
बुधवार , भाद्र १८, २०८२
भैरहवा, १८ भदौ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालाको निरीक्षण गर्नुभएको छ । बुधबार उपाध्यक्ष आचार्यसहितको टोलीले मैदानको निरीक्षण गर्दै बहुवर्षीय ठेक्का लगाई निर्माणसम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
निरीक्षणपछि पत्रकारहरुसँग कुराकानी गर्दै उपाध्यक्ष आचार्यले रंगशाला निर्माणको काम पूरा गर्न राखेपले सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
‘हामी सबैले हातेमालो गरेर यो रंगशाला निर्माण सक्नुपर्छ’, उहाँले भन्नुभयो, ‘बहुवर्षीय ठेक्का लगाउन सकियो भने चाँडै निर्माण सम्पन्न गर्न सकिन्छ ।’ उनले स्रोतको सुनिश्चितता गर्न विभागीय मन्त्रालय र अर्थ मन्त्रालयसँग छलफल गर्ने बताउनुभयो । गत हप्ता उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले समेत रंगशालाको निरीक्षण गर्दै बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभएको थियो ।
उपाध्यक्ष आचार्यले संघले रंगशाला निर्माण सक्न निरन्तर पहल गरिरहेको जनाउँदै आफूले पनि अर्थमन्त्रीसँग कुराकानी गरेर बहुवर्षीय ठेक्कामा लैजान पहल गर्ने बताउनुभयो । राखेपले आवश्यक खेल पूर्वाधार र खेल सामाग्री उपलब्ध गराउन कटिबद्ध रहेको उहाँले बताउनुभयो । रंगशाला स्तरोन्नतिका क्रममा केही जमिन अधिग्रहण गर्नुपर्ने रहेको बताउँदै यसका लागि पहल गर्ने उहाँको प्रतिबद्धता छ । आचार्यले वर्खायाममा पनि रंगशाला संरक्षण गरी जुनसुकै बेला क्रिकेट प्रतियोगिता आयोजना गर्न सकिने गरी तयारी अवस्थामा राखिएको भन्दै रुपन्देही क्रिकेट संघको प्रशंसा गर्नुभयो ।
आचार्यले क्रिकेट मैदान, भीआईपी प्याराफिट र चेन्जिङ रुम लगायको निरीक्षण गर्नुभएको थियो ।
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले नेपाली खेलकुद क्षेत्रको सर्वोच्च निकाय राखेप भएकाले सकारात्मक पहल गरे चाँडै नै रंगशाला निर्माणको कामले पूर्णता पाउने बताउनुभयो । उहाँले जग्गा अधिग्रहण, बहुवर्षीय ठेक्का, अन्य पूर्वाधार निर्माणमा सहयोग गर्न आग्रह गर्नुभयो । सबैको पहल र सहयोगले रंगशाला बाह्रै महिना क्रिकेट खेल्न सकिने गरी तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।
नेपाल क्रिकेट संघका निवर्तमान कार्यबाहक सचिव तथा रुपन्देही क्रिकेट संघका पूर्वअध्यक्ष प्रशान्त विक्रम मल्लले डीपीआर अनुसार करिब १५ हजार हाराहारी दर्शक अट्ने रंगशाला बन्ने बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा ३ करोड रुपैयाँ विनियोजन भएको जनाउँदै उक्त रकमबाट प्याराफिट बनाइने बताउनुभयो ।
त्यस्तै लुम्बिनी प्रदेश सरकारबाट विनियोजित १० लाख रुपैयाँले खेलाडीहरुको चेन्जिङ रुमलाई व्यवस्थित गरिने जनाउनुभयो । राखेपले सकारात्मक सहयोग गर्दा बहुवर्षीया टेण्डर प्रक्रिया अघि बढ्न सक्ने उहाँको भनाइ छ । यस्तै, रंगशालालाई डीपीआर अनुसार सम्पन्न गर्न आवश्यक सहयोग र पहलकदमी निरन्तर गर्न राखेपलाई उहाँको सुझाव छ ।
मल्लले नेपालको भौगोलिक र पूर्वाधारका हिसाबले काठमाडौंपछि सिद्धार्थ क्रिकेट मैदानको भविष्य सबैभन्दा राम्रो भएको बताउनुभयो । लुम्बिनी, गौतमबुद्ध विमानस्थल, स्तरीय होटल र मुलुककै दोस्रो ठूलो भन्सार नाकाले गर्दा पनि भैरहवामा ठूला र अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न सकिने उहाँको भनाइ छ । यसका लागि सबैभन्दा पहिला रंगशाला निर्माणको काम सक्नु पर्ने उहाँले आग्रह गर्नुभयो ।
निरीक्षणका क्रममा संघका उपाध्यक्ष धिरज क्षेत्री, सदस्यहरु उदय कुमार मल्लिक, विजय सिंह ज्ञवाली, मनोज भण्डारी लगायत सहभागी हुनुहुन्थ्यो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij