
शुक्रवार , आश्विन १०, २०८२
काठमाडौं, १० असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राजनीतिक दललाई शक्ति र सत्ता केन्द्रित नभइ विचार र मुद्दा केन्द्रित बनाउनुपर्ने बताउनुभएको छ । समाजवादी धारका पाँच दलका युवा नेताहरुले एकताका लागि पार्टी नेतृत्वसँग संयुक्त अपील गरेको प्रसंगबारे कुरा गर्दै बस्नेतले सर्वशक्तिमान नेतृत्व निर्माणका लागि नभइ मुलुकको आवश्यकतालाई सम्बोधन गर्न विचार, सिद्धान्त र मुद्दा मिल्ने दलहरु बीच एकताको कुरा गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो–‘कांग्रेस–कम्युनिष्टको शक्ति र सत्ताप्रतिको आशक्तिले नै आज मुलुकमा यो अवस्था आएको हो । जनताको भावनालाई सम्बोधन गर्न सकेको भए आज दलहरु विघटनको अवस्थामा आइपुग्ने थिएनन् ।’
कांग्रेस र कम्युनिष्ट सत्ता केन्द्रित र समाजवादी दलहरु मधेश केन्द्रित भएको बस्नेतको आरोप छ । उहाँले भन्नुभयो–‘कांग्रेस–कम्युनिष्टले सत्तामा र समाजवादीहरुले मधेशमा मात्र आफ्नो अस्तित्व खोजे ।’
परिवर्तनको जनआकांक्षा नबुझ्ने दलहरुले आफ्नो अस्तित्व जोगाउने प्रयत्न गर्न नहुने उहाँको भनाइ छ ।
जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का १२ युवा नेताहरुले एकताका लागि पार्टी नेतृत्वलाई बुधबार संयुक्त अपील गरेका थिए । त्यसलगत्तै बिहीबार बसेको संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा सचिवालयले एकताका लागि प्रस्ताव गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij