२०८२, भाद्र २० गते

Sep 05 2025 | २०८२, भाद्र २० गते

छेपारो परेको खाजा खाएपछि ७० भन्दा बढी बालबालिका अस्पताल भर्ना

शुक्रवार , भाद्र २०, २०८२

  • 106
    Shares
  • 106
    Shares
  • महोत्तरी, २० भाद्र । महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीस्थित आदर्श माध्यमिक विद्यालयमा छेपारो परेको खाजा खाएपछि ७० भन्दा बढी बालबालिकालाई अस्पताल पुर्याइएको छ ।

    खाजामा छेपारो परेको थाहा पाएपछि खाजा खाएका बालबालिकालाई अस्पताल पुर्याइएको हो । आदर्श माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश महतोकाअनुसार बिहीवार दिउँसो एक विद्यार्थीको प्लेटमा दिइएको खाजामा छेपारो देखिएपछि बालकले खाजा फालेर घर फर्केर अभिभावकलाई जानकारी गराएका थिए ।

    त्यसपछि अन्य बालबालिकाले पनि वाकवाकी लागेको बताएका थिए । अभिभावक र विद्यालयले खाजा खाएका सबै बालबालिकालाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पुर्याइएका हुन् । प्रादेशिक अस्पताल जनकपुरधामकाअनुसार कुनै गम्भीर स्वास्थ्य समस्या देखिएको छैन तर शतर्कताका लागि सबैलाई अस्पतालमा राखिएको हो ।

    प्रादेशिक अस्पताल जनकपुरधामका आकस्मिक कक्षका उज्वल झाकाअनुसार बालबालिकामा कुनै स्वास्थ्य समस्या देखिएको छैन । बालबालिकाहरु डराएकाले निगरानीका लागि अस्पतालमा राखिएको झाले बताउनु भयो । 

    यता पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले विद्यालयको दिवा खाजामा छेपारो कसरी पुग्यो यस विषयमा छानविन गरेर दोषीलाई कारबाहीसम्म गर्ने चेतावनी दिनुभयो । 

    उपचारका लागि पुगेका सबै बालबालिकाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । कतिपय बालबालिका उपचारपछि घर समेत फर्किसकेका छन् भने केही बालबालिकालाई अझै अस्पतालमा राखिएको छ ।