
आइतवार , आश्विन १२, २०८२
तिलोत्तमा, १२ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, स्थित कोटिहवामा मुख्य कार्यालय रहेको जनउत्थान बचत तथा ऋण सहकारी संस्थाको २० औं वार्षिक साधारण सभा शनिबारमणिग्राममा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष गिरी प्रसाद पुनको अध्यक्षता र रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
सेवा केन्द्र स्तरीय एकाइगत साधारण सभा सम्पन्न गरेको साकोसले असोज ११ गते शनिबार प्रतिनिधिमूलक निर्णय प्रमाणित साधारण सभा सम्पन्न गरेको हो । समुदायमा आधारित जनउत्थान साकोसले पुनः एक्सेस ब्राण्ड प्राप्त गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारीका सिद्धान्तहरुलाई आत्मसात गर्दै अघि बढेको र बचत तथा ऋणको माध्यमबाट सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणको लागि काम गर्दै आएको छ ।
सहकारीका अध्यक्ष गिरी प्रसाद पुनले सदस्यहरुलाई व्यवसायिक रुपमा सक्षम बनाउन तथा जनताको मन र विश्वास जित्न जनउत्थानले निरन्तर उत्कृष्ट कार्य गरिरहेको बताउनुभयो । जनउत्थानले एशियाली ऋण महासंघको फोरम २०२४ बाट एक्सेस सिल्भर ब्राण्ड प्राप्त गर्न सफल भएको थियो ।
सदस्यलाई गर्भदेखि स्वर्गसम्मको लागि आवश्यक पर्ने बचतका प्रकारहरु सञ्चालनमा ल्याउने, सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरी सहकारीको महत्वका वारेमा बुझाउने समाजमा रहेका आफ्ना सदस्यहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने उद्देश्यअनुरुप कार्यसम्पन्न गरेको साकोसका अध्यक्ष पुनले जानकारी दिनुभयो । त्यसै गरी सहकारीले आफ्नो योजना अनुरुप यस वर्ष पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा विशेष जोड दिदै सम्मान तथा अक्षयकोषलाई अगाडी बढाएको छ ।
सहकारीकी उपाध्यक्ष सरु रानाले सभामा आउनुभएका सबै सदस्यहरुलाई स्वागत गर्दै समाजमा रहेर जनउत्थानले समाजउपयोगी कार्य गर्दै जनता र यसका सदस्यहरुको मन जितेको बताउनुभयो । संस्थाले सदस्य लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरेको र त्यस कार्यक्रमबाट गत आर्थिक वर्षमा पनि धेरै सदस्य लाभान्वित भएको उहाँले बताउनुभयो ।
संस्थाको तर्फबाट कोशाध्यक्ष निल प्रसाद पुनले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो । सभामा प्रस्तुत गर्दै गत वर्षको मुनाफाबाट सदस्यलाई १० प्रतिशत लाभांश वितरण गरिने उहाँले जानकारी दिनुभयो ।
सहकारीले गत आर्थिक वर्षको असार मसान्तसम्म ४० हजार ६ सय ४३ जना सदस्यबाट करिब २८ करोड ४३ लाख ९५ हजार शेयर पूँजी संकलन गरेको छ । त्यसै गरी सोही अवधिमा बचत संकलन ३ अर्ब ४४ करोड ९९ लाख २५ हजार, ऋण लगानी ३ अर्ब ४१ करोड ६४ लाख र शुद्ध बचत ११ करोड ७७ लाख रहेको छ ।
संस्थाले ४ अर्ब ३० करोड ८५ लाख कुल सम्पत्ति पुर्याएको छ । संस्थाको जगेडा कोषमा ४० करोड ४७ लाख रकम जम्मा भएको छ । रुपन्देही जिल्लाभर कार्यक्षेत्र रहेको संस्थाले १० वटा सेवा केन्द्रमार्फत सदस्यलाई वित्तीय लगायतका अन्य सेवा प्रदान गर्दै आएको छ ।
कार्यक्रममा संस्थाको आगामी कार्यदिशाको बारेमा बोल्दै करिब २२ वटा प्रस्ताबहरु पारित गरिएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृच रन बहादुर थापाले सदस्यहरुमाझ २२ प्रस्ताव छलफलको लागि पेश गर्दै सर्वसम्मतिले पारित गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी डा.पाण्डेले जनउत्थान सहकारीले तिलोत्तमा रुपन्देहीको मात्रै नभएर देशकै नाम उचो गराएको बताउनुभयो । उहाँले सहकारीको पंक्तिमा एउटा उदाहर दिन सक्ने सहकारी बनाएकोमा यसका सञ्चालक, कर्मचारी र सदस्यहरुलाई बधाई तथा धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा जनउत्थान सहकारीको निवर्तमान अध्यक्ष तथा नेफ्स्कुनका सञ्चालक सदस्य ज्ञानु पौड्यालले सहकारीप्रतिको माया, सद्भाव, त्याग र समर्पणले जनउत्थानको यो अवस्था आएको बताउनुभयो । कार्यक्रमको सञ्चालन सचिव अन्जु जैसी सुवेदीले गर्नुभएको थियो ।
विभिन्न व्यक्ति सम्मानित
आफ्नो साधारण सभाको अवसरमा जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले सामाजिक कार्यलाई निरन्तरता दिएको छ । विभिन्न स्थानमा प्रतिक्षालयको निर्माण सकाएको सहकारीले भर्खरै जेनजी आन्दोलनबाट क्षति भएका प्रहरी कार्यालयमा विभिन्न सामग्री प्रदान गरेको छ ।
सहकारीले विद्यालय विकास अक्षयकोष, युवा विकास अक्षयकोष, आमा समूह, अभिनास अनाथ आश्रममा सहयोग, खुल्ला रक्तदान, नुवाकोट सरसफाई कार्यक्रम, उत्कृष्ट सहकारी पत्रकारिता पुरस्कार, आमा समूह टोल विकास प्रोत्साहन, सेवा केन्द्रस्तरीय उत्कृस्ट पुरस्कार, भवितब्यबाट भएको क्षतिमा सहयोग, स्वास्थ्य शिविर, युवा क्लब सहयोग, छात्रवृत्ति वितरण लगायतको काम गर्दै आएको छ ।
कार्यक्रममा जनउत्थान सहकारी पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार मोहम्मद हबिबलाई सम्मान गरिएको थियो । पत्रकार हबिबलाई नगद रु. १५ हजार र सम्मान–पत्रसहित सम्मान गरिएको हो । त्यस्तै उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij