
बिहिवार , भाद्र १९, २०८२
भैरहवा, १९ भदौ । निजी विद्यालय सञ्चालकहरुले राष्ट्रिय बिदाबाहेक स्थानीय बिदामा विद्यालयहरुलाई बिदा अनिवार्य नगर्न माग राखेका छन् । उनीहरुले भोलिका कर्णधार बालबालिकाको पठनपाठनका बारेमा सिद्धार्थनगर नगरपालिका गम्भिर बन्नुपर्ने माग राखेका हुन् ।
बुधबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँलाई प्याब्सन सिद्धार्थनगर, मन्टेश्वरी एशोसियन सिद्धार्थनगर र एन प्याब्सन सिद्धार्थनगरले संयुक्त रुपमा ध्यानाकर्षण–पत्र बुझाउँदै यस्तो माग राखेका हुन् ।
निजी विद्यालयहरु कम्पनी दर्ता भइ सञ्चालन हुने हुँदा कम्पनीको नियमानुसार सञ्चालन गर्ने वातावरण प्रदान गरिनुपर्ने, स्थानीय सरकार बिदा तथा शैक्षिक गतिविधि सम्बन्धी निर्णय गर्दा शिक्षा समितिमा मनोनयन गरिएका प्याब्सन, एन प्याब्सनका प्रतिनिधिलाई अनिवार्य सहभागी गराइनुपर्ने, अनिवार्य बिदा दिनुपर्ने अवस्थामा बिदाको निर्णय कम्तीमा एक दिन अगाडि गरिनुपर्ने र कार्यालय समयपछि बिदा निर्णय गरिन नहुने निजी विद्यालय सञ्चालकको माग छ ।
त्यस्तै स्थानीय सरकारले दिने पर्व तथा धार्मिक, सामाजिक बिदामा विद्यालय सञ्चालन गर्न दिइ सम्बन्धित समुदायको पर्वको महत्वका बारेमा चर्चा गर्ने अवसर प्रदान गरिनुपर्ने उनीहरुको माग छ ।
देशको शैक्षिक गुणस्तर वृद्धि गर्न तथा शिक्षाको क्षेत्रबाट समाजसेवा गर्ने उद्देश्यले आफ्नो जायजेथा बैंकमा धितो राखेर विद्यालय सञ्चालन गरेका निजी विद्यालय सञ्चालकहरुलाई पटकपटक हुने बिदाले प्रत्यक्ष आघात पुर्याएको प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकले बताउनुभयो ।
‘हामी निजी विद्यालय सञ्चालकहरु अभिभावसँग शुल्क लिएर मात्र विद्यालय चलाइरहेका छौं, हामीलाई कहीँकतैबाट कुनै किसिमको अनुदान, सहयोग एवं सुविधा आउँदैन भन्ने कुरा पनि स्थानीय सरकारले बुझिदिन जरुरी छ, ’उहाँले भन्नुभयो । यस्ता आकस्मिक बिदाले भविष्यका कर्णधार विद्यार्थीहरुलाई समेत नकारात्मक असर पुर्याउने अध्यक्ष मल्लिकले बताउनुभयो ।
विद्यार्थीको पेशा भनेकै अध्ययन भएकाले उनीहरुलाई निरन्तरत पठनपाठनसँग जोड्न जरुरी रहेको एन प्याब्सन सिद्धार्थनगरका अध्यक्ष अमित कुमार यादवले बताउनुभयो । ‘अहिलेको बालबालिकालाई धेरैभन्दा धेरै पठनपाठनको वातावरण सिर्जना गर्नु तपाई हामी सबैको कर्तव्य हो, ’मन्टेश्वरी एशोसिएशन सिद्धार्थनगरको अध्यक्ष अनामिका बस्यालले भन्नुभयो ।
ध्यानाकर्षण–पत्र बुझेपछि नगरप्रमुख खाँले अब बिदा दिदा निजी विद्यालय सञ्चालकहरुसँग पनि समन्वय गरिने बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij