२०८२, भाद्र २७ गते

Sep 12 2025 | २०८२, भाद्र २७ गते

घरमा आगजनी भएपछि लिला गिरीले भने–इमानको प्रतिफल यहीँ हो त ?

शुक्रवार , भाद्र २७, २०८२

  • 562
    Shares
  • 562
    Shares
  • तिलोत्तमा, २७ भदौ । जेन जी समूहको आन्दोलन विध्वंशमा परिणत भइ देशभरी सार्वजनिक र निजी सम्पत्तिमाथि तोडफोड र आगजनी भयो । सोही क्रममा भदौ २५ गते रुपन्देहीको तिलोत्तमास्थित नेकपा (एमाले) का नेता लिला गिरीको घरमा पनि तोडफोड र आगजनी भयो ।

    लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री गिरीको तिलोत्तमा–१ शंकरनगरस्थित साधारण निवासमा जेनजी समूहका नाममा आक्रमण, तोडफोड र आगजनी भयो । हुलहुज्जत गर्दै समूहले तोडफोड र आगजनी गर्ने बेला गिरीको परिवार पछाडिको ढोकाबाट बाहिर निस्कन भ्याएकाले मानवीय क्षति भने हुन पाएन । तोडफोडमा उत्रिएको समूहले ‘...भरखर यहीँ थियो, सबै यहीँ थिए, पुलिस पनि थिए खोज खोज जलाइदिनुपर्छ...’ भन्दै घरमा अन्धाधुन्द तोडफोड र आगजनी गरेका थिए ।

    घटनाले आफुलाई गहिरो चोट दिएको नेता गिरीको प्रतिक्रिया छ । सामाजिक न्याय, समावेशीता र शान्तिपूर्ण राजनीतिक रूपान्तरणका पक्षधरको रपमा चिनिने गिरीको सादा जीवनशैली, इमानदारिता र जनप्रतिबद्धतालाई नकार्दै उहाँकै सानो, सामान्य निवासमाथि लक्षित ढंगमा गरिएको आक्रमणले आम नागरिक, शुभेच्छुक र राजनीतिक वृत्तमा समेत गहिरो पीडाबोध उत्पन्न गराएको छ । 

    गिरीसहित तिलोत्तमाका अगुवाहरु संघीय सांसद बासुदेव घिमिरे, पर्यटन व्यवसायी समेत रहेका गोपाल रानाका दुई ठूला प्रतिष्ठान, तिलोत्तमा–१, का वडाअध्यक्ष फर्सुराम गिरीलगायतको निवास र प्रतिष्ठानमा समेत तोडफोड र आगजनी भएको छ । 

    WhatsApp Image 2025-09-12 at 11.03.45 AM.jpeg

    आगजनीले नेता गिरीको घर, गोठ र त्यहाँ रहेका सरसामान जलेर नष्ट भएका छन् । आगजनीमा परेर दनदनी दन्किरहेको घरगोठमा आन्दोलनकारी निस्किएपछि छरछिमेकी र स्थानीयहरु उद्धार गर्न पुगेका थिए । त्यसबेलासम्म घरगोठ र त्यहाँका सामान सबै जलेर नष्ट भइसकेका थिए ।

    WhatsApp Image 2025-09-12 at 11.03.45 AM (1).jpeg

    शंकरनगरका पहिलो जननिर्वाचित गाविस अध्यक्ष बनेका बेलामा हालको तिलोत्तमा नगरको जग बसाउनुभएका, आधार तयार पार्नुभएका तिनै नेता गिरी भारी मतका साथ दुईपटक प्रदेश सभामा निर्वाचित भएर लुम्बिनी प्रदेशको पहिलो सरकारमा मन्त्री बनेका बेला त्यसबेलाको समृद्धिको संकल्प साकार पार्ने गरी बजेट विनियोजन र योजना तर्जुमा गर्नुभएको स्थानीय बताउँछन् । लुम्बिनी प्रदेशमा मात्रै नभइ मुलुकमै शालिन, इमानदार, सहनशील र योग्य नेताका रुपमा लिइन्छ उहाँलाई ।

    गुल्मीको रुरुक्षेत्रबाट २०२२ सालमा रुपन्देहीमा आउनुभएका र त्यसअघि केही वर्ष भारतमा मजदूरी गर्दै पढ्दै गर्नुभएको थियो नेता गिरी । भारतको सडकमा मजदुरी गरेर बनाएको त्यो घरमा गाई बाँधिएको गोठ, खेतको अन्न र अभावमा हुर्किएका सन्तान थिए–महल थिएन’, गिरीले भावुक हुँदै प्रतिक्रिया सार्वजनिक गर्नुभएको छ । उहाँले आफ्नो संघर्षपूर्ण जीवनयात्राको स्मरण गर्दै देश र जनताका लागि विनास्वार्थ, निष्ठापूर्वक काम गरेको कुरालाई दोहोर्याउनुभयो । नेता गिरीले मुख्यमन्त्रीका रूपमा कार्यरत रहँदा बजेटमा अनावश्यक खर्च कटौती गर्दै जनताको करको पैसा जोगाउने जस्तो निर्णय गर्नुभएको थियो, जुन नैतिकताको जगमा उभिएको राजनीति गर्न खोज्नेहरूप्रति एउटा प्रेरणादायी उदाहरण थियो । त्यसबेलाको उहाँको सचिवालय पनि पारदर्शी र मितव्ययी थियो । तर, यही इमानदारितामाथि प्रश्न उठाउने शैलीमा गरिएको आपराधिक आक्रमणले नेपालको राजनीतिक संस्कार र आन्दोलन संस्कृतिप्रति गम्भीर प्रश्न उठाएको छ ।

    जेनजी आन्दोलनप्रति सहानुभूति, तर विध्वंशप्रति विरोध

    गिरीले हालको जेनजी पुस्ताको भावना, आशा र संघर्षप्रति सहानुभूति प्रकट गर्दै भन्नुभएको छ–‘युवा आवाज जायज छ, म तिनको प्रतिनिधित्व गर्न तयार छु, तर आवाजलाई ध्वंश र आगो होइन शान्तिपूर्ण आन्दोलन बनाऔं ।’

    उहाँले कुनै पनि शक्ति वा गुटले युवाहरुलाई भड्काएर उनीहरूको नैतिक संघर्षलाई दुरुपयोग गरिरहेको भए त्यो समाज, लोकतन्त्र र देशकै लागि धोका हुने उल्लेख गर्नुभएको छ । उहाँले आफ्नो अपीलमा समस्त युवालाई धैर्य, संवाद र तथ्यमा आधारित असहमतिको बाटो लिन र कुनै पनि प्रकारको हिंसा र ध्वंशको सहारा नलिन आग्रह गर्नुभएको छ । ‘म विचलित छैन, यो आगोले मेरो आत्मा जलाएको होइन, अझ प्रज्वलित बनाएको छ ।’ गिरीले सार्वजनिक गर्नुभएको अपीलमा उल्लेख छ ।