२०८२, आश्विन ६ गते

Sep 22 2025 | २०८२, आश्विन ६ गते

जेन–जी आन्दोलन र युवाको आवश्यकता

सोमवार , आश्विन ६, २०८२

  • 340
    Shares
  • 340
    Shares
  • जेन–जी आन्दोलन, एक नवयुवा समुह जो उमेरले भर्खर ३० वर्ष पनि नपुगेका, जोशले भरिएका, प्रविधिका कारण विश्वको विकासक्रमका बारेमा बुझेका, भ्रष्टाचारका बारेमा सुनेका र केही अनुभव गरेका, शिक्षा विकासक्रमलाई आधुनिक र प्रविधिमैत्री चाहिन्छ भन्ने भाव बोकेका र नेपाललाई सुन्दर बनाउनुपर्छ, अग्रणी समाज निर्माण गर्नुपर्छ भनी सोच राखेका युवाहरु एकजुट बनेर भ्रष्टाचार, कुरीति समाप्त गर्नुपर्छ, देशमा रोजगारी सृजना गर्नुपर्छ भनेर शान्तिपूर्ण आन्दोलन गर्न आह्वान गरी भेला भएका र पछि युवा जोशको फाइदा उठाउँदै केही उश्रृङ्खल समूहको बहकावमा पारिदा सरकारद्वारा निर्मम हत्या पछिको अर्को दिन नै पुरा सत्ता पटलवार गराउन सफल भएको समूह जेन–जी, जसको फलस्वरुप राज्यसत्तापरिर्वतन भयो । तर, देशले ठूलो नोक्सानी समेत व्यहोर्नुपरेको छ, देशका सार्वजनिक सम्पत्तिहरु र केही व्यक्तिगत सम्पत्तिहरु समेत जलेर ध्वस्त भयो, देशको आकाश कालोधुवाले भरियो । वर्षौदेखि राज गरिरहेका नेताहरु भागाभाग हुने अवस्था आयो र देशमा कुनै कल्पना बिना दुई दिनमा सवै परिवर्तन भयो । चाहे त्यो सकारात्मक या नकारात्मक दुवै कोणबाट हेर्न सकिन्छ । आन्दोलनमा घुसपैठ भयो, यो जेन–जीले गरेको होइन, जे जति कराए पनि जे नहुनुपर्ने भयो, एकथरीले आन्दोलन सफल भयो भन्दैछन् केही थरीले देश बर्बाद भयो, खरानी भयो भन्दैछन् यसमा दुवैको कुरा उचित नै छ ।

    आन्दोलनको आवश्यक र सुरुवात
    के देशमा यो प्रकारको आन्दोलन जरुरी थियो त ? अवश्य पनि थियो । हो देशका केही पुरातात्विक महत्व बोकेका सम्पदाहरु, देशका प्रशासनिक निकायहरु, अड्डा अदालतहरु, विभिन्न राजनैतिक र कुटनैतिक वा धेरै दस्तावेजहरु जलेर खरानी भयो, अत्यन्त दुःखदायी कुरा हो जसको कल्पना सायदै कसैले गरेको थियो । न कसैले गर्नेछ तर, यो सबै हुनुमा दोषी आन्दोलनकारी कि आन्दोलन गर्न बाध्य बनाउने राज्य सत्ता ? २००७, २०१७, २०३६, २०४६, २०६२÷२०६३ यी सबै आन्दोलनहरु के–का लागि थिए ? अझ विशेष गरी २०४६ र २०६२÷२०६३ को आन्दोलन त खास देशको मुहार परिवर्तनका लागि, जनताको जीवनस्तर माथि उकास्न, जनतालाई शिक्षित, स्वरोजगार, उत्पादनमुखी संस्कारका लागि, भ्रष्टाचार निर्मुल गर्ने, सुशासन कायम गर्ने र देशमा अग्रगामी विकास निर्माणका लागि भनी गरिएको होइन ? तर, त्यसो भयो त ? यही नै आन्दोलनको मुख्य आवश्यकता थियो, शिक्षा, स्वास्थ्यको क्षेत्रको बेथिति, कर्मचारीतन्त्रमा मनोमानी, अदालतदेखि सुरक्षा निकायसम्म राजनीतिक भागबण्डा जसले गर्दा युवाहरुको समूहले बेलाबेला सामाजिक सञ्जालहरुमार्फत यस्ता कामका समूहगत विरोध गर्दै आइरहेका थिए, अन्य देशमा पनि यस खालको विरोधहरु भएका थिए र आन्दोलन पनि भएका थिए । तर, त्यसको नजरअन्दाज गर्दै सरकारले विभिन्न बहानामा सामाजिक सञ्जालहरुलाई पनि रोक लगाउने निर्णय गरेपछि यसको आवश्यकता अझ बढी देखियो । जेनजीलाई अन्य समूहले पनि दरिलो साथ दियो कारण थियो सामाजिक सञ्जाल बन्द त्यसकौ स्वरुपमा यो आन्दोलन भयो ।

    आगामी दिनका राज्यका बाटाहरु
    आर्थिक रुपमा देशको अवस्था त्यति राम्रो देखिदैन, उत्पादनमुखी अर्थतन्त्र छैन, आयातलाई नै हामीले महत्व दिएको जस्तो देखिन्छ । अहिलेको हाम्रो सरकारहरु, विशिष्ट व्यक्तिको सुरक्षा, तलबभत्ता र शासकीय स्वरुप आदि देशको लागि आवश्यक हो कि होइन त ? के यो सबै धान्न सक्ने हाम्रो अर्थतन्त्र छ त ? भनेर सोच्ने बेला आएको छ अब । स्थानीय तहका वडाध्यक्ष बाहेकका सदस्यहरु, नगर कार्यपालिकाका सदस्यहरु, प्रदेश सरकार, अनावश्यक मन्त्रालयहरु, अनावश्यक संसद संख्या, सेवा अवधिबाहेक मन्त्री, प्रधानमन्त्री, संसद तथा अन्य विशिष्टहरुको सेवासुविधा यी सबै कुराहरु नेपालको आर्थिक वृद्धिदर, उत्पादन, राजस्व संकलन आदिका आधारमा आवश्यक छ जस्तो लाग्दैन, हामी अब उत्पादनमुखी प्रविधिमैत्री अर्थतन्त्र, कृर्षिमा आधुनिकीकरण, प्रयोगमुखी र अनुसन्धानमुखी शिक्षा प्रणाली, समान सहभागीतामूलक विकास कार्यक्रम, जलस्रोतको उच्चतम प्रयोग, पर्यटनमैत्री यातायात तथा बजार व्यवस्थापन, पर्यटन क्षेत्रको पहिचान र त्यसको लागि आवश्यक आधारभूत व्यवस्था जस्ता कुराहरुमा अबको सरकार वा नेपाली जनता अग्रसर हुनुपर्ने देखिएको छ । अब विकासका लागि वैचारिक र प्रविधिमैत्री आन्दोलनमार्फत देश र जनतालाई एक अग्रणी मुलुकको पहिचान गराउन सबै लाग्नुपर्ने देखिन्छ ।