२०८२, भाद्र ३० गते

Sep 15 2025 | २०८२, भाद्र ३० गते

धुलो टकटकाउँदै फेरि उठ्नेछौं

सोमवार , भाद्र ३०, २०८२

  • 403
    Shares
  • 403
    Shares
  • अहिले म खरानीको थुप्रोमा उभिएको छु । त्यो, पनि आफ्नै पसिना र मिहिनेतले उभ्याएको घरको । मन भतभती पोलिरहेको छ । आँखा ओभाएका छैनन् । भदौ २३ र २४ गतेपछि राम्रोसँग निद्रा पनि परेको छैन् । अरुका अगाडी हाँस्न खोज्छु, सबै ठीक छ भनेर बताउन कोशिस गर्छु तर, मनलाई भने सम्हाल्न सक्दिन । यो मेरो घरले कसको के नै बिगारेको थियो र ? हामीले के नै गरेका थियौं र रिस साध्नुपर्ने ? यस्तै प्रश्नहरु मनमा खेल्छन् । घर जलेका तस्वीर देखेँ । भिडियो हेरेँ । आफैले कखरा चिनाएका विद्यार्थी देख्छु, चिनेकै अनुहार भेट्छु । अनि ती कुराले झनैं पिरोल्छ । हामीले कस्तो समाज बनाउन खोज्यौं, अहिले कस्तो हुनपुग्यो ?

    adadadsfa.jpg

    सामान्य परिवार हो हाम्रो । २०४८ सालमा यहाँ जग्गा किन्यौं । एउटा पुरानो घर थियो । त्यसलाई बेचेँ र खाइ–नखाई २८ वर्ष जागिर गरेर खाजा–नास्ताको पैसा बचाएर बनाएको घर हो । बैंकको ऋण र सहकारीबाट पनि कर्जा लिएर बास बनायौं । आज यो घर यस्तो भएको छ । हाम्रो रगत–पसिनाले बनाएको बास थियो ।

    मेरो श्रीमान् चेतनारायण आचार्य राजनीतिक काममा पूर्णकालीन रूपमा लाग्नुहुन्थ्यो । जहिले पनि पार्टीले अफ्ठ्यारो ठाउँमा उहाँलाई खटाउँथ्यो । त्यतिबेला प्रदीप ज्ञवाली हुनुहुन्थ्यो, उहाँले कठिन ठाउँमा काम गर्नेमा विश्वास राख्नुहुन्थ्यो । मेरो विवाह २०४७ सालमा भयो । विवाहपछि पनि उहाँ पार्टीको काममा खटिनुहुन्थ्यो । समाज परिवर्तनका लागि हामीले अहोरात्र खट्यौं । म पनि संगठित भएँ र २०४७ सालदेखि सक्रिय रहेँ ।

    मेरो श्रीमान् क्यान्सरबाट पीडित हुनुभयो । मृत्युको मुखमा पुगेका उहाँ उपचारपछि निको हुनुभयो । जीवनका भोगाइहरू ताजा छन् । हामीले सधैं समाजका लागि असल काम गरेका छौं । २१ वर्षदेखि राजनीति गरेर समाज सुधारमा ध्यान दिनुभयो । अहिले मुख्यमन्त्री भएपछि पनि धेरै सामाजिक काम गर्नुभएको छ । यस सरकारमा हुँदा पूर्व भिआइपी सुविधा कटौती गर्ने काम उहाँले नै थाल्नुभयो । साथै, होटलमा कार्यक्रम नगर्ने र सार्वजनिक स्थल वा कार्यालयको हलमा कार्यक्रम गर्ने नियम लागू गर्नुभएको थियो ।

    उहाँले समाज सुधारका लागि धेरै काम गर्नुभएको छ । यो जिल्ला र प्रदेशका लागि दिलोज्यानले काम गर्नुभएको छ । मुख्यमन्त्री भएदेखि हामीले कतै होटलमा एक छाक पनि खाएका छैनौं र नयाँ लुगा पनि फेरेका छैनौं । अहिले पनि मैले आफैले तरकारी उत्पादन गर्ने काम गर्दै आइरहेकी छु । कसैलाई लगाएको छैन । दाङमा बाँझो परेको जमिन जोतेर आफैं तरकारी उत्पादन गरी मिहिनेत गरेर बनाएको हो । हामीले कहीकतै एक रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित गर्नुस, हामी फाँसी चढ्न तयार छौं । यो प्रमाणित गर्न नसके आगो लगाउनेहरु तयार हुने की नहुने ?

    मैले प्रण गरेका छु– मुख्यमन्त्री पद रहुन्जेल नयाँ साडी किन्दिन । साथीहरूले भनेका थिए,‘कार्यक्रममा सधैं एउटै कपडा भयो, फेर्नु भनेर’तर, हामीले नयाँ कपडा किन्दैनौं भन्यौं । मेरो हातबाट हजारभन्दा बढी मूल्यको साडी अहिलेसम्म लगाएको छैन । हामीले त्याग गर्ने मान्यता राखेका छौं र छोराछोरीलाई पनि त्यही संस्कार सिकाएका छौं । अहिले यो समाज कता जाँदैछ भन्नेमा मलाई दुःख लागेको छ । हामीले कस्तो बच्चा उत्पादन गरिरहेका छौं भन्ने कुरा समाजको लागि ठूलो चिन्ताको विषय हो ।

    अहिले उक्साउने र विभिन्न स्ट्याटसहरू देखिरहेका छौं । उफार्नलाई मजा आउँछ, तर, पछि त्यसलाई नियन्त्रण गर्न गाह्रो हुन्छ । हाम्रो समाज आफैं लागेन भने समृद्ध समाज सम्भव छैन । रगत–पसिनाले बनाएका यी भवनहरू पुनर्निर्माण गर्नुपर्नेछ । यो घर आज नयाँ बनेको होइन । तर, आज यो घर ध्वस्त पारिएको र खरानी बनाइएको छ । यो खरानी बनाउने र उक्साउने महानुभावहरूको गति भविष्यमा हाम्रो जस्तो नहोस् ।

    आज म सडकमा छु । अरूको आश्रयमा बस्नुपरेको छ । त्यो स्थिति उहाँहरूलाई नआओस् । आफ्नो बच्चालाई गलत काममा लगायौं भने त्यो बच्चा पछि आफैंका लागि अभिशाप बन्न सक्छ । देशभरी यस्तो दुर्घटना भयो । जेनजीको नाममा घुसपैठ र षडयन्त्रकारी काम भएको छ । घुसपैठको सिकार हामी बन्न पुगेका छौं । म दावीका साथ भन्छु–जेनजीको नाममा गरिएको कलंक हो ।

    हामी धुलो टकटकाउँदै फेरि उठ्नेछौं । यी संरचना जसरी बनाएका थियौं, त्यसै गरी पुनर्निर्माण गर्नुपर्छ । हाम्रो घर जलेको मात्र हो, ढलेको होइन । हामी फेरि उठ्नेछौं । यो आन्दोलनमा शहीद हुनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु । अनि घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको पनि कामना गर्दछु ।