बिहिवार , बैशाख २४, २०८३
तिलोत्तमा, २४ वैशाख । तिलोत्तमा व्यापार संघ र घरेलु तथा साना उद्योग कार्यालय, सिद्धार्थनगरको संयुक्त आयोजनामा बिहीबार उत्पादित वस्तुको गुणस्तर, लेबलिङ तथा प्याकेजिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संघमा आबद्ध करिब ५० जना व्यवसायीको सहभागीता थियो ।
कार्यक्रमको उद्घाटन नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा तिलोत्तमा व्यापार संघका संस्थापक अध्यक्ष झबिन्द्र प्रसाद कंडेलले गर्नुभएको थियो । त्यस अवसरमा उहाँले घरेलु तथा साना उद्योग स्थापना गर्नुको उद्देश्य स्थानीय उत्पादन प्रवद्र्धन र आत्मनिर्भर अर्थतन्त्र निर्माण रहेको उल्लेख गर्नुभयो ।
तिलोत्तमा व्यापार संघका अध्यक्ष नेत्र प्रसाद न्यौपानेले व्यवसायीले उत्पादनको गुणस्तर, प्याकेजिङ र लेबलिङमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले एमआरपी सम्बन्धी समस्याका कारण भन्सारमा रोकिएका मालवाहक ट्रकहरूको प्रक्रिया सहजीकरण गरी यथाशीघ्र भन्सार गरिदिन सम्बन्धित निकायसँग आग्रह गर्नुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै घरेलु तथा साना उद्योग कार्यालय प्रमुख शारदा भट्टराईले उत्पादनको गुणस्तर, मापदण्ड र कानूनी प्रक्रियाबारे जानकारी दिनुभयो । उहाँले साना तथा घरेलु उद्योगलाई बजार प्रतिष्पर्धामा टिकाउन गुणस्तर सुधार अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
वाणिज्य कार्यालय भैरहवाका कार्यालय प्रमुख धर्मा अर्याल बेल्बासेले पछिल्लो समय देखिएको एमआरपी सम्बन्धी समस्याबारे जानकारी गराउँदै व्यवसायीलाई प्रचलित कानूनअनुसार मूल्य विवरण राख्न सुझाव दिनुभयो । उहाँले साना उद्यमीलाई संरक्षण र प्रोत्साहन गर्न राज्यले व्यवहारिक नीति अवलम्बन गर्नुपर्ने धारणा राख्नुभयो ।
घरेलु तथा साना उद्योग कार्यालय, सिद्धार्थनगरका अधिकृत अनन्त पन्थीले उपभोक्ताको विश्वास कायम गर्न गुणस्तरीय उत्पादन र स्पष्ट लेबलिङ अनिवार्य भएको बताउनुभयो ।
गुणस्तर तथा नापतौल कार्यालय बुटवलका सहायक निरीक्षक रमेशराज पाण्डेले नापतौल सम्बन्धी नियम कानुनको पूर्ण पालना गरेर व्यापार सञ्चालन गर्न आग्रह गर्नुभयो । त्यस्तै खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख अनुप हलवाईले म्याद गुज्रेका तथा अखाद्य वस्तु विक्री वितरण नगर्न व्यवसायीलाई सचेत गराउनुभयो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत लक्ष्मीप्रसाद दाहालले पनि धारणा राख्नुभएको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
