्ती प्रहरी–समुदाय साझेदारी कार्यक्रम अन्तर्गत पर्ने भएकाले गस्तीमा प्रहरीको समन्वय हुने गरेको उहाँले बताउनुभयो ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आफ्नो घर छोडेर कहीकतै जाँदा नजिकको छिमेकी र प्रहरी कार्यालयमा पनि जानकारी गराउन समेत आग्रह गरेको छ । चाडपर्वलाई भड्किलो नभइ धार्मिक परम्परा जोगाउने किसिमले मनाउन र भिडभाडमा जाँदा सचेत हुन रुपन्देही प्रहरीको आग्रह छ ।

    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले नागरिकको जिउधनको रक्षा गर्नु आफूहरुको आधारभूत दायित्व भएको बताउनुभयो । उहाँले सम्पूर्ण सुरक्षा निकायहरुको संयोजनमा संयुक्त गस्ती सुरु भएको बताउनुभयो । उहाँले कुनै अपराधिक घटना भए तत्काल प्रहरी–प्रशासनलाई जानकारी गराउन र प्रहरी १० मिनेटमा घटनास्थलमा पुग्ने बताउनुभयो । उहाँले ढुक्क भएर चाडपर्व मनाउन आग्रह गर्नुभयो ।

    चाडपर्व सुरु भएपछि गाउँमा चहलपहल बढेको छ । मर्चवारका स्थानीय व्यवसायीले चहलपहल बढेसँगै व्यवसाय पनि बढेको बताउँछन् ।