२०८२, आश्विन ११ गते

Sep 27 2025 | २०८२, आश्विन ११ गते

एक वर्षमा ३४२ जनाको उद्धार

शनिवार , आश्विन ११, २०८२

  • 583
    Shares
  • 583
    Shares
  • भैरहवा, ११ असोज । शुभ अवसर ग्राम नेपाल शाखा कार्यालय भैरहवा, रुपन्देहीले एक वर्षको अवधिमा ३ सय ४२ जनालाई उद्धार गरेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा ३ सय ४२ जनालाई उद्धार गरिएको संस्थाले जनाएको छ । केहीलाई नेपाल र केहीलाई भारतको विभिन्न स्थानबाट उद्धार गरिएको हो ।

    परियोजना अधिकृत सत्यनारायण यादवका अनुसार आन्तरिक तथा बाह्य रुपमा ३ सय ४२ जनालाई नेपाल र भारतको विभिन्न स्थानहरुबाट उद्धार गरिएको हो । बेचबिखन र जोखिममा परेकामध्ये १ सय ३९ जनालाई दीर्घकालीन तथा अल्पकालीन आश्रय तथा सुरक्षा सेवा प्रदान गरिएको यादवले बताउनुभयो । उहाँका अनुसार सुरक्षित आवास गृह, नेपाल भारत, सिमानाका र स्थलगतस्तरमा गरी २ सय १८ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ ।

    उद्धार गरिएकामध्ये १ सय १८ जना सेवाग्राहीहरुलाई प्रहरी र सम्बन्धित सरोकारवालाहरुको सहयोगमा अन्य संघ–संस्थाहरुमा रिफर गरिएको उहाँले बताउनुभयो । त्यस्तै विभिन्न स्थानहरुबाट उद्धार गरिएका सेवाग्राहीहरुलाई २ सय ७६ सत्र मनोविमर्श सेवा प्रदान समेत गरिएको उहाँको भनाइ छ ।

    भारतमा क्रियाशील गैरसरकारी संस्था किन इण्डिया, नेपाली दूतावास र विभिन्न सरकारी तथा गैरसरकारी सरोकारवालाहरुको समन्वय सहयोगमा १७५ जना युवा, महिला तथा बालबालिकाहरुलाई भारतबाट उद्धार गरी स्वदेश फिर्ता गरिएको शुभ अवसर ग्राम नेपाल शाखा कार्यालय, भैरहवाले जनाएको छ ।

    गत आर्थिक वर्षमा रुपन्देहीको लखनौतिया, भगवानपुर, मर्चवारी, कालीदह, क्रक्रहवा सीमानाका भएर भारत जाँदै गरेका ८ हजार ४ सय ९५ जना महिला, बालबालिका र युवायुवतीहरुलाई मानव बेचबिखनबारे जानकारी र परामर्श सेवा पनि दिइएको यादवले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सीमा निगरानीको क्रममा ५६ जनालाई सीमानाकाबाट फिर्ता गरिएको थियो । संस्थाले पहुँच गरेकामध्ये ३२ जना सेवाग्राहीहरुलाई स्वास्थ्य उपचार सेवा प्रदान गरिएको छ । १ जना सेवाग्राहीहरुलाई शिक्षाको निरन्तरताको लागि सहयोग समेत गरिएको उहाँले बताउनुभयो ।

    विभिन्न ठाउँहरुमा उद्धार गरिएका ९ जना सेवाग्राहीहरुलाई सीपमूलक तालिम र ९ जना सेवाग्राहीहरुलाई व्यवसायका लागि बिउ पूँजी प्रदान गरिएको छ । उद्धार गरिएका १० जनालाई कानूनी सहयोग सेवा प्रदान गरिएको छ । मानव बेचबिखन तथा ओसारपसार अभियोगमा ४ वटा मुद्दा समेत दर्ता भएको संस्थाले जनाएको छ । पछिल्लो समय नेटवर्क मार्केटिङको नाममा पनि मानव बेचबिखन तथा ओसारपसार भइरहेको पाइएको परियोजना अधिकृत यादवले बताउनुभयो ।